NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

दरबन्दी र कार्यक्षेत्र माग गरेका स्वास्थ्यकर्मीलाई मन्त्रीले भने– आत्महत्या गर्ने भए मै डोरी दिउँला

काठमाडौं । स्वास्थ्यकर्मीहरूले केही समयदेखि दरबन्दी र कार्यक्षेत्रको प्रबन्ध हुनुपर्ने माग सरकारसमक्ष राख्दै आइरहेका छन् । आफ्नो मागबारे अवगत गराउन स्वास्थ्यकर्मीहरूले भेटघाट तीव्र पारेका छन् ।

यसै सिलसिलामा उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री र ती मन्त्रालयका सचिवलाई भेटेर आफ्नो भनाइ र माग राखेका छन् । यस्तो माग लिएर आउनेमध्ये कतिपयले आत्महत्या गर्नेसम्मको चेतावनी दिएको बताइन्छ । तर स्वास्थ्यकर्मीका मागबारे जिम्मेवारपूर्वक प्रस्तुत हुनुपर्ने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत उग्र रूपमा प्रस्तुत हुने गरेका छन् । यस्ता स्वास्थ्यकर्मीबारे उनले  सार्वजनिक रूपमै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । आत्महत्याको चेतावनी दिएका स्वास्थ्यकर्मीलाई उनले त्यसका लागि आफूले डोरी दिने उल्लेख गर्दै आफ्नै मन्त्रालयको गेटमा आएर झुण्डिन भनेका छन् । सञ्चारकर्मीका बुम र क्यामेराअघि उभ्भिएर उनले यस्तो आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

‘हामीले केही कर्मचारी सरुवा गर्यौं । त्यसपछि पुरानै ठाउँमा फर्किंन विभिन्न शक्तिकेन्द्र लगाएर आउने त छँदैछँदै छन्, हुँदाहुँदै कोही कोही त आत्महत्या गर्छु भन्दै आएछन् । एकदिन त एकजना यही आत्महत्या गर्छु भनेर आएछ । धमाधम मानिसले आत्महत्या गरेकाले सचिवज्यू डराउँदै मेरोमा आउनुभयो । अझ उहाँ त कमलो मन, लौ न आत्महत्या गर्छु भन्छ, के गर्ने भन्नुभयो । मैले त कुरा बुझेको छु । त्यसपछि मैले डोरी लगिदिनुस् । सचिवज्यूकोमा झुण्डिन अप्ठ्यारो लाग्छ भने मेरो गेटमा गएर झुण्डिन भनिदिनुस् भनेँ,’ उनले सञ्चारकर्मीको अगाडि उभिँदै भने ।

मन्त्री बस्नेतको यस्तो गैरजिम्मेवार अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ । पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले मन्त्री बस्नेतको राजीनामा माग गरेकी छन् । स्वास्थ्यकर्मीको अभिभावक बन्नुपर्ने मन्त्री त्यसबाट च्यूत भएर तुच्छ अभिव्यक्तिमा ओर्लिएको उनको भनाइ छ ।

नेपालमा दैनिक १७—१८ जना युवायुवतीले आत्महत्या गरिरहेको परिप्रेक्ष्यमा तालुकदार मन्त्रीले नै यस्तो अभिव्यक्ति दिनु घातक भएको उनले बताइन् ।

‘स्वास्थ्य क्षेत्रको अभिभावक भएर देशभरिका स्वास्थ्यकर्मीहरूको श्रम, पसिना र उनीहरूको दुःख , त्यागको सम्मानजनक सम्बोधन गर्नुको साटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाइ स्वयं स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र होइन, सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ,’ तोषिमाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोनबहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ।’

 

ताजा अपडेट

नेपालवाच विशेष