NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

उद्यमीको रोजाइ बन्दै नबिल एसएसई

के हो नबिल एसएसई, कसरी लिन सक्छन् युवाले यसबाट लाभ ?

काठमाडौं । ट्रेकिङ गाइडसमेत रहेकी चाँगुनारायण निवासी सजना भडेलले करिब ८ वर्ष एनजिओ चलाइन् । त्यसभन्दा अघि उनी शिक्षण पेशामा आवद्ध थिइन् । २०७२ सालको भूकम्पपछि भने उनले शिक्षण पेशा त्यागेर केही समय अमेरिकन एक्सप्याटको पर्सनल असिस्टेन्टको रुपमा रहेर कामसमेत गरिन् ।

एनजिओमा बिताएको समय उनले नबिल बैंकले सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत गरेका काम हेर्ने मौका पाएकी थिइन् । साथै महिला सशक्तिकरणसम्बन्धी नबिलले गरिरहेको कामबारे पनि उनी जानकार थिइन् । त्यही क्रमममा उनले नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रमबारे थाहा पाइन् । उनको आफ्नो पनि एक्सप्लोर हब नेपाल कम्पनी सञ्चालनमा थियो । उनी एक्सप्लोर हबको फाउन्डर हुन् ।

एक्सप्लोर हबको मूख्य उद्देश्य नेपाललाई विदेशीसामू हिमालबाहेक अरु थुप्रै कुराहरुबाट चिनाउनु हो । सजना भन्छिन्, मैले नेपाल घुम्न आउने पर्यटकलाई देखाउन लागेको नेपालको कला, संस्कृति, यहाँको परम्परा, जनजीवन, धर्म, संस्कृति हो । यत्ति मात्रै नभएर पर्यटन क्षेत्रमा महिलाहरुलाई आवद्ध गराएर आर्थिक रुपमा सशक्त बनाउने उद्देश्य कम्पनीको रहेको उनको भनाइ छ । उनले कम्पनीको त्यही आइडिया लिएर नबिल एसएसईमा आवेदन दिइन् । आफ्नो यो आईडिया फेलोसिपका निर्णयक मण्डललाई मन परेको र आफू छनोटमा पर्न सफल भएको उनले सुनाइन् ।

सजनाका अनुसार, नबिल फेलोसिपबाट उनले धेरै कुरा सिकेकी छन् । त्यसो त, सजनाले यस फेलोसिपमा आउनुपूर्व इन्टरप्रेनरसिप डिजाइन थिकिंङसम्बन्धी तालिम नलिएकी होइनन् । तर यसभन्दा अघिका तालिम बढी सैद्धान्तिक किसिमका भएको उनको बुझाइ छ । नबिल एसएसईमा भने उनले अभ्यास गरेर सिक्ने मौका पाइन् । ‘यहाँ हामीले डिजाइन थिकिंङलाई गेम, टुल्सको माध्यमबाट सजिलो तरिकाबाट सिक्ने मौका पाएका छौँ, सानो सानो कनेक्सन गराएर सिकाउनु भएकाले बुझ्न निकै सजिलो भएको छ,’ उनले आफ्नो अनुभव साझा गर्दै सुनाइन् ।

व्यवसाय प्रारम्भिक चरणमा भएकाले यो कार्यक्रम निकै फलदायी भएको  उनको अनुभव छ । ‘म अहिले बिजनेसको सुरुवाती फेजमा छु, मलाई व्यवसाय रजिस्टर गर्ने झमेला भइरहेको छ । तालिमबाट मैले संस्था दर्ता कसरी, कहाँ गर्ने ? भन्ने आवश्यक ज्ञान पाएकी छु । मलाई यसले धेरै सहज बनायो,’ उनले थपिन् । यति मात्रै नभएर उनले स्टाफ म्यानेजमेन्ट, बुक म्यानेज गर्नेदेखि लिएर आफ्नो फाइनान्स म्यानजेबारे सिकेकी छिन् । सजना भन्छिन्, ‘नबिलले जुन इन्टरप्रनेनरसिपको वर्कसपहरू दिएको छ, यो हरेक कोपअपरेट सेक्टरले फलदायी तरिकाले दिन सक्यो यसबाट उद्यमीहरूले धेरै नै लाभ लिन सक्ने थिए ।’ नबिल एसएसई नव उद्यमीहरूका लागि बलियो पुल भएको बताउँछिन् ।

