NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते
सम्झना

सुवास नेम्वाङ : विपक्षी र विरोधीका पनि प्रिय

विग्रह नभएर मिलाप, असहमति नभएर सहमति, आन्दोलन नभएर छलफललाई जोड दिने एउटा मियो मंगलबार बिहान सिंगो देशलाई नै स्तब्ध पारेर सधैंका लागि अस्ताएको छ । मिलापका लागि आह्वान गर्ने यो आवाज अब कहिल्यै हामीमाझ प्रकट त हुनेछैन तर असहिष्णु बन्दै गएको, दलका नेता कर्कश सुनिएर जनता आजित भएको सन्दर्भमा नेपाली राजनीतिमा उनले छाडेका असल पदचापहरू सधैं अनुकरणीय र अविष्मरणीय रहनेछन्

सरल स्वभाव, संविधान रक्षामा दलभन्दा माथि

काठमाडौं ।‘हामीबीच वैचारिक मतान्तर हुन्छन् । तर त्यसलाई छलफल, संवाद, सहकार्यको माध्यमबाट किनारा लगाउनु पर्छ । विवाद बल्झाउनु हुँदैन …’

सदन होस् या सडक, राजनीतिक दलबीच विमति हुनेबित्तिकै एमाले उपाध्यक्ष सुवास नेम्वाङ असहमतिको राजनीतिक आगो निभाउन मुस्काइनसहित प्रकट भइहाल्थे । उनकै समन्वयात्मक भूमिकाबाट देशका राजनीतिक दलबीच उत्पन्न कैयन् जटिल विवाद  साम्य भएर देशले गति लिएका उदाहरण छन् ।

विग्रह नभएर मिलाप, असहमति नभएर सहमति, आन्दोलन नभएर छलफललाई जोड दिने एउटा मियो मंगलबार बिहान सिंगो देशलाई नै स्तब्ध पारेर सधैंका लागि अस्ताएको छ । ७१ वर्षीय नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको हो । मिलापका लागि आह्वान गर्ने यो आवाज अब कहिल्यै हामीमाझ प्रकट त हुनेछैन तर असहिष्णु बन्दै गएको, दलका नेता कर्कश सुनिएर जनता आजित भएको सन्दर्भमा नेपाली राजनीतिमा उनले छाडेका असल पदचापहरू सधैं अनुकरणीय र अविष्मरणीय रहनेछन् ।

सधैं समन्वयात्मक भूमिका

माओवादी मूलधारको राजनीतिमा आएपछि देश लामो समय संक्रमणकालबाट गुज्रियो । पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि बडो अकर्मण्य र अन्योलको स्थिति सिर्जना भएको थियो । संक्रमणकालीन अवस्था लिग बाहिर जालाजाला जस्तो हुन्थ्यो । तर यो स्थितिमा पनि दलहरू सम्हालिएर देशलाई निरन्तर सहमति, सहकार्य र सम्झौताका आधारमा अघि बढाइहाल्थे ।

मुलुक नयाँ राजनीतिक कोर्समा परिवर्तन गरेको र फरक पृष्ठभूमिका दल राष्ट्रिय राजनीतिको मञ्चमा रहेकाले असहमति र विवाद उत्पन्न भइरहन्थे । कुनै बेला विवाद यति पेचिलो बनिदिन्थ्यो कि दलका नेताबीच ‘पानी बाराबार’कै अवस्था हुन्थ्यो । संविधान निर्माण होस् या सरकार गठन, दाउपेचको श्रृंखला दलबीच चलिरहन्थ्यो । मुलुक मुठभेडमा जाने खतरा कैयन् पटक सन्निकट भए/गए । तर फेरि पनि सहमति, सहकार्य र सम्झौताले राजनीतिलाई लिग बाहिर जान दिएन ।

