NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

‘गाउँमा संघीयताको विरोध भएकै छैन, प्रदेश खारेज गरे कर्णाली सय वर्षपछाडि धकेलिन्छ’

संसद गफ गर्ने अखडा बने पनि संघीयतापछि विकास गाउँगाउँ पुगेको छ’

काठमाडौं ।  देश अहिले संघीय प्रणालीमा अघि बढिरहेको छ । ०६२/६३ को जनआन्दोलनलगायतको एकीकृत प्रयासबाट देशमा संघीयता आए पनि यसको मूल जस तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई दिने गरिन्छ । यही संघीयताको उपज हो, अहिले अभ्यासमा रहेका तीन तहको सरकार । यसको मूल उद्देश्य जनतालाई अधिकार सम्पन्न बनाउने नै हो ।

तर पछिल्लो समय प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गइरहेको छ । यसप्रतिको वितृष्ण यति धेरै बढेको छ कि प्रदेश संरचना खारेज हुनुपर्नेसम्मका आवाज उठ्न थालेका छन् ।

जनतालाई अधिकारसम्पन्न गर्न अपनाइएको संघीयतामाथि यति छिट्टै प्रश्न र गुनासाहरू किन आए ? यो असन्तुष्टि जन्मनुमा को,कति जिम्मेवार छन् ?

सिन्धुलीबाट निर्वाचित प्रदेशसभा सांसद मातृका भट्टराईलाई यिनै यस्ता प्रश्नसँगै प्रदेश सभाको काम–कारबाहीबारे छलफल गर्न निम्त्याएका छौं । भट्टराई माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा प्रत्यक्ष सहभागी व्यक्ति हुनुहुन्छ । उहाँले माओवादीको सैन्य संगठन जनसेनाको विभिन्न भूमिकामा रहेर जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।

सांसदको रूपमा दैनिकी कसरी चलिरहेको छ ?

अहिले आम जनताको माझ जाने, उनीहरूको समस्यासँग जोडिने, उनीहरूका अप्ठेरा, गाह्रो र आपत् विपतमा नजिक हुने, भेटघाट गर्ने सँगसँगै प्रदेशका आफ्ना काम र कार्यक्रममा व्यस्त छु ।

संघीयतालाई एकातिर राजनीतिक परिवर्तनको खम्बा मानिन्छ । तर प्रदेशसँग सम्बन्धित व्यवस्थामाथि एउटा तहबाट प्रश्न पनि उठेको छ । प्रदेश सांसदको आँखाबाट हेर्दा प्रदेश कस्तो छ ?

प्रदेशको संरचनाको बारेमा जुन बेलामा सुरुवाती बहस भयो, त्यसको उद्देश्य जे थियो त्यो विषयलई मन नपराउनेहरूले यसको आलोचना गरेका छन् । तिनै कुराहहरूलाई लिएर केही मान्छेहरुले आलोचना गरेका हुन् । खासमा यो देशमा दुईवटा कारणले संघीयता आएको हो । एउटा, केन्द्रिकृत राज्य व्यवस्था भएको कारणले सबै क्षेत्रमा समान किसिमको अवसर, विकास, आम जनताको जीवन चलाउने कुरामा असमानता हटाउनका लागि । दोस्रो, सदियौंदेखि सांस्कृतिक, धार्मिक, सामाजिक, राजनीतिक र विविध विषयबाट पछाडि परेका मान्छेहरूलाई राष्ट्रिय मूलधारमा ल्याउनका लागि । संघीयताकै कारण मूलधारको राजनीतिमा आउन नसकेका धेरैको सहभागिता बढेको छ ।

प्रदेशकोे प्रभावकारिता हुँदाहुँदै पनि जबरजस्त ढंगले केही छैन भन्ने कोणबाट आलोचना भइरहेको छ

तपाईंले भनेका यी कुराहरू संविधानले पनि सम्बोधन गरेको र सबैले स्वीकार गरिसकेका विषय हुन् । त्यसकै आधारमा प्रदेश बनेको हो । हामीले परिकल्पना गरेको प्रदेशले त्यसैगरी काम गर्न सकिरहेको छ कि छैन ?

विकास गर्ने र जनतासँग जोडने विषयमा कमजोरी छैन । राष्ट्रको अवस्था हेरौं न कस्तो छ । राष्ट्रको अवस्था जे छ, प्रदेशमा पनि त्यही झल्किने हो । केन्द्रीय सरकारको जस्तो धमिलो अवस्थामा छ, त्यसैको प्रतिविम्ब प्रदेशमा देखिन्छ । स्थानीय तहमा पनि त्यही कुरा प्रतिविम्बित हुने हो । स्थानीय तहकै हकमा पनि त सम्पन्न भनिएका बाहेक अन्यको अवस्था त त्यति राम्रो देखिँदैन । माथि बिग्रिएपछि तल पनि त्यसको असर देखिनु एउटा पाटो हो । तर प्रदेशले गर्ने काम एउटा रफ्तारमा छ । केही अभाव पक्कै छन् तर त्यसले आम मान्छेको जीवनमा प्रभाव पारेको छ । प्रदेशकोे प्रभावकारिता छ तर जबरजस्त केही छैन भन्ने कोणमा मात्रै आलोचना भएको हो ।

तपाईंले देखेको प्रदेश कस्तो छ ?

