गमला घर : पूरा गर्दै प्लान्टको रहर

काठमाडौं । घर होस् या कार्यालय, हिजोआज अधिकांशको रोजाइमा पर्ने गरेको छ ‘इण्डोर प्लान्ट’ । अर्थात् घरभित्रै बिरुवा रोप्ने चलन । हाम्रा घर तथा कार्यालयमा सजाइएका यस्ता बिरुवाले पनि थाहा हुन्छ– शहरमा वनस्पतिका पारखी बढ्दै छन् ।
घरको शयन कक्षदेखि बाथरुमसम्मको सजावटका लागि पारखीहरूले इण्डोर प्लान्ट रोज्न थालेका छन् । यस्ता बिरुवाले आँखामा शीतलता दिनुका साथै व्यक्तिमा सकारात्मक ऊर्जा प्रदान गरिरहेको हुन्छ । हामीले सबैभन्दा धेरै समय खर्च गर्ने घर तथा कार्यालय वरपर यस्ता विरुवाको प्रयोग बढ्दै जानुको एउटा कारण यो पनि हुन सक्छ ।
बिरुवाका पारखीहरूका लागि विगत तीन वर्षदेखि सारथी बन्दै आइरहेको छ, गमला घर । कारोना महामारीले निम्त्याएको लकडाउनपछि करिब ३०–३५ लाखको लगानीमा सुरु भएको यो व्यवसायले हिजोआज लय पक्रिसकेको छ । बजार माग अनुसारका बिरुवा तथा गमलाको पहुँच सहजै उपलब्ध गराउन थालेपछि ललितपुरको कुपण्डोलमा रहेको गमला घरमा हिजोआज भीडभाड बाक्लिन थालेको छ ।
‘गमला घर’ का सञ्चालक दीपेन्द्र तुलाधर पछिल्लो समय यो व्यवसाय फस्टाउँदै गएको सुनाउँछन् । उनका अनुसार हिजोआज ग्राहकहरूको रोजाइमा परम्परागत रूपमा बनाइएको माटोको तुलनामा सेरामिकको गमला पर्न थालेको छ । योसँगै प्लास्टिकका गमला पनि ग्राहकको मुख्य रोजाइभित्र पर्छन् । । सेरामिक र प्लास्टिकका गमला विदेशी उत्पादन हुन् । आधुनिक देखिने र गमलाको फिनिसिङ पनि राम्रो र सस्तो समेत भएकाले स्वदेशीको तुलनामा विदेशीको माग बढेको तुलाधारको भनाइ छ ।
नेपालमा माटोको गमला परम्परागत ढंगले हातले बनाइने गरिन्छ । उनका अनुसार नेपालमा बनेको गमलाले बजारको माग धान्न सकेको छैन । स्वदेशी उत्पादनले बजारको माग पूर्ति गर्न नसकेपछि बजारमा विदेशी गमलाकै बिगबिगी छ । तुलधारको भनाइमा गमला घरमा ल्याइने अधिकांश गमला चीनको उपादन हो ।
‘गमला घर स्वरुममा लगभग ८० प्रतिशत गमला चीनबाटै ल्याइएको छ । चीनबाट आउने गमलाहरु ३–३ पिसको सेटमा आउँछ । स्याण्ड फिनिसिङ गरिएको गमलाको सतह खस्रो र खाग्सीजस्तो हुन्छ । गमलाहरु सेटमा नै आउने हुँदा ग्राहकहरूलाई सजिलो हुन्छ । त्यसैले प्रायले चाइनिज गमला खरिद गर्छन,’ उनले भने ।
ग्राहकको रोजाइमा विदेशी गमला परे पनि नेपाली गमलाको गुणस्तर कम भएको भन्न नमिल्ने उनको तर्क छ । ‘स्वदेशी माटोको गमलालाई गुणस्तर नै नभएको भन्न मिल्दैन,’ उनले भने, ‘स्वदेशी गमलाको आफ्नै पहिचान छ, जसको मज्जा विदेशीबाट पाउन सकिँदैन ।’
गमलाको छनौट
भित्ता÷पर्खाल र बगैँचाहरूमा राख्न मिल्ने इण्डोर बिरुवाहरूका लागि छुट्टाछुट्टै गमलाहरुको प्रयोग गर्न सकिन्छ । गमला घरमा सेरामिक्स, पोलिमर, प्लास्टिक र फाइवरका गमलाहरू पाइन्छन । आफ्नो रुचि र घर तथा अफिसको डिजाइनअनुसार गमलाहरूको प्रयोग गर्न सकिन्छ ।
अलिकति फेन्सी गमलाहरु प्रायः इण्डोर गरिएको हुन्छ । बाक्लो र ठूलो किसिमका गमलाहरु आउटडोरमा प्रयोग गरिन्छ । तुलाधरका अनुसार इण्डोर र आउटडोर दुवैका लागि भारतीय गमलाहरू खरिद गर्ने क्रम पछिल्लो समय बढेको छ ।
कस्तो गमला बढी टिक्छ ?