विग्रह नभएर मिलाप, असहमति नभएर सहमति, आन्दोलन नभएर छलफललाई जोड दिने एउटा मियो मंगलबार बिहान सिंगो देशलाई नै स्तब्ध पारेर सधैंका लागि अस्ताएको छ । मिलापका लागि आह्वान गर्ने यो आवाज अब कहिल्यै हामीमाझ प्रकट त हुनेछैन तर असहिष्णु बन्दै गएको, दलका नेता कर्कश सुनिएर जनता आजित भएको सन्दर्भमा नेपाली राजनीतिमा उनले छाडेका असल पदचापहरू सधैं अनुकरणीय र अविष्मरणीय रहनेछन्

राजनीतिमा दलबीच बढ्दो दूरी र वैमनस्यता कम गर्न केही पात्रले दलभन्दा माथि उठेर प्रशंसनीय भूमिका निर्वाह गरेका थिए  देशले पार गरेको यो संगीन र जटिल मोडमा । तिनै सीमित पात्रमध्येका एक थिए, सुवासचन्द्र नेम्वाङ ।

२०३५ सालदेखि सुवास नेम्वाङसँग नजिक रहेर काम गरेका पूर्वसांसद तथा माओवादी नेता रामनारायण बिडारी उनलाई समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने नेताका रूपमा स्मरण गर्छन् । नेम्वाङमा विपक्षीलाई समेत सँगै लिएर जाने खुबी रहेकाले यसको अभाव नेपाली राजनीतिमा खड्किने उनको भनाइ छ ।

‘उहाँ सदा सहमति र सहकार्यको पक्षमा रहनुभयो । विवाद आउनेबित्तकै उहाँ परिस्थिति बिग्रन नदिन सहमति र सहकार्य थालिहाल्नुहुन्थ्यो,’ नेपाल ल कलेज पढ्दाका आफ्ना गुरुलाई बिडारीले सम्झिए ।

सक्रिय राजनीतिमा आउनुपूर्व नेम्वाङ वकालतसँगै प्राध्यापन पेशामा थिए । त्यसक्रममा उनले नेपाल ल कलेजमा पढाएको बिडारी बताउँछन् ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ आफूहरूको दल अलग भए पनि कहिल्यै मतान्तर नभएको र विवाद आउँदा समन्वयात्मक भूमिका खेलेर नेम्वाङले समाधान निकालेको बताउँछन् ।

‘संविधान निर्माणका क्रममा मैले उहाँसँग नजिक रहेर काम गरेँ । तर कहिल्यै कुनै कुरामा मतान्तर भएन,’ नेम्वाङबारे गुरुङले नेपालवाचसँग भने, ‘कुनै विषयमा विवाद आउँदा उहाँले समन्वय गरेर समाधानको पहलकदमी लिई हाल्नुहुन्थ्यो ।’

संविधान निर्माणमा महत्त्वपूर्ण रोल

२०६४ सालमा पहिलो पटक देशमा संविधानसभाको निर्वाचन भएको थियो । ऐतिहासिक संविधानसभाको निर्वाचनमा सहभागी भएको माओवादी पहिलो प्रयासमै अनपेक्षित ढंगले देशको ठूलो दलका रूपमा उदाएको थियो । प्रत्यक्ष र समानुपातिकमा गरी झण्डै दुई तिहाइ सिट माओवादीले जितेको थियो । त्यसअघि राष्ट्रिय राजनीतिमा राइँदाइँ गरेका कांग्रेस–एमाले भने अपमानजनक पराजयका साथ किनारामा पुगेका थिए ।

संविधानसभाको स्वरूप इतिहासमै नयाँ थियो । सबै समुदाय, वर्ग, लिंगको प्रतिनिधित्वले यसको स्वरूप सप्तरंगी थियो । विद्रोही र संसदीय अभ्यासमा अभ्यस्त दलको अनौठो घालमेल पनि यसैमा भएको थियो ।