साँच्चै भन्नुपर्दा यो संसदीय व्यवस्था गफ गर्ने अखडा बनाइएको छ । उदाहरणका लागि, बजेट र नीति तथा कार्यक्रम पेश भइसक्यो । त्यसलाई संशोधन गर्ने कुनै कुरा हुँदैन । त्यो संसदीय दलले पास गर्ने भनेर ह्विप आइसकेपछि केही गर्न पाइँदैन भनेपछि बहसको के अर्थ ? त्यसैका लागि ७/१० दिन किन छलफल गर्ने ? छलफल त बजेटपूर्व हुनुपर्थ्यो । हामी परम्परागत संसदीय व्यवस्थामा छैनौं । त्यसैले यी कमी–कमजोरीलाई हटाइनुपर्छ ।

सांसदहरू संसदमा बोल्दा नीतिगत सुधार र समस्या समाधानभन्दा समस्या देखाउन मात्रै र बोल्नका लागि मात्रै बोल्छन् भन्ने आरोप छ । तपाईंलाई त्यस्तो लाग्छ कि लाग्दैन ?

संसदमा सधैं केही नजान्ने व्यक्ति पुगेका छैनन् । त्यहाँ पुगेका अधिकांशले राम्रा कुरा पनि बोलेका छन् । तर हामी कस्तो व्यवस्थामा बसेका छौं, त्यसैलाई उपयुक्त कुरा ल्याउनुपर्छ । यो व्यवस्थाको साँचो नै फेर्नुपर्ने अवस्था छ ।

साँच्चै भन्नुपर्दा यो संसदीय व्यवस्था गफ गर्ने अखडा बनाइएको छ । उदाहरणका लागि, बजेट र नीति तथा कार्यक्रम पेश भइसक्यो । त्यसलाई संशोधन गर्ने कुनै कुरा हुँदैन । त्यो संसदीय दलले पास गर्ने भनेर ह्विप आइसकेपछि केही गर्न पाइँदैन भनेपछि बहसको के अर्थ ?

२०५२ सालको परिवर्तनको जगमा आएको संघीयताले नागरिकको लागि माओवादीकै पहलबाट के रचनात्मक सुधार गरेको छ ?

म ढुक्कसाथ भन्छु, संघीयता आएपछि मात्रै गाउँगाउँमा विकास पुगेको छ । पञ्चायतमा त विकास जति सबै सहरकेन्द्रित थिए । बहुदल आएपछिको ५–७ वर्ष हेर्ने हो भने पनि विकास सबै काठमाडौंकेन्द्रित थिए । ०६२–६३ को आन्दोलनपछि जब संघीयताको कुरा आयो, त्यसपछि स्थानीय तहको विकासका लागि तलै पैसा पठाउनुपर्छ भन्ने कुरा उठ्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि स्थानीय तहको बजेट पनि बढ्यो र बाटाघाटा पनि बने । बिजुलीका पोल त्यतिबेलै पुगेका छन् । गाउँमा संघीयताको विरोध भएको छैन ।

स्थानीय तहलाई थप शक्तिशाली बनाइनुपर्छ तर प्रदेश आर्थिक भार मात्रै भयो भन्ने कोणबाट बहस भएको छ । यसमा के भन्नुहुन्छ ?

यसमा म केही हदसम्म सहमत छु । किनभने प्रदेश संरचनाहरु संख्याको हिसाबले धेरै भए कि भन्ने लाग्छ । संख्याचाहिँ केन्द्रमै पनि धेरै हो । तर ‘चेन अफ कमाण्ड’ बिना ७५३ वटामा केन्द्रमा कसरी पहुँच हुन्छ ? त्यो भएन भने कस्तो स्थिति आउँछ ? बागमती प्रदेशको हकमा र काठमाडौंमा बसेकाले यस्तो भन्न सुहाउँला तर कर्णालीको सन्दर्भमा हेर्ने हो भने प्रदेश खारेज हुँदा कर्णाली फेरि सय वर्षपछाडि धकेलिन्छ । आज पैसा सिधै कर्णाली पुगेको छ । भोलि त्यहाँका जनता फेरि यही धाउनुपर्ने अवस्था आयो भने के हुन्छ ? यो गैरजिम्मेवार व्यक्तिले भन्ने कुरा हो । केही गर्छु र बनाउँछु भन्नेले यस्तो भन्दैनन् ।

संसद नीति निर्माण गर्ने थलो हो । प्रदेशलाई कस्तो बनाउने भन्ने कुरा त्यहाँको सांसदको हातमा छ । हाम्रा सांसदमाथि अध्ययन र अनुसन्धानमा आधारित काम नगर्ने, सतही भाषण गर्छन् भन्ने आरोप छ । यति छिट्टै प्रदेश आलोचित हुनुमा प्रदेश सांसदहरूको दोषी छन् कि छैनन् ?

