NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

जिमखानामा कसरत गर्छन् ६५ वर्षीय राणा, भन्छन्- सबै समस्या हरायो

काठमाडौं । ‘जिम’ भन्ने बित्तिकै हाम्रो मनमा यस्तो कठिन अभ्यास तन्नेरी र स्वस्थ मान्छेले मात्र गर्ने होला भन्ने बुझाइ हुन्छ ।

त्यसैले फिटनेसमा अक्सर युवाकै बाक्लो उपस्थिति देखिन्छ । तर यो गलत बुझाइ हो । ६५ वर्षीय असितशमशेर राणा जिम वृद्ध उमेर समूहकाले पनि गर्न मिल्ने सुनाउँछन् ।

मोटोपना, स्फूर्ति नहुने, छालाको चाउरीपनाजस्ता समस्या जिम गर्दा हल भएको बताउने राणा दैनिक एक घण्टा जिम गर्दा आफूलाई युवावस्थाको महसुस हुने गरेकाे बताउँछन् ।

विगत एक वर्षदेखि दैनिक एक घण्टा जिम गर्ने राणाले यसका फाइदाबारे यसरी सुनाए :

दुई वर्षअघि शरीरमा तागत नभएजस्तो महसुस हुन थाल्यो । मोटोपनाजस्ता समस्या बढिरहेका थिए तर काम गर्ने जाँगर नै आउँदैनथ्यो । त्यसको एक वर्षपछि मैले जिम कक्षा सुरु गरेँ ।। अहिले विगतका ती सबै समस्या दूर भएका छन् ।

म अहिले ६५ वर्षको भएँ । आजभन्दा एक/दुई वर्षअघि अल्छी लाग्ने, शरीरमा तागत नभएजस्तो महसुस हुन थाल्यो । शरीरमा स्फूर्ति नआएपछि मैले फिटनेस कक्षा सुरु गरेँ । त्यहाँ व्यायामका विभिन्न अभ्यास गर्थेँ । जुन अहिले पनि जारी छ ।

फिटनेस कक्षा सुरु गरेपछि मैले आफूलाई पहिलेभन्दा स्वस्थ र तन्दुरुस्त महसुस गरेको छु । विगतमा अल्छी लाग्ने, शरीर आलस्य हुनेलगायत समस्या पनि थिए । यी सबै अहिले हटेका छन् । मेरो छातीको भाग तल झरेको थियो, फिटनेस अभ्यास गर्नु पूर्व । अहिले यो पनि ठीक भएको छ । व्यक्तिका आ–आफ्ना पारिवारिक दायित्व हुन्छन् । स्वाभाविक रूपमा मेरा पनि थिए/छन् । त्यसैले विगतमा मेरो सोच कसरी पैसा कमाएर परिवारको माग र आवश्यकता पूरा गर्ने भन्ने मात्र हुन्थ्यो । स्वास्थ्यको कुनै प्रवाह नै गरिदैनथ्यो ।

स्वास्थ्यको चासो नराखेपछि समयक्रममा विभिन्न रोगहरू लाग्दै गए । त्यसपछि बल्ल मलाई लाग्यो, स्वास्थ्य नै ठीक छैन भने पैसाको के काम  ? यो प्रश्न मैले आफैंसँग पटक–पटक गरेँ ।

स्वस्थ र सुखी जीवन जिउनका लागि विगत १ वर्षदेखि व्यायाम गरिरहेको छु । म यहाँ ठूलो शरीर बनाउन, सिक्स प्याक निकाल्न आएको होइन । शारीरलाई रेस्लरको जस्तो बनाउने चाहा पनि छैन ।

विगतमा मेरो शरीरमा छाला खुम्चिने, मोटोपन, कमजोर महसुस हुने, केही काम गर्न मन नलाग्ने, खाना नरुच्ने, समयमा निन्द्रा नलाग्नेजस्ता अनेकन समस्या थिए । व्यायामका विभिन्न अभ्यास गरेपछि अहिले यी समस्या दूर भएका छन् ।

यी सबै समस्या दैनिक १/१ घण्टा व्यायाम गरेकै कारण ठीक भएका हुन् । व्यायाम मात्र गरेर स्वस्थ भइन्छ त  ?  यहाँनिर प्रश्न उठ्न सक्छ । खासमा व्यायाम गरेर मात्र स्वस्थ भइँदैन ।

स्वस्थ रहनका निम्ति व्यायाम सँगसँगै सन्तुलित आहारको उत्तिकै जरुरी हुन्छ । यी दुवै कुराको तालमेल मिलाएकैले ६५ वर्षको उमेरमा पनि म तन्दुरुस्त रहेको हुँ ।

६०/६५ वर्षको भएपछि ‘बुढो भएँ’ भनेर धेरै जना विभिन्न समस्या पालेर घरमा बसेको देखिन्छ । यो राम्रो कुरा होइन । म उहाँहरूलाई यसरी अल्छी गरेर घरमा नबस्न सुझाव दिन चाहन्छु ।

व्यायाममार्फत शरीरलाई स्वस्थ राख्न सकिने भएकाले अन्य उमेर समूहकाले त यसलाई झन् अभिन्न अंग बनाउनु पर्छ ।

(संगीता केसीले गरेको कुराकानीमा आधारित)