संविधान निर्माणका लागि जनताले जिताएर पठाएका प्रतिनिधिले भरिएको, रैथाने दल किनाराकृत भएर विद्रोही हाबी भएको संविधानसभा निकै जटिल थियो । संवेदशील भएकाले यसको सञ्चालनका लागि सुझबुझपूर्ण र समन्वय अति जरुरी थियो । विद्रोहीको बोलवाला रहेकाले सुझबुझ नहुँदा अप्रिय मोड लिनसक्ने खतरा थियो । यही जटिल र संवेदनशील परिस्थितिमा नेम्वाङ संविधानसभाको अध्यक्षमा निर्वाचित भएका थिए ।

संविधान मस्यौदा समितिका तत्कालीन सदस्य रामनारायण बिडारी सभामुखका रूपमा नेम्वाङले निकै कुशल भूमिका निर्वाह गरेको स्मरण गर्छन् । नेम्वाङकै भूमिकाका कारण काम गर्न सजिलो भएको उल्लेख गर्दै उनले यस्तो सभामुख हिजोका दिनमा पनि कोही नभएको र अब पाउनेमा पनि विश्वस्त नरहेको बताउँछन् ।

‘सभामुखका रूपमा उहाँ अहिलेसम्मकै उत्कृष्ट सभामुख हुनुहुन्थ्यो,’ बिडारीले अगाडि थपे, ‘त्यो न हिजो थिए न भोलिका दिनमा नै हुनेछन् ।’

माओवादी केन्द्रका महासचिव गुरुङ पनि नेम्वाङ उत्कृष्ट सभामुख भएको बताउँछन् । दोस्रो संविधानसभाबाट संविधान निर्माण सफल हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको गुरुङको बुझाइ छ ।

नेम्वाङ सहमति र सहकार्यका अनुयायी भएकाले आगामी दिनमा देशको राजनीतिले उनको अभाव खड्किने चिन्ता गुरुङको छ ।

संविधान र कानूनका असली हिमायती

नेम्वाङ कानूनका विद्यार्थी थिए । वकालतबाट राजनीतिमा प्रवेश गरेका उनले केही समय नेपाल ल क्याम्पसमा शिक्षण गरेका थिए ।

नेम्वाङले कानूनको कखरा पढाएका कैयन् अहिले मूलधारको राजनीतिमा छन् । नेम्वाङका विद्यार्थीसमेत रहेका अधिवक्ता रामनारायण बिडारी विधिको शासनप्रति उनी सधैं समर्पित रहेको स्मरण गर्छन् ।

‘उहाँसँग मैले कानून अध्ययनसँगै बहस गर्ने मौका पनि पाएँ । कहिले एउटै मुद्दाको त कहिले विपक्षी भएर बहस गरियो । खासमा उहाँ संविधान र कानूनका असली हिमायती हुनुहुन्थ्यो,’ नेम्वाङबारे उनले भने ।

माओवादी केन्द्रका महासचिव गुरुङ पनि दल र व्यक्तिलाई भन्दा संविधान र कानूनलाई केन्द्रमा राखेर सोच्ने नेताका रूपमा नेम्वाङलाई स्मरण गर्छन् ।

दलभन्दा माथि

०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नेतृत्वको सरकारलाई इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन थियो । तर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा बीचमै खटपट आयो । ओली पार्टी र संसद दुवैतिर संकटमा परे । आफ्नो संकट मोचनका निम्ति ओलीले ५ पुस ०७७ मा पहिलो पटक संसद विघटन गरे । यसविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले फैसला गर्दै त्यसलाई असंवैधानिक करार गर्दै संसद् पुनस्र्थापना गरिदिएको थियो । तर जसरी हुन्छ पुनः निर्वाचन गर्ने ध्याउन्नमा लागेका ओलीले असंवैधानिक हुने बुझ्दाबुझ्दै ८ जेठ ०७८ मा पुनः अर्को पटक संसद् विघटन गरिदिए ।

