NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते
विश्व आत्महत्या रोकथाम दिवस

आत्महत्या रोक्न कसरी काम गर्दैछ ‘हटलाइन नम्बर ११६६’ ?

काठमाडौं । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालमा पनि ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ मनाइँदै छ । पछिल्लो समय नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छ । विश्वव्यापी तथ्यांक हेर्दा पनि हरेक वर्ष ७ लाखले आत्महत्या गर्छन् ।

नेपालमा आर्थिक वर्ष ०७९/८० मा ६ हजार ९९३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । नेपालमा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठन र टिपिओ नेपालको सहकार्यमा राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ सञ्चालनमा छ ।

जसले २४ घण्टा नै सेवा दिन्छ । यो हेल्पलाइन नम्बरले आत्महत्या गर्न लागेको वा सोच आएको व्यक्तिलाई तत्काल आत्महत्यासम्बन्धी सोचबाट मुक्त गराउने तथा घटना न्यूनीकरण गर्न सहयोग गर्छ ।

टिपिओ नेपालका अनुसार हेल्पलाइन नम्बरमा ३ वर्षमा ३ हजार २१३ जनाले सम्पर्क गरेका छन् । आत्महत्या रोकथाम तथा न्यूनिकरण गर्ने उदेश्यले खोलिएको यो हेल्पलाइन नम्बरले आत्महत्या रोकथाममा प्रभावकारी भूमिका खेलेको बताउँछिन् पाटन मानसिक अस्पतालकी हेल्पलाइन परामर्शदाता तृप्ती शर्मा ।

उनका अनुसार आत्महत्या सम्बन्धी सोच आएमा वा कुनै मानसिक समस्या भएमा यो नम्बरमा फोन गरेर परामर्श लिन सकिन्छ । यही हेल्पलाइनबाट नै धेरै जनाको ज्यान जोगाउन सफल भएको उनले सुनाइन् ।

शर्माका अनुसार हेल्पलाइनमा फोन गर्ने व्यक्तिलाई सकेसम्म अस्पतालमा नै बोलाएरसमेत परामर्श दिने गरिएको छ । ‘हेल्पलाइन नम्बरमा कल आएपछि कुन स्थानबाट कल आएको हो त्यसको आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष परामर्श दिने निर्धारण हुन्छ,’ उनले भनिन् ‘उपत्यकाभित्रबाट नै फोन आउँदा प्रत्यक्ष बोलाएर नै परामर्श दिन्छौं । भेटेरै परामर्श दिँदा यो अझ बढी प्रभावकारी हुन्छ ।’

अहिले उक्त नम्बरमा दिनहुँ करिब ५० देखि ६० वटा फोन आउने गरेको छ । ‘कहिलेकाहीं फोन आउनेको संख्या एकै दिन सय पनि पुग्छ,’ उनले भनिन् ।

यही सेवाले धेरैलाई आत्महत्याको प्रयास गर्दागर्दैको अवस्थाबाटसमेत बचाउन सफल भएको मनोपरामर्शदाता मनिल महर्जनले बताए । तर आत्महत्या सम्बन्धी सोच आएर फोन गरेका व्यक्ति पनि हेल्पलाइन नम्बरमा खुलेर बोल्न अझै नसकिरहेको परामर्शदाता शर्मा बताउँछिन् ।

‘कल गर्ने व्यक्ति सहजै भने खुल्ने गर्दैनन् । व्यक्तिगत विवरण खुल्ने डरले पनि सुरुमा खुल्ने नसक्ने र आधा अपुरा मात्र जानकारी दिने गर्छन्’, उनले भनिन्, ‘ उनले यसरी खुल्न नचाहेको व्यक्तिलाईसमेत समय लिएर गोपनियताको बारेमा बुझाएर परामर्श दिने गरेका छौं ।’

हेल्पलाइन नम्बर आत्महत्या रोकथामका लागि प्रभावकारी बन्दै गएको बताउँदै उनले पहिलेको तुलनामा अहिले अझ व्यक्ति खुल्न चाहिरहेको सुनाइन् । कोभिड पछि भने हेल्पलाइन नम्बरमा अझ धेरै फाेन आउने गरेको छ।

‘परामर्शमार्फत आत्महत्या गर्न लागेको व्यक्तिलाई सामान्य अवस्थामा ल्याएको धेरै केशहरु छन्, उनले थपिन्, ‘ व्यक्तिले आत्महत्या गर्ने भनेको समस्यासँग भागेर हो । समस्याको समाधान पाउँदा वा आफ्नो कुरा अर्को व्यक्तिसँग सेयर गर्दा पनि यस्तो सोचबाट बाहिर आउन सकिन्छ ।’

आत्महत्याको साेंच किन आउँछ ?

आत्महत्या सोंच आउनुको पछाडि मानसिक स्वास्थ्य जोडिएको मनोविद् गोपाल ढकाल बताउँछन् । उनका अनुसार जति पनि आत्महत्याको घटना घटेका हुन्छन् त्यसको ९० देखि ९५ प्रतिशत मानसिक रोगले हुन्छ । त्यसमा पनि ७० देखि ८० प्रतिशत कारण डिप्रसनले हुनी उनी बताउँछन् ।

सामाजिक, आर्थिक, मनोवैज्ञानिक, जैविक कारक तत्वले व्यक्तिको मनलाई बिग्रार्छ । जसले गर्दा मानसिक समस्या उत्पन्न हुन्छ । मनोविद् ढकालका अनुसार लागूऔषध दुर्व्यसन, अप्रिय घटना, मनोरोग, सिजोफ्रेनिया जस्ता गम्भीर मानसिक समस्याले व्यक्ति आत्महत्याको सोचमा पुग्छ ।

‘व्यक्ति आफ्नो जीवन जब अन्धकार भएको र एक्लो भएको महसुस गर्छ तब उसले विकल्पमा आत्महत्या रोज्छ,’ उनले भने, ‘व्यक्तिमा जीवनप्रतिको मोह हराउँदै गएपछि आत्महत्याको निर्णय लिनसक्छ’ । उनले आत्महत्या समस्याको समाधान नभएर रोग हो र यसको समाधान छ भन्ने कुरा बुझ्न आवश्यक भएको बताए ।

(आत्महत्या वा आत्महानिको सोच आएमा नि : शुल्क राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ मा परामर्श लिन सकिन्छ ।)