यहाँ सांसद मात्रै नभएर संसदीय व्यवस्थाकै पनि आलोचना भइरहेको छ । त्यसैले प्रदेशको मात्रै आलोचना भएको होइन । हामीले गर्ने अध्ययन नपुगेकै हो ।

अध्ययन सँगसँगै इमानदारिता चाहियो । यो भएन भने पनि अध्ययनले काम गर्दैन । अध्ययन र इमानदारिता नपुग्नु एउटा कारण हो । दोस्रो, अध्ययन कार्यान्वयन गर्ने ठाउँमा पनि इमानदार मान्छे नै चाहियो । त्यत्तिकै केही भएन भनिन्छ । यो अभिव्यक्ति गैरजिम्मेवार व्यक्तिले भन्ने हो । त्यसो हो भने उनीहरूले योभन्दा राम्रो के भनेर पनि देखाइदिनुपर्छ । योभन्दा उन्नत चिज के हो, त्यो देखाएर मात्रै विरोध गर्दा राम्रो हुन्छ । योभन्दा राम्रो हिजोको केन्द्रिकृत सत्ता हुँदै होइन । हिजोभन्दा आजको व्यवस्था राम्रो छ ।

चुनावचाहिँ वास्तवमै तनावको कुरा रहेछ । हिजो सहयोगी भएको मान्छे आज भड्किएको हुन्छ । असहयोगी भनेको मान्छे सहयोग गर्न आइपुगेको हुन्छ । हिजो समर्थन गर्ने विरोधी र विरोध गर्ने समर्थक भइरहँदा यसले तनाव हुन्छ

प्रदेशहरूले पुँजीगत खर्च शत प्रतिशत गर्न नसक्नुको कारण के हो ? भएको स्रोत साधनको पनि प्रयोग गर्न नसक्नु र आफ्नै आन्तरिक स्रोतको पनि विकास गर्न नसक्नुको कारण के हो ?

हामीले आजसम्मको विकास कस्तो गर्यौं ? त्यो परम्परागत विकासबाट हामी पनि अछूतो भएनौं । केन्द्रले जस्तो गरेको थियो, तल पनि त्यसैगरी गयो । हाम्रा राजमार्ग नै भारत र चीनबाट सामान ल्याउने उद्देश्यले बनेका छन् । विकास योजना उत्पादन बढाउने गरी गर्नुपर्छ । अहिले त झन् विश्व बजारमा जे प्रतिस्पर्धा गर्न सकिन्छ त्यसकै उत्पादन गर्ने हो । नेपालको पानीको बारेमा मैले संसदमा पनि कुरा उठाएको छु । नेपालको यति गुणस्तरीय पानी छ कि त्यसलाई केवल फिल्टर गर्नेबित्तिकै पानी प्याकिङ गरेर बिक्री गर्न मिल्छ । हामी केन्द्रले कस्तो गरेको छ भन्ने परम्परागत विकासको शैलीमै गयौं । अहिले हामीले उठाएका विषयहरू कार्यान्वयनमा जाने हो भने २० हजार मान्छेले रोजगार पाउँछन् ।

राजनीतिक अभ्यास गरिरहँदा नागरिकहरूलाई ‘यो गर्छु, त्यो गर्छु’ भनिन्छ र चुनाव जितेपछि ती काम ‘नेताहरूले गर्दैनन्’ भन्ने आरोप लाग्छ । तपाईंले त्यस्तो गर्नुभयो कि भएन ?

चुनावचाहिँ वास्तवमै तनावको कुरा रहेछ । हिजो सहयोगी भएको मान्छे आज भड्किएको हुन्छ । असहयोगी भनेको मान्छे सहयोग गर्न आइपुगेको हुन्छ । हिजो समर्थन गर्ने विरोधी र विरोध गर्ने समर्थक भइरहँदा यसले तनाव हुन्छ । थकान पनि सबै बिर्सिनुपर्ने हुन्छ । त्यही बेलामा जनताले विविध कुराहरू राखेका हुन्छन् । सकेको गर्छु भन्दै जाने हो । कतिपय कुराहरू सकिन्छ तर त्यसलाई पहल गर्नुपर्छ । पहल गर्दा सकिन्छ भन्ने लागेको काम गर्छु भन्ने हो । मैले जनतालाई सबै थोक गर्न नसके पनि तपाईंसँग म छु भन्ने गरेको छु । यसको मतलब विकास मात्रै नभएर दुःख सुख, स्वास्थ्य, प्रशासनिक समस्या, कहीँ बोलिदिनुपर्नेजस्ता अवस्थामा फोन नउठाउने, नसुनिदिने भनेर पन्छिने काम मबाट हुँदैन । नजिकै छु भने भेटेरै समस्या समाधान गर्न मद्दत गर्छु, टाढा छुु भने फोनबाटै गर्न सक्ने सहयोग गर्छु । अन्यायमा बस्नु पर्दैन र त्यसको विरुद्धमा लड्छु । विकास पनि आफ्नो बलले भ्याएसम्म गर्छु भनेर भनेको छु ।