NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

सशस्त्र प्रहरीमा काजमा कडाई, यूनिट सरुवाको सुरुवात

काठमाडौं । सशस्त्र प्रहरी बलले युनिट सरुवाको परम्परा सुरु गरेको छ । पहिलोपटक सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं. ७ गण सिराहाको ‘क’ गुल्मको गुल्म फर्मेसनमा परस्परमा सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नंं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रित गुल्मको रूपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीअन्तर्गत सिराहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रूपमा मातहत तीनवटा बिओपीसहित तैनाथ थियो ।

सशस्त्र प्रहरी बल नेपालको संगठनभित्र बाहिनी, गण, गुल्म र प्लाटुनलगायतका संरचना रहेका छन् । हाल काभ्रे र सिराहाका गणमातहत गुल्म तहको परस्पर सरुवा गरे ता पनि भविष्यमा गण तहका इकाइहरूको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
इकाइगत अवधारणालाई प्रभावकारी बनाउन अर्धसैनिक फौज सशस्त्र प्रहरी बल नेपालका प्रत्येक इकाइहरूको आ–आफ्नै आदर्श वाक्यसमेत तय गरिएको छ । जसले गर्दा इकाइमा कार्यरत कर्मचारीको आफ्नो इकाइप्रति गौरवको भावना विकास हुने र सामूहिकताको भावना जागृत हुनेसमेत संगठनले विश्वास लिइएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । यस्तो परम्परा नेपाली सेनामा छ ।
इकाइगत रूपमा सरुवा गर्दा सो इकाइमा कार्यरत कर्मचारीहरूमा एकता, भ्रातृत्व तथा भागिनत्व प्रगाढ हुने, एक–अर्काको बारेमा सम्पूर्ण जानकारी अद्यावधिक हुने, आदेशको शृंखला अझ प्रभावकारी रूपमा विकास हुने तथा इकाइप्रतिको अपनत्व अभिवृद्धि भई सकारात्मक सोच र सहयोगात्मक भावनाको विकास हुने तथा इकाइ सरुवा गर्दा फौजी अनुशासन र आचरणको समेत पालना हुने भएकाले यस्तो प्रणालीको सशस्त्रले सुरुवात गरेको हो ।

यसरी इकाइगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य इकाइमा सरुवा जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्तिको अन्त्य बताइएको छ । त्यसैगरी सीमा इलाकामा लामो समयसम्म एउटै स्थानमा फौज कार्यरत रहेको कारणले आउने गुनासाहरू पनि बन्द हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नोअनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काजसम्बन्धी नयाँ मापदण्ड तयार पारी लागू गरिसकेको छ । मापदण्डअनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरूले अधिकतम ६ महिना अवधिका लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिन सक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ ।

काज स्वीकृत भएका कर्मचारीले ६ महिनाभन्दा बढी काज बस्न कबुलियतनामाको फाराम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भएअनुसारको सर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसकेपश्चात् लागू हुनेछ ।