NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एउटा कम्पनीलेमात्रै ठेक्का पाउने गरी जहाज खरिद प्रक्रिया अघि बढाएको भन्दै निगमविरुद्ध उजुरी

काठमाडौं । सार्वजनिक खरिद ऐन र नेपाल वायुसेवा निगमको आर्थिक नियमावली नै मिचेर जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै निगमविरुद्ध उजुरी परेको छ ।

कुनै एक जहाज निर्माता कम्पनीलाई मात्रै ठेक्का दिनेगरी बोलपत्र आव्हान गरिएको भन्दै निगमविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय, पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार उजुरी परेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले यसबारे निगमसँग जवाफ माग गरेको जानकारी दिए । हालसम्म जवाफ भने आइसकेको छैन । त्यसको आधारमा कार्यालयले खरिद प्रक्रियामाथि छानबिन अघि बढाउँछ ।

हालै निगमले स्टोल(सर्ट टेक अफ एण्ड ल्यान्डिङ) उडानका लागि तीनवटा जहाज खरिद गर्न बोलपत्र आव्हान गरेको छ । कमिसनको चक्करमा सोही बोलपत्रमा तोकिएको मापदण्हरू असान्दर्भिक रहेको भन्दै उजुरी परेको हो ।

प्राप्त उजुरीका अनुसार निगमले ट्वीन अटर जहाज नै खरिद गर्ने मनासायले बोलपत्रमा मापदण्डहरू तयार पारेको छ । निगमले तयार पारेको उक्त मापदण्ड अनुसार अन्य जहाज निर्माता कम्पनीले प्रतिस्पर्धा गर्न पाउने सम्भावना न्यूनजस्तै छ ।

‘निगमको यो बदनियतले गर्दा अन्य दुई उत्कृष्ट बिमान निर्माता कम्पनी सोः बोलपत्र प्रक्रियामा भाग नै लिन नसक्ने अवस्था सिर्जना भएको छ,’ उजुरीमा उल्लेख गरिएको छ । यसले सार्वजनिक खरिद प्रक्रियाकै धज्जी उडाउनुसँगै खरिद प्रक्रियालाई अपारदर्शी बनाएर कुनै एक बिमान कम्पनीसँगको मिलेमतोमा उक्त कम्पनीमात्रै भाग लिन पाउनेगरि बोलपत्र प्रकाशित गरिएको आरोप छ ।

उक्त बोलपत्र तत्काल रोकेर अन्य जहाज निर्माता कम्पनीले पनि प्रतिस्पर्धामा भाग लिन पाउने अवसर दिन अनुरोध गरिएको छ ।

यस्ता छन् बोलपत्रमा आवेदन दिन सक्ने सम्भावित वायुयान निर्माणकर्ता

उजुरीमा औंल्याइएका असान्दर्भिक प्रावधान

जारी बोलपत्रमा जहाजले १५०० फिट भन्दा मुनीको रनवेमा पनि उडान अवतरण गर्न सक्नुपर्ने प्रावधान राखेको छ । तर यो मापदण्डभित्र हाल स्टोल उडान गरिरहेका डोर्नियर र लेटजस्ता जहाजहरू पर्दैनन् ।

नेपालको सबैभन्दा सानो रनवे मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाई १७२९ फिट छ । जहाँ डोर्नियर र लेटले पनि सहज रुपमाउडान अवतरण गरिरहेका छन् । यो भन्दा पनि सानो रनवे भएको विमानस्थल अब नेपालमा नबन्ने भएकाले उल्लिखित प्रावधान नै सिधै ट्वीन अटर जहाज ल्याउनकै लागि राखिएको जनाइएको छ ।

उक्त उजुरीमा जनाएअनुसार जहाजको मूल्यांकन नतिजाअनुसार पनि ट्वीन अटरको तुलनामा डोर्नियर र लेटको अंक बढी देखिन्छ । निगमको रोजाइमा परेकोे ट्वीन अटर जहाजको कुल प्राप्तांक ८०.३२ प्रतिशत हुँदा डोर्नियरको ८८.२३ र लेटको ९४.३१ प्रतिशत रहेको छ ।

योसँगै हालको बजार भाउ अनुसार ट्वीन अटर भन्दा ती दुई जहाजको मूल्यक कम छ । ट्वीन अटरको मूल्य ८० करोड हुँदा डोर्नियरको ६६ र लेटको ६० करोड रुपैयाँ पर्न जान्छ ।

यसरी सस्तो र राम्रो जहाजज खरिद गर्दा कमिसन नआउने भएपनि निगमले ट्वीन अटर जहाजको एजेन्टसँगको मिलेमतोमा नियमविपरित बोलपत्र प्रकाशन गरेको आरोप छ ।

सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि जहाज खरिदको लागि बोलपत्र गर्दा ब्रान्ड तोक्न मिल्दैन । तर ऐन विपरित निगमले तीनवटा जहाज खरिद प्रक्रियामा ट्वीन अटर जहाजसँग स्पेयर पार्टस् मिल्नुपर्ने भनेर लेखेको छ । कुनै एउटा जहाजको स्पेयर पार्टस् अन्य जहाज निर्माता कम्पनीसँग कसरी हुन्छ ? यसबारे प्रश्न उठाइएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ट्वीन अटर जहाज निर्माता कम्पनीका प्रतिनिधि योगेश गर्गले एक्लै भेटेको विषयमाथि पनि शंका गरिएको छ ।

हाल निगमसँग तीन थान ट्वीन अटर जहाज छन् । तीमध्ये दुईवटा सञ्चालनमा छन् भने एउटा ११ वर्षदेखि ग्राउण्डेड छ । आन्तरिक उडानका लागि भनेर ल्याइएका ६ थान चिनियाँ जहाजमध्ये एउटा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ भने पाँचवटा सञ्चालन नै नगर्ने भनेर सधैंका लागि थन्किएका छन् ।

खरिद ऐनको चटारोले जस्केलाबाट जहाज किन्ने प्रक्रिया अघि बढाउँदै पर्यटन मन्त्रालय