संसद् विघटनपछि पक्ष–विपक्षमा मत प्रकट भएका थिए । तत्कालीन नेकपा नेताहरू प्रचण्ड–माधव पक्षधर यसको विरोधमा थिए भने एमाले समर्थनमा थियो । एमालेका सबैजसो नेताले संसद् विघटनको पक्षमा बोलिदिऊन् भन्ने ओलीको अतिशय चाहा थियो । संविधानसभाका अध्यक्ष भएकाले नेम्वाङको साथ उनका लागि अझ बढी अपेक्षित हुने नै भयो । तर नेम्वाङ ओलीको चाहनाविपरीत मौनव्रतमा बसिदिए । नेम्वाङ त्यतिबेला अप्ठ्यारोमा परेर मौन बसे पनि खासमा उनी संसद् विघटन गलत रहेको अडानमा थिए ।

बिडारी संसद् विघटनपछिका भेटमा नेम्वाङले आफूसँग आफ्ना अध्यक्षले गलत कदम चालेको गुनासो गरेको स्मरण गर्छन् ।

‘विधिको शासन मान्ने भएकाले उहाँ पार्टीभन्दा माथि उठेर ओलीले गरेको संसद् विघटनको विपक्षमा उभिनुभएको थियो । मसँगको व्यक्तिगत कुराकानीमा पनि उहाँले यो भन्नुहुन्थ्यो,’ बिडारीले नेम्वाङसँगको त्यो पुरानो भेट स्मरण गरे ।

कम्युनिस्ट एकताका पक्षपाती

नेपालमा कम्युनिस्ट विचारधारा मान्ने दलको संख्या धेरै भए पनि ती छिन्नभिन्न छन् । बिडारीका अनुसार, नेम्वाङ कम्युनिस्ट नामका तमाम् पसल बन्द गरेर एउटै बनाउनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आइरहेका थिए । अदालतको आदेशमा एमाले र माओवादी केन्द्र अलग भएपछि पनि नेम्वाङले यसका लागि आफूलाई आग्रह गरेको बिडारी बताउँछन् ।

‘उहाँ कम्युनिस्टहरू एक होऊन् भन्ने चाहनुहुन्थ्यो । त्यसैले मसँगको भेटमा उहाँको जोड माओवादी केन्द्र र एमालेलाई एउटै बनाउनुपर्छ भन्ने हुन्थ्यो ।’

सरल स्वभाव

राजनीतिक दलका नेतामाथि जनता तथा कार्यकर्तासँग दूरी राख्ने र सहज उपलब्ध नहुने आरोप लाग्ने गर्छ । हुन पनि समकालीन नेतामध्ये अधिकांशमा यो समस्या व्याप्त देखिन्छ । नेम्वाङ नेम्वाङ भने यसमा पृथक थिए ।को स्वभाव पनि अति नै सरल थियो । उनी जोकोहीसँग तत्काल उपब्ध भइहाल्थे ।

बिडारी रातसाँझ जुनसुकै समय फोन गरे पनि सहजै उपलब्ध हुने नेम्वाङको स्वभावबाट अति नै प्रभावित भएको बताउँछन् । फोन नउठाउने नेता तथा सभामुखले उहाँबाट पाठ सिक्नुपर्ने उनको सुझाव छ ।

‘राति, बिहान जहिलेसुकै फोन गरे पनि उहाँ उपलब्ध हुनुहुन्थ्यो । सम्भव नभएको खण्डमा पछि सम्पर्क गर्नुहुन्थ्यो । फोन नै नउठाउने अहिलेका नेता तथा सभामुखले उहाँबाट पाठ सिकून्,’ उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सामाजिक सञ्जालमार्फत नेम्वाङ अति सरल स्वभावको भएको स्मरण गरेका छन् । नेपालका अनुसार नेम्वाङमा कसैलाई नबिझाउने स्वभाव थियो ।