NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

यस्ता छन् आकस्मिक गर्भनिरोधक चक्कीका बेफाइदा

काठमाडौं । आकस्मिक गर्भनिरोधक चक्की इमरर्जेन्सीमा मात्र प्रयोग गर्ने प्रयोजनले बनाइएको हो । तर अधिकांश महिलाहरु यसलाई प्रयोग गर्न सजिलो हुँदा यौन सम्पर्कपछि यसको प्रयोग गर्नुहुन्छ र पछि महिनावारी चक्रमा गढबढी देखिएपछि अस्पताल आउनुहुन्छ ।

अत्यधिक यसको प्रयोगले महिनावारी अनियमित गराउँछ । यस्तो चक्की असुरक्षित यौन सम्पर्क भएको समय मात्र प्रयोग गर्नुपर्छ । यसलाई नियमित परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्नुहुँदैन ।

आकस्मिक गर्भनिरोधक चक्की आफैंमा एक हर्मोन हो । त्यसैले यसलाई धेरै प्रयोग गर्दा दीर्घकालिन रुपमा स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसले महिनावारी गढबढ गर्नुका साथै महिलामा बाँझोपनको समस्यासमेत हुन सक्छ । यस्तो चक्कीको मुख्य घातक पक्ष भनेकै महिनावारी अनियमित गराउनु हो । जसले गर्दा पछि गएर गर्भ रहन कठिनाई हुन्छ ।

चक्कीको सेवनपछि शरीरमा देखिने समस्या

आकस्मिक गर्भनिरोधक चक्कीको अत्यधिक सेवनले महिनावारीमा सामान्य भन्दा बढी रगत जाने, अन्य समयमा पनि रगत आउने जस्ता समस्या देखापर्छन् । यसको अत्यधिक प्रयोगले भविष्यमा पाठेघरको समस्या निम्तिने जोखिम पनि उत्तिकै हुन्छ । आकस्मिक गर्भनिरोधक चक्की खाएपछि शरीर भारी हुने, तापक्रम बढ्ने तथा महिनावारीमा रक्तस्राव बढी हुने जस्ता समस्या देखापर्छन् ।

कसरी काम गर्छ ?

आकस्मिक गर्भनिरोधक चक्की एक प्रकारको हर्मोन हो । प्राकृतिक रुपमा शरीरबाट निस्कने हर्मोनविरुद्ध यो चक्कीले काम गर्छ । यसले पाठेघरबाट निस्किएको अण्डालाई चल्न नदिई वीर्यलाइ पाठेघरको मुखमा आउनबाट रोक्छ । यदि, गर्भ बसिसकेको छ भने पनि यसले बच्चा राम्रोसँग पाठेघरमा बस्न दिँदैन् ।

के आकस्मिक गर्भनिरोधक चक्कीले गर्भ नै रहँदैन ?

कहिलेकाही आकस्मिक गर्भनिरोधक चक्की लिँदा लिँदै पनि पाठेघरको नली बाहिर गर्भ रहने सम्भावना हुन्छ । त्यसैले आकस्मिक गर्भनिरोधक चक्की खाएपछि पनि ढुक्क भने हुनुहुँदैन । असुरक्षित यौनसम्पर्क पश्चात आकस्मिक गर्भ निरोधक चक्की जति छिटो खायो त्यत्ति नै बढी यसको प्रभावकारीता बढ्छ। यसलाई अस्थायी साधन भन्दा पनि आकस्मिक रुपमा मात्र प्रयोग गर्नुपर्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.किर्तिपाल सुवेदीसँग नेपालवाचका लागि सलिना ढुंगेलले गरेको कुराकानीमा आधारित)