NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

घरायसी कामको जिम्मेवारी महिलालाई मात्र किन ? 

एजेन्सी । प्रियंका हरेक दिन बुलन्दशहरको काकोडबाट ५० किलोमिटर टाढा ग्रेटर नोएडाको सोसाइटीका घरहरूमा खाना पकाउन जान्छिन् । यसका लागि घरायसी काम पूरा गर्न उनी हरेक बिहान ४ः३० बजे उठ्नुपर्छ तर यसमा श्रीमानको सहयोग भने उनले पाउँदिनन् ।

प्रियंकाका श्रीमानले महिनामा १७-१८ दिन मात्र काम पाउँछन्, जसकारण उनी पनि काममा धाउनुपरेको छ । यसरी हेर्दा अहिलेको अवस्थामा उनले कमाउने कमाइ श्रीमानको कमाइको बराबरी छ ।

कमाइको मामिलामा प्रियंका बराबर भए पनि घरको सबै काम भने उनले मात्र हेर्नुपर्छ । उनी बाहिर र घर दुवैको काम गर्छिन् ।

प्रियंकाले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘म बिहान उठेर घरको काम गर्छु, खाना पकाउँछु। बच्चाहरूलाई तयार पारेर स्कुल पठाउँछु। त्यसपछि म काममा निस्कन्छु। यति काम सक्न साढे दुई घण्टा लाग्छ। हरेक दिन काममा जान्छु । काममा जान एक घण्टा भन्दा बढी लाग्छ।’ । उनले थपिन्, ‘ म थकित भएर घर पुग्छु। तर छोराछोरीका लागि खाना पकाउनेदेखि अन्य सबै काम आफैं गर्नुपर्छ । श्रीमानबाट कुनै सहयोग पाउँदिन ।’

दिल्लीकी शिला रानीको पनि अवस्था यस्तै छ । उनी निजी कम्पनीमा काम गर्छिन् । कोरोनाको समयमा उनका श्रीमानले जागिर गुमाए । सबै प्रयासका बाबजुद पनि सफलता नपाएपछि उनी घरमै बस्छन् । तर शीलाको बोझ दोब्बर भएको छ । उनी भन्छिन्, ‘म जागिरसँगै घरको काम पनि गर्छु । श्रीमानले घरायसी काममा सहयोग गर्दैनन् । ’

घरायसी कामको असमान वितरण

विश्वव्यापी नै हेर्ने हो भने घरायसी काममा पुरुषको तुलनामा महिला नै अग्रसर हुने गर्छन् । चाहे महिलाले बाहिरको काम पनि किन नगरुन् । दैनिक जीवनमा केहि कामहरू छन् जुन कामको रूपमा गनिदैंन तर दिनभर बारम्बार गर्नुपर्छ।

भारतमा गरिएको राष्ट्रिय नमूना सर्वेक्षणका अनुसार महिलाहरूले हरेक दिन पुरुषको तुलनामा तीन गुणा बढी घरको काम गर्छन्। यति मात्र होइन, उनीहरु आफ्नो परिवारका सदस्यहरुसँग पनि भावनात्मक रुपमा जोडिएका हुन्छन् । उनीहरू पुरुषको तुलनामा आफ्नो परिवारका सदस्यहरूको हेरचाह गर्न दुई गुणा बढी समय खर्च गर्छन्।

यसको मतलब जब घरको कामको जिम्मेवारीको कुरा आउँछ, महिलाहरूले पुरुषको तुलनामा यसको बारेमा बढी सोच्ने मात्र होइन, भावनात्मक रूपमा पनि कडा मेहनत गर्छन्।

बीबीसीको वर्कलाइफमा प्रकाशित लेखका अनुसार २०१९ मा हार्वर्ड विश्वविद्यालयबाट समाजशास्त्र र सामाजिक नीतिमा पीएचडी गरिरहेकी एलिसन डेमिङ्गरले ३५ जोडीमाथि अनुसन्धान गरेकी थिइन् । त्यसमा सहभागी अधिकांश दम्पतीले घरायसी कामको ठूलो हिस्सा महिलाको जिम्मेवारी हो भन्ने बुझेका थिए ।

घरायसी कामसँग सम्बन्धित मानसिक कार्यहरू

एलिसन डेमिङ्गरले घरायसी जिम्मेवारीसँग सम्बन्धित मानसिक कार्यका चार भिन्न चरणहरू पहिचान गरेका छन्। जसमा आवश्यकताहरू अनुमान गर्ने, विकल्पहरू पहिचान गर्ने, विकल्पहरू मध्येबाट उत्तम छनौट गर्ने र परिणामहरूको नियमित मूल्याङ्कन गर्ने जस्ता कुरा पर्छन् ।

डेमिङगरको अनुसन्धानले यी चारै चरणमा सबैभन्दा बढी जिम्मेवारी आमाको रहेको देखाएको छ । सौभाग्यवश लिंगको आधारमा कामको विभाजन नभएकाले विषमलिङ्गी जोडीहरूको तुलनामा समलिङ्गी दम्पतीहरूमा घरायसी कामको कम असमान विभाजन थियो।

यूटा युनिभर्सिटीका समाजशास्त्री डेनियल कार्लसनले आफ्नो एउटा अनुसन्धानमा केयरगिभिङ कामको असमान वितरणले पनि पहिलो पटक जोडिएका दम्पतीहरूबीचको यौनसम्पर्कलाई कम गर्न सक्ने पत्ता लगाए।

घरायसी कामको बोझ कसरी घटाउने ? 

सारा विश्व कोरोना महामारीको चपेटामा परेको र लकडाउनका कारण सबैजना घरमै रहेका बेला घरायसी काममा महिलाको सहभागिता र लैङ्गिक समानताका विषयमा धेरै चर्चा हुन थालेको थियो ।

त्यो समयमाा पुरुषले पनि घरका लुकेका कामलाई नजिकबाट नियाल्ने र श्रीमान्–श्रीमतीको घरेलु बोझ कम गर्न सहयोग गर्ने मौका पाएका थिए । डेमिङ्गर भन्छन्, ‘यो स्पष्ट छ कि धेरैजसो पुरुषहरू आफ्ना छोराछोरीको जीवनमा सकेसम्म संलग्न हुन चाहन्छन्।

त्यसैले श्रीमान्–श्रीमतीले घर वरपर कसले के गरिरहेको छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ । छोराछोरीको हेरचाह र घरायसी काम गर्न कति योजना बनाउनुपर्छ भनेर प्रस्ट पार्यौं भने घरमा कति लुकेका काम छन् भन्ने कुरा स्पष्ट हुन्छ ।’

यदि हामीले बोझ बाँड्ने र नयाँ बानीहरू बसाल्ने अभ्यास गर्ने हो भने, हामीले पहिले लुकेको कामलाई दृश्यात्मक बनाउनु पर्ने डेमिङ्गरको सुझाव छ । डेमिङ्गरको अनुसन्धानले घरायसी कामको बोझ आपसमा खुलेर कुरा गरेर बाँड्न सकिने भनेर देखाएको थियो ।