NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते
सन्दर्भ

यसो गरे बच्न सकिन्छ मुटु रोगबाट

‘जन्मदिनको अवसर पारेर भए पनि स्वास्थ्य परीक्षण गरौं’

मुटु शरीरको महत्त्वपूर्ण अंग हो । यो हाम्रो छातीको बीच भागमा हुन्छ । मुटुमा हजारभन्दा बढी रोग लाग्ने गर्छ । मुटुसँग सम्बन्धित यी रोगलाई मुटु रोग भनिन्छ ।

मुटुमा लाग्ने विभिन्न रोगहरूलाई तीन चरणमा विभाजन गरेर हेर्ने गरिएको छ । एउटा छ, जन्मजात हुने रोग । यो आमाको पेटमा बच्चा हुर्कंदै गर्दा लाग्ने गर्छ । बच्चा जन्मिसकेपछि पनि यो रोग लाग्छ, जसलाई बाथ मुटु रोग भन्ने गरिन्छ । तेस्रो प्रकृतिको मुटु रोगचाहिँ १८ वर्ष उमेर पार गरिसकेको समूहलाई लाग्छ । जसलाई जीवनशैली सम्बन्धित रोग भनिन्छ । यसमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, हृदयघात पर्छन् ।

अधिकांश मानिस मुटु रोग भन्नेबित्तिकै हृदयघात सम्झन्छन् । मुटुमा लाग्ने रोगमा यो सबैभन्दा खतरनाक हुन्छ । हुन पनि, यसबाट व्यक्तिको ज्यानै जानसक्छ । विश्वव्यापी रूपमा हेर्दा यसबाट वार्षिक दुई करोड मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा बर्सेनि ३० हजार व्यक्तिको ज्यान जाने गरेको छ । जसमा एक हजार बालबालिका छन् ।

नेपालमा मुटु रोगीको संख्या घट्नुको सट्टा दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार, २५ प्रतिशत नेपाली कुनै न कुनै प्रकारको मुटु रोगबाट पीडित छन् । यो भनेको लगभग ७५ लाख हाराहारी हो 

नेपालमा मुटु रोगीको संख्या घट्नुको सट्टा दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार, २५ प्रतिशत नेपाली कुनै न कुनै प्रकारको मुटु रोगबाट पीडित छन् । यो भनेको लगभग ७५ लाख हाराहारी हो ।

किन लाग्छ, कसरी थाहा पाउने ?

अधिकांश रोगले सुरुमै लक्षण देखाए पनि यसको हकमा त्यस्तो हुँदैन । कतिसम्म भने ब्लड प्रेसर, कोलेस्ट्रोल हुँदा, मुटुको रक्तनली साधुरिँदा अथवा मुटुको भल्व बिग्रिसक्दासमेत यो रोगका लक्षणहरू देखिँदैनन् ।

मुटु रोगको लक्षण मुटु जाँच गरिसकेपछि मात्र पत्ता लाग्छ । तथापि, रोग बढ्दै जाँदा भने यसका लक्षणहरू देखापर्दै जान्छन् । जसमा छातीको बीच भाग दुख्ने, पसिना आउने, रिंगटा लाग्ने छन् । यसबाहेक मुटुको धड्कनमा समस्या हुने, खुट्टा सुन्निने, दमलगायतको लक्षण पनि देखिन्छन्।

मुटु रोग लाग्ने एक मात्र नभएर अनेक कारण छन् । त्यसमा मुख्यचाहिँ मद्यपान र धूम्रपान हो । यसबाहेक, मोटोपना, अस्वस्थकर खानपान, तारेको, ट्रान्स फ्याट भएको खानेकुरा, अत्यधिक गुलियो र नुनिलो खानेकुराले पनि मुटुमा समस्या आउँछ । व्यायाम तथा मानसिक तनाव पनि मुटु रोगका कारक हुन् । धेरैजसो मुटु रोग लाग्ने कारण व्यक्तिको जीवनशैलीसँग सम्बिन्धत छ । यसबाट बच्न सुर्तीजन्य पदार्थ त्यानु पर्छ । सुर्तिजन्य पदार्थ त्याग्दा धेरै हदसम्म मुटु रोगबाट बच्न सकिन्छ ।

