काभ्रेको मण्डनदेउपुरमा आज ‘थकाइ’ बिदा

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिएको छ ।
नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
आठौं संविधान दिवसको अवसरमा नगरपालिकाले बुधबारदेखि आफ्नै भवनबाट सेवा शुभारम्भ गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै भनेको छ ‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थाहरुलाई बिदा गरिएको छ ।’
नगरपालिकाले ‘थकाइ बिदा’ दिएपछि सामाजिक सञ्जालमा बिभिन्न खालका टिप्पणी र आलोचना भइरहेका छन् ।
कतिपयले ‘थकाइ बिदा’ दिनु नगरपालिकाको काम, कर्तव्य अधिकारको दुरूपयोग समेतको रूपमा अर्थ्याएका छन् ।
तर जनप्रतिनिधिले भने थकाइ बिदा नभइ व्यवस्थापनका लागि बिदा दिनु परेको स्पष्टिकरण दिएका छन् ।
प्रतिक्रिया