कुनै पनि योजना बनाउँदैमा आँखा चिम्लिएर दौडन नहुने उनको भनाइ छ । उनको बुझाइमा योजना निर्माणपछि तयारीमा लाग्नु उपयुक्त हुन्छ । तालिमले इन्टरप्रेनरसिप हेर्ने आफ्नो दृष्टिकोण नै परिवर्तन भएको उनको भनाइ छ ।

बनेपाका रोशन श्रेष्ठ एग्रिकल्चरबाट भाइरसमुक्त आलुको बीउ उत्पादन गरिरहेका छन् । हाल ल्याबमा मात्रै सीमित यो कार्यलाई निकट भविष्यमै उनी हरेक कृषकको घर–घरसम्म पुर्याउने सोचमा छन् । उनी आफै पनि बायोटेक्नोलोजिस्ट हुन् । बायोटेक्नोलोजीमा उनले स्नातकोत्तर गरेका छन् । नेपालमा परम्परागत आलु  उत्पादन गर्दा आलुको गुण र ह्रासमा कमी आउने हुँदा नयाँ प्रविधिबाट भाइरसमुक्त आलु उत्पादनमा लागेको उनले बताए । नयाँ प्रविधिबाट भाइरसमुक्त आलु उत्पादन गर्दा भाइरस नलाग्ने र आलुको गुणमा ह्रास नआउने साथै उत्पादनसमेत बढ्ने रोशनको भनाइ छ ।

उनी आफ्नो आइडियालाई थप निखार्न चाहान्थे, आफ्नो आइडियालाई अझ बढी परिस्कृत गर्न र बिजनेसलाई अगाडि बढाउन नबिल एसएसईले सहयोग गरेको उनी बताउछन् । तालिमको दोस्रो ब्लकसम्म आइपुग्दा रोशनले बिजनेस मोडललाई कसरी अघि बढाउने भनेर सिकिरहेका छन् । साथै उनले साँघुरो भिजनलाई फराकिलो तरिकाबाट सोच्नुपर्ने रहेछ भनेर बुझेका छन् ।

‘पहिले हामी आफ्नो काममा मात्रै ध्यान दिने कसैको मतलब नगर्ने किसिमका थियौँ, अहिले हामीले कसरी नेटवर्किङ बढाउने, फाइनान्सियल बजेटिङमा, टेक्निकल्लीमा पनि कुन तरिकाले जानुपर्छ भनेर सिकिरहेका छौँ, सिकेका कुरालाई व्यवहारमा लागू गर्न सकेमा धेरै राम्रो हुन्छ,’ उनले भने ।

रोशन नेपालमा भएका जनशक्तिलाई विदेश जानबाट रोक्न यस्ता किसिमका तालिम आवश्यक भएको औंल्याउँछन् । ‘कैयौं युवाहरू नेपालमा भविष्य नै छैन भन्दै विदेश जान खोजिरहेका हुन्छन् । नेपालमै केही गर्नुपर्छ भन्ने भावना बोकेका तथा सोच भएर पनि अगाडि बढ्न नसकेका युवाहरूलाई यो कार्यक्रमले धेरै मदत पुग्ने उनको विश्वास छ ।

केही गर्ने प्रयास नै नगरी ‘नेपालमा भविष्य छैन’ भन्न नमिल्ने उनको तर्क छ । उनी अरूको लहैलहैमा लागेर विदेश जानुभन्दा नेपालको बजारमा आवश्यकता अध्ययन गरेर सोहीअनुरूप काम गर्नु उपयुक्त हुने सुझाउँछन् ।

