NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपति पौडेल र उद्योग वाणिज्य महासंघका पदाधिकारी भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् केन्द्रीय समितिका पदाधिकारीसँग विहिबार राष्ट्रपति भवन शीतल निवासमा उनले भने – “यही तथ्यलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”

नेपालको अर्थव्यवस्थामा नीजि क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे ।

राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यर्थाथबारे आफु अनभिज्ञ नरहेको स्पष्ट पारे ।

“रोजगारी सृजना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विध्न बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा नीजि सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ”, उनले भने ।

राष्ट्रपति पौडेलले भविष्यमा हुन सक्ने खाद्य संकट समाधान गर्नेतर्फ मुलुकको ध्यान जानुपर्नेमा जोड दिए । उनले भने – “नेपालमा जनसंख्या बढ्ने तर उत्पादन घट्दै जाने गरेको छ । युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई रोकेर हामीले कृषिलाई आधुनिकीकरण गरी उत्पादनलाई बढाउने तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।”

उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफुले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सवैको ध्यानाकषर्ण गराएको बताए । उनले भने – “धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सुचकहरू सकारात्मक रहेपनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए । उनले स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी घरेलु उत्पादनमा जोड दिँदै आयात घटाएर निर्यात बढाउने तर्फ सबै लाग्नुपर्ने बताए ।