सौराहमा यो वर्ष पर्यटकको चलहपहल घट्यो

चितवन । सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो ।
विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।
पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ(मुग्लिन, मुग्लिन(नौबीसे र नारायणगढ(बुटवल सडक खण्डमा मर्मत तथा बिस्तारले यातायात असहज बनेको छ ।
पोखराबाट आउनेका लागि मुग्लिन(पोखरा खण्ड पनि बिस्तारले अवरुद्ध भइरहेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ ।
जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो । सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको सङ्ख्या कम भएको उनको बुझाइ छ ।
उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौँबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ ।
विदेशका लागि निकुञ्ज प्रवेशमा रु दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि दुई हजार खर्च लाग्छ । सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि सङ्घले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए। विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उनको भनाइ छ ।
सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउँछन् । विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यसवर्ष अझै पर्यटक नआएको बताउँछन् ।
युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै नभएको बताउँछन् । उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ ।
‘दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ’, उनले भने । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ ।
बाटो र पुलहरु धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
-
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी
प्रतिक्रिया