NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कांग्रेस कार्यालय सुनसान, घरबाटै पार्टी चलाउँछन् नेता

काठमाडौं । १४ सदस्यीय पदाधिकारी, एक सय ५७ केन्द्रीय सदस्य, साढे आठ लाख क्रियाशील सदस्य, १८ लाख साधारण सदस्य र गत मंसिरको संघीय निर्वाचनमा समानुपातिकतर्फ २७ लाख मत ल्याएको दल कांग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति हो । यस हिसाबले कांग्रेस केन्द्रीय कार्यालयमा शीर्ष नेता र कार्यकर्ताको आवतजावत बाक्लो हुनुपर्ने हो । तर, सानेपास्थित मुख्यालय बैठक र औपचारिक कार्यक्रमबाहेक अरू दिन सुनसानजस्तै हुन्छ, पदाधिकारी पनि विरलै भेटिने गर्छन् ।

बुधबारदेखि कांग्रेस मुख्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १९ चैतमा कार्यसम्पादन समिति बैठकपछि पदाधिकारीसहितका केन्द्रीय सदस्यहरू कार्यालयमा जम्मा हुँदै छन् । को–को पदाधिकारी, कहिले–कहिले आए भन्ने सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा समेत छैन ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार १४औँ महाधिवेशनपछि ६ पटक केन्द्रीय कार्यसमिति बैठक बसेको छ । जुन १४ दिन बसेको थियो । यसबाहेक २१ पटक कार्यसम्पादन समिति बैठक बसेको छ । यी सबै बैठक सानेपामा नै बसेका हुन् ।

यी बैठकमा पदाधिकारी उपस्थित भए पनि अरू वेला कार्यालयमा भेट्न सहज छैन । सभापति शेरबहादुर देउवादेखि वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालासम्म केन्द्रीय कार्यालय जान जाँगर गर्दैनन् । नेताहरू कार्यालयमा नभेटिने भएपछि कामका लागि नेता–कार्यकर्ता घरघरमै धाउन बाध्य छन् । केन्द्रीय कार्यालय सुनसान र नेतानिवासमा भिड देखिने कांग्रेसभित्र परम्पराजस्तै भएको छ ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुली पार्टी बैठकबाहेक पनि पदाधिकारी कार्यालयमा आउजाउ गर्ने गरेको दाबी गर्छन् । पार्टी कामकै सिलसिलामा नेताहरू जिल्ला–जिल्ला जाने भएकाले सधैँ कार्यालयमा भेटिन सम्भव नहुने उनको तर्क छ । ‘पार्टी बैठकबाहेक सम्भव भएसम्म सभापतिसहित पदाधिकारी कार्यालय आउने गर्नुहुन्छ,’ उनको दाबी छ, ‘तर, को कतिपटक आउजाउ गर्नुभयो भन्ने विवरण नै त छैन ।’

औपचारिक विवरण नभए पनि बैठकबाहेक नेताहरू केन्द्रीय कार्यालय गएका कमै उदाहरण छन् । सभापति देउवालाई बैठकबाहेकका वेला कार्यालयमा भेट्न दुर्लभ जस्तै छ । १४औँ महाधिवेशनअघि पार्टीका बैठक या त सभापति देउवानिवास बुढानीलकण्ठमा भए, या त प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसे । त्यसवेला बैठकका एजेन्डाबारे छलफलका लागि पदाधिकारी बालुवाटार धाउनुपर्थ्यो ।

२९ असार ०७८ मा प्रधानमन्त्री नियुक्त भएपछि सभापति देउवा झन्डै पाँच महिनापछि २१ मंसिर ०७८ मा मात्रै पार्टी कार्यालय सानेपा पुगेका थिए । जतिवेला कांग्रेस महाधिवेशनको चटारो थियो । त्यसवेला उनी महाधिवेशन तयारीका लागि गठन भएका समितिका कामबारे जानकारी लिन कार्यालय पुगेका थिए ।

०७८ पुसमा १४औँ महाधिवेशनबाट पुनः सभापति निर्वाचित भएपछि पनि देउवाको शैलीमा कुनै फेरबदल भएन । १० पुस ०७९ मा कांग्रेस सरकारबाट बाहिरिएपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरे । यसपछि पनि नेता÷कार्यकर्ताले उनलाई भेट्न घरमै धाउनुपर्ने अवस्था छ । आवश्यक परेमा देउवाले पदाधिकारी र नेतालाई निवासमै बोलाएर छलफल गर्छन् । आक्कल झुक्कल सानेपा पुगे पनि छोटो समय बसेर फर्कने गरेका छन् ।

देउवा प्रधानमन्त्री रहेको समयमा बालुवाटारमा नै पार्टी बैठक बस्ने गरेका थिए । यसको विशेष गरी इतर समूह र महामन्त्री गगन थापाले पार्टीको बैठक प्रधानमन्त्रीनिवासमा र बालुवाटारको खर्चमा पार्टी बैठक गर्न नहुने भन्दै आलोचना गर्दै आएका थिए । तर, पार्टीका महत्वपूर्ण छलफलका लागि सभापतिले निवासमै पदाधिकारी बैठक राख्दा महानमन्त्रीलगायत सहमहामन्त्रीहरू धुम्बाराही पुग्ने गरेका छन् । यसरी बसेका पदाधिकारी बैठक कांग्रेसको रेकर्डमा भने छैन । कांग्रेस विधानले पदाधिकारी बैठकलाई चिन्दैन । जसकारण छलफल र परामर्श भए पनि निर्णय सभापति देउवाले या कार्यसम्पादन र कार्यसमिति बैठकबाट हुँदै आएको छ ।

पार्टी निर्णयको कार्यान्वयन र कार्यालय सञ्चालनको जिम्मेवारीमा रहेका महामन्त्रीद्वय पनि कमै समय कार्यालयमा भेटिनेमा पर्छन् । पछिल्लो समय भने महामन्त्री गगन थापा सदस्यता वितरण डिजिटल बनाउने कामका लागि सानेपामा नै बसेर काम गरिरहेका छन् । क्रियाशील सदस्यताको काम सँगसँगै अन्य कामका लागि अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि पछिल्लो समय कार्यालयमा नै भेटिनेमा पर्छन् । महामन्त्रीहरूलाई कार्यालय व्यवस्थापन र पार्टी निर्णय कार्यान्वयनको जिम्मेवारी रहने गर्दछ । तर, उनीहरू पनि पर्याप्त समय कार्यालयमा नभेटिने गरेको नेता कार्यकर्ताले गुनासो गर्ने गरेका छन् ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का रक्षामन्त्रीको जिम्मेवारी र धनराज गुरुङ कानुनमन्त्रीका रूपमा सरकारमा रहेकाले पनि कार्यालयमा भेटिनेमा पर्दैनन् । मन्त्री बनेपछि छोटो समय मात्रै सानेपा पुगेर फर्केका छन् । यसबाहेकका आठ सहमहामन्त्री पनि कार्यालयमा भेटिँदैनन् । सहमहामन्त्रीको कार्यविभाजन नहुँदा पनि समस्या परेको उनीहरूको गुनासो छ । सहमहामन्त्रीमा सबैभन्दा बढी भीष्मराज आङदेम्बे कार्यालयमा भेटिनेमा पर्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।