भोजपुरको दुर्गम गाउँपालिका साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।
यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिए । यहाँका छ माध्यमिक विद्यालयमा भने यसअघि नै इन्टरनेट सेवा विस्तार गरेर सञ्चालनमा रहेको उनको भनाइ छ । दोस्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तारलगायतको काम गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिका बीच भएको सम्झौताअनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमविपिएस नन डेडीकेडेट सेवा विस्तार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।
गाउँपालिकाभित्रका विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन योजनाबद्धरुपमा कामको थालनी गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए । विद्यालयमा सूचना प्रणालीको विकास गर्नको लागि राष्ट्रिय योजना आयोगबाट आउने रु। ९७ लाख विशेष अनुदानको बजेटबाट थप काम गर्ने उनको भनाइ छ । ‘जिल्लाकै विकट मानिने हाम्रो गाउँपालिकामा प्रविधिमैत्री शिक्षाको विकासमा जोड दिएका छौँ’, प्रशासकीय अधिकृत अधिकारीले भने, ‘यहाँका सबैविद्यालयमा इन्टरनेट सेवा विस्तारको काम थालेका छौँ । खास गरेर हाम्रो एक मात्र लक्ष्य नै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनु हो ।’
सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने अध्यक्ष कुलुङको भनाइ छ । ‘नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा ३८ वटा विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा विस्तार थालेका छौँ’, अध्यक्ष कुलुङले भने, ‘यसले यहाँका बालबालिकालाई प्रविधियुक्त शिक्षा लिन सहजता थप्नेछ । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको छ ।’
सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्ष रु ७३ हजार नौ सय का दरले रु २८ लाख आठ हजार नौ सय बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै दोश्रो वर्षमाप्रति विद्यालय रु १८ हजार नौ सयका दरले रु सात लाख आठ हजार दुई सय बरावरको इन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाको भनाइ छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया