NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

महिलामा सेतो पानी बग्ने समस्या किन हुन्छ ?

काठमाडाैं । महिलामा सेतो पानी बग्नु सामान्य हो । यो दुई प्रकारका हुन्छन् साधारण र असाधारण । साधारण सेतो पानी बग्नु सामान्य हो तर असाधारण सेतो पानी बग्यो भने त्यसलाई रोग लागेको भनेर बुझनु पर्छ ।

सामान्यतया पाठेघरबाट बग्ने पानी महिनावारी भएको १४ दिनसम्म पातलो र नटासिने प्रकारको हुन्छ । योभन्दा पछि याैनाङ्गबाट आउने पानी छोक्रिलो सेतो खालको हुन्छ । जुन प्राकृतिक डिस्चार्ज हो । तर योभन्दा बाहेक बग्ने सेतो पानी असमान्य छ भने याैनाङ्गमा कुनै संक्रमण वा रोग लागेको हुनसक्छ ।

याैनाङ्गमा संक्रमण भएको कसरी थाहा पाउने ? 

याैनाङ्गमा कुनै संक्रमण वा रोग लागेको खण्डमा याैनाङ्गबाट निस्कने पानी सामान्य भन्दा बढी गन्हाउने, दही जस्तो बाक्लो र छोक्रिलो हुने, भित्री वस्त्रमा टासिँने तथा लगातार बगीरहने हुन्छ ।

यसबाहेक, फिज जस्तो सेतो पानी आउने, यौनाङ्ग चिलाउने जस्ता लक्षण देखिन्छ । ब्याक्टेरियल भ्यागिनोसिसले गर्दा पनि यो समस्या आउँछ । यसमा यौनाङ्ग चिलाउने समस्या हुँदैन तर यौनाङबाट निस्केको सेतो पानी माछा जस्तो गन्हाउँछ ।

के कारणले हुन्छ ?

फंगल, ब्याक्टेरिया तथा किटाणुहरूको संक्रमणले यस्तो समस्या हुन्छ । योसँगै यस्तो संक्रमण श्रीमान् वा श्रीमतीमा छ भने पनि यौनसम्पर्कको कारण सर्छ ।
संक्रमण वा रोगले सेतो पानी बग्दा तल्लो पेट दुख्ने तथा कटकट पेट खाने, यौनाङको भित्री तथा बाहिरी भाग नै चिलाउने आदि लक्षण देखिन्छ । जुन सामान्य नभइ समस्या हो ।

यसको लागि चिकित्सको परामर्श आवश्यक छ । समयमा चिकित्सको परामर्शले रोग नियन्त्रण हुन्छ । यो संक्रमण विस्तारै पाठेघरको माथि पुग्दा यसले महिलामा बाँझोपनको समस्यासम्म गराउँछ । संक्रमण हुँदा चिकित्सको परामर्श बिना बाहिरी औषधि खाँदा यसले थप समस्या ल्याउन सक्छ । हरेक संक्रमणको औषधि फरक–फरक प्रकारका हुन्छन् ।

सेतो पानी बग्ने समस्या हुन नदिन यौनाङ्ग कसरी सफा राख्ने ?

यस्तो समस्याबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिन जरुरी छ । बिहान यौनाङ्ग सफा पानीले धुनुपर्छ । यौनाङ्गलाई सकेसम्म सुख्खा राख्नुपर्छ । यौनाङ ओसिलो हुँदा फंगल संक्रमण हुन्छ । सकेसम्म पेन्टी दैनिक फेर्नुपर्छ ।

भित्री वस्त्र घाममा सुकाउने गर्नुपर्छ । यसले फंगस संक्रमण हुन पाउँदैन र रोग लाग्नबाट जोगिन सकिन्छ । महिनावारी भएका बेलामा समयमा नै प्याड तथा ट्याम्पोन परिवर्तन गर्नुपर्छ ।

(यौन तथा छाला रोग विशेषज्ञ डा. सविना भट्टराईसँग नेपालवाचकर्मी सलिना ढुंगेलले गरेको कुराकानीमा आधारित)