मुटु रोगबाट बच्न दैनिक ३० मिनेट व्यायाम गर्नुपर्छ । दैनिक व्यायाम गर्न असमर्थ र असक्षम व्यक्तिले हप्ताको ५ दिन मात्र भए पनि व्यायाम गर्नुपर्छ

यस्तै, मुटु रोगबाट बच्न दैनिक ३० मिनेट व्यायाम गर्नुपर्छ । दैनिक व्यायाम गर्न असमर्थ र असक्षम व्यक्तिले हप्ताको ५ दिन मात्र भए पनि व्यायाम गर्नुपर्छ । मुटु रोगबाट बच्ने अर्को उपाय मोटोपना घटाउनु हो । यसलाई कम गर्न खानपान मुटुमैत्री बनाउनु पर्छ । जसमा हरियो सागसब्जी, फलफूल, गेडागुडी पर्छन् । मुटु रोगका लागि विशेषगरी फाइबरयुक्त खानेकुरा खानुपर्छ । फाइबरले कोलेस्ट्रोल,प्रेसर घटाउनुका साथै मुटुको रक्तनलीहरूलाई सफा गर्छ ।

मुटु रोगबाट बच्न व्यक्तिले जीवनशैली अर्थात् खानपान, मानसिक तनाव र व्यायाममा ध्यान दिन आवश्यक छ । यसका साथै व्यक्तिलाई वंशाणुगत रोग लागेका पनि हुनसक्छ । त्यसैले मुटु रोगबाट टाढा रहन वर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्नैपर्छ ।

परीक्षणबाट रोग देखिएको खण्डमा हेलचेक्र्याइँ गर्नु हुँदैन । स्वस्थ जीवनशैली अपनाउँदा–अपनाउँदै नियन्त्रणमा आएको छैन् भने औषधि नै खानुपर्छ । यसमा विलम्ब गर्न हुँदैन । औषधि खाँदा यसको लतले जीवनभर खानुपर्छ भन्ने भ्रम समाजमा व्याप्त छ । यो सत्य होइन । यस्तो भ्रममा कोही पनि बस्नु हुँदैन् । रोग लागेको खण्डमा त्यसलाई जतिसक्दो चाँडो औषधि गर्नुपर्छ ।

पछिल्लो समय युवाहरूमा मुटु रोग बढ्दै गएको छ । यसो हुनुमा मानसिक तनाव, मोटोपना र अस्वस्थ जीवनशैलीले भूमिका खेलेको देखिन्छ

पछिल्लो समय युवाहरूमा मुटु रोग बढ्दै गएको छ । यसो हुनुमा मानसिक तनाव, मोटोपना र अस्वस्थ जीवनशैलीले भूमिका खेलेको देखिन्छ । युवाहरूले धेरै मात्रामा जंक फुड खाने तथा धूम्रपान गर्ने भएकाले पनि उनीहरु मुटु रोगको जोखिममा छन् ।

मुटु रोगबाट जोगिन जीवनशैली सुधार्न जरुरी छ । मुटु रोगको मुख्य कारण जीवनशैली भएकाले यसबाट बच्न हामीले स्वस्थ आहार र दैनिक व्यायाम गर्नुपर्छ । त्यस्तै, ध्रूम्रपान तथा मद्यपानको सेवन गर्नु हुँदैन् । वर्षमा आफ्नो जन्मदिनको अवसर पारेर भए पनि स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्नुपर्छ ।

(मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीसँग नेपालवाचकर्मी सलिना ढुंगेलले गरेको कुराकानीमा आधारित)