तलाधारको भनाइमा सेरामिक्सको तुलनामा फाइबरको गमला बलियो हुन्छ । तर कुन गमला कहाँ राख्ने भन्नेबारे ग्राहक सचेत हुनुपर्छ ।
‘सेरामिक्सभन्दा फाइबरको गमला अलि टिकाउ हुन्छ । आउटडोरका लागि प्लास्टिकको गमलाहरूको प्रयोग गर्दा सूर्यबाट आएका प्रकाशका किरण सिधा उक्त गमलामा पर्न जान्छ । जसकारण प्लास्टिकको गमला तातेर बिरुवाको जरालाई असर गर्छ । इण्डोरमा सिधा घाम नपर्ने हुँदा सेरामिक्सबाट बनेको गमला टिक्ने गरेको पाइन्छ,’ उनले भने ।
माटोको गमलाहरूबाट पानी रसाउने, ढुसी आउने समस्या हुन्छ । सेरामिक्स पनि माटो नै हो तर सेरामिक्समा ढुसी आउने, रङ उड्ने समस्या हुँदैन । अलिकति वेलेज गरेको माटो भएकाले माटोको गमलामा जस्तो समस्या सेरामिक्सको गमलामा नहुने तुलाधर बताउँछन् ।
धेरै मानिसहरूले गमला खरिद गरिसकेपछि बिरुवाहरु खरिदको लागि फेरि अर्को पसल जानु पर्ने समस्या भोगिरहेको पाइन्छ । पछिल्लो समय गमला घरबाट मानिसहरूले गमला खरिद गर्न थालेपछि बिरुवाको लागि अर्को पसल जानु पर्ने समस्याबाट मुक्त भएको तुलाधार बताउँछन् ।
किनभने, त्यहाँ गमला मात्रै नभएर ग्राहकका रोजाइअनुसारका बिरुवा पनि पाइन्छ । एउटै स्वरुममा गमला र बिरुवा पाइने हुँदा ग्राहकहरूलाई पनि सहज भएको छ ।
गमला घरमा सयौं प्रकारका बिरुवाहरू छन् । यी बिरुवाहरू स्वदेश र विदेशबाट खरिद गरी गमला घर स्वरुममा स्टोर गरिएको छ । मनी प्लान्ट र लक्की ब्याम्बालगायत इण्डोर बिरुवाहरु पहिलेदेखि धेरैले सुन्दै आएका बिरुवाहरु हुन् । तर पछिल्लो समय मानिसहरूको आकर्षण नयाँ बिरुवातर्फ बढेको पाइन्छ । अहिले गमला घरमा स्नेक पलान्ट र एंथुरियम नामक बिरुवाहरु निकै लोकप्रिय छन् ।
कहाँ कस्तो बिरुवा उपयुक्त ?
स्नेक प्लान्ट
घरका लागि स्नेक पलान्ट एक अदभूत एयर प्युरिफायर हो । स्नेक प्लान्ट रोप्न निकै सजिलो हुन्छ । यसको पात खुकुरीजस्तो हुने भएकाले यसलाई चिन्न पनि सजिलो हुन्छ । यो बिरुवालाई कम पानी चाहिने हुँदा यसको रेखदेख गर्न पनि सजिलो हुन्छ ।
स्नेक प्लान्टले एयर प्युरिफाएरको रूपमा काम गर्छ । स्नेक प्लान्ट शयनकक्षका लागि राम्रो मानिन्छ । यसले हावालाई शुद्ध तथा स्वच्छ बनाउने हुँदा शयनकक्षमा सजाउन सकिन्छ ।
एंथुरियम
एन्थुरियमलाई प्रेम र मित्रताको प्रतीक मानिन्छ । यो लामो समयसम्म टिक्छ । एंन्थुरियम प्लान्ट नासाको वायु शुद्धीकरण प्लान्टको रूपमा सूचीबद्ध छ । भित्रको हावालाई शुद्ध पार्ने बिरुवाहरुमध्ये यो पनि एक हो ।
प्रतिक्रिया