सेक्युरिटीले चेलीलाई बिदा दिएन, युनिफर्ममै नाचे छमछमी (भिडियोसहित)

काठमाडौं । महावीर सेक्युरिटीबाट तिजमा बिदा नमिल्ने समाचार सुनेपछि सम्झना तामाङले आउन नसक्ने जानकारी कम्पनीका हाकिमलाई गराएकी थिइन् । तर कम्पनीले उनलाई छट्टी नै दिएन । सोमबार हरितालिका तिजका दिन मन गह्रुंगो पार्दै उनी काठमाडौंको वसन्तपुरमा ड्युटीमा लागि खटिइन् ।
रातो सारीमा पुतलीजस्तै सजिएका उनकै उमेरका युवतीहरू हाँस्दै, रमाउँदै नाचिरहेका थिए । कोही सेल्फी हान्दै थिए त कोही टिकटक बनाउँदै ।
यी सबै दृश्य देख्दा सम्झनाको मन कटक्क खायो । मन थाम्न नसकेपछि सुरक्षाका लागि खटिएकी उनी आफ्नो काम केहीबेर थाती राखेर सुरक्षा कम्पनीकै पोशाकमै छमछमी नाचिन् ।
‘अरूजस्तै तिजमा सारी लगाएर नाच्ने, गाउने, रमाइलो गर्ने मन थियो । सेक्युरिटी कम्पनीले बिदा नदिएकाले मनको धोको फेर्न युनिफर्ममै नाच्न मन लाग्यो,’ उनले नेपालवाचसँग भनिन् ।
सम्झना मात्र होइन, उनीसँगै काम गर्ने कुनै पनि चेलीले हरितालिका तिजका दिन बिदा पाएनन् । बिदा नपाएपछि उनीहरू पनि ड्युटीबाट थोरै समय उबारेर सेक्युरिटी कम्पनीको युनिफर्म लगाएरै वसन्तुपरमा तिज गीतमा छमछमी नाचे ।
‘तिजमा नाच्ने धोको थियो । त्यसैले युनिफर्ममै भए पनि मन थाक्न नसकेर नाचेँ,’ सम्झनाकी साथी भावना बरालले मनको वह सुनाइन् ।
नेपाली हिन्दूधर्मालम्बी महिलाहरूले सोमबार धुमधामसँग हरितालिका तिज मनाएका छन् । यो पर्वका अवसरमा महिला दिदीबहिनीलाई सार्वजनिक बिदा दिने परम्पराअनुसार यस वर्ष पनि दिइएको थियो । तर संघीय राजधानी काठमाडौंका अधिकांश सुरक्षा कम्पनीले सोमबार आफ्ना महिला कर्मचारीहरूलाई बिदा दिएनन् । बिदा नपाएपछि सुरक्षा कम्पनीमा काम गर्ने महिलाहरू तिजका दिन पनि नियमित काम गरिरहेका देखिन्थे ।
पछिल्लो समय तिज भड्किलो बन्दै गइरहेको छ । तिजको एक महिनाअगाडि देखि सहरीय महिलाहरूले दर खाने प्रचलन पछिल्लो एक दशकदेखि बढ्न थालेको छ । तर दैनिक काम गरेर गुजारा चलाउनुपर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने महिलालाई भने खास एक दिन पनि तिज लागेन ।
प्रतिक्रिया