नबिल एसएसईको फेलोसिपमा सहभागी अर्की फेलो हुन् रजनी गुरुङ । उनी दिगो नेपालमा आबद्ध छिन् । यो एउटा गैरनाफामूलक सामाजिक संस्था हो । दिगो नेपालले सामाजिक, आर्थिक र वातावारणीय क्षेत्रमा काम गरिरहेको छ  ।

बिएसडब्ल्यु (ब्याचलर इन सोसल वर्क) पढेकी गुरुङसँग बिजनेसम्बन्धी कुनै आइडिया थिएन । उनी दिगो नेपालकै आइडिया बोकेर नबिल एसएसईमा सहभागी हुन आइपुगिन् । फेलोसिपमा सहभागी भएपछि भने उनले आफ्नो आइडियालाई ‘ग्रो अप’ गर्ने अवसर पाएकी छिन् । तालिमबाट उनले डिजाइन थिंकिङ, नेटवर्किङबारे क्यिलयरसँग बुझेकी छिन्  । तालिममा आइसकेपछि उनले आफ्नो उत्पादन सार्वजनिक गर्नुभन्दा अगाडि समस्याको जडमै गएर, उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिएर कुरा गर्नुपर्ने रहेछ भन्ने महसुस गरेकी छन् । साथै बिजनेस संरचनाबारेको उनको अस्पष्टता पनि दूर भयो ।  दिगो नेपालमा अप्रेसन्स र फाइनान्सियल म्यानेज हेरिरहेकी रजनीले आफ्नो अनुभव सेयर गर्दै भनिन्, ‘दिगो नेपालमा मैले अप्रेसन्स र फाइनान्सियल म्यानेज हेरिरहेकी थिएँ, त्यहाँ मैले कति कुरा जानअन्जानमा गरिरहेकी थिएँ । यस्तो काम किन गरिरहेको छु भन्ने नै थाहा थिएन । अडिटरले जसो गर भन्यो त्यस्तै गरिरहेकी हुन्थेँ ।’ फेलिसिपमा विशेगरी तीन दिनको तालिमबाट बिलिङको म्यानेजमेन्ट, इन्भेन्टरी म्यानेजमेन्टजस्ता कुरा सिक्ने अवसर पाएको उनले बताइन् । त्यस्तै, कुनै पनि आइडिया प्रयोगमा ल्याउनुअघि रिसर्च गर्नुपर्ने रहेछ भन्ने तत्त्वबोध पनि उनले त्यसबाट गरेकी छन् ।

रजनी नबिलको यो कार्यक्रम निरन्तर चलेको हेर्न चाहन्छिन् । आफूजस्तै धेरै युवाहरू यसमा जोडिन सकुन् भन्ने उनको चाहा छ ।  रजनी क्षमता हुँदाहुँदे विदेश जाने युवाहरूलाई नेपालमै भविष्य खोज्न सल्लाह दिन्छिन् । विदेश गइहाले पनि त्यहाँ सिकेका सीप र अनुभवलाई नेपालमा प्रयोगमा ल्याउन सके झनै राम्रो हुने उनको बुझाइ छ ।  नेपालजस्तो विकासउन्मुख देशमा झन् धेरै अवसर हुने उनी बताउँछिन् ।

मेकानिकल इन्जिनियरिङमा ब्याचलर गर्ने क्रममा रोशन ओझालाई ह्विलचेयर बनाउने आइडिया आयो । जुन ब्याचलर पढ्दै गर्दा स्पाइनल इन्ज्युरी पुर्नस्थापना कार्यक्रममा सहभागी हुँदा फुरेको थियो ।  त्यहाँ उनले ह्विलचेयर प्रयोगकर्ताको समस्या नजिकैबाट नियाल्ने मौका पाए । ह्विलचेयरको लागि विदेशबाट आएको सहयोग कुर्नुपर्ने, त्यसमा पनि सबैले सजिलै प्रयोग गर्न सक्ने स्थिति थिएन । यस्तो देखेपछि ह्विलचेयर बनाउने सोच आएको उनले सुनाए । हाल रोशन र उनका साथीहरू मिलेर म्यानुअल र इलेक्ट्रिक दुवै अप्सन एउटैमा भएको ह्विलचेयर बनाउने काममा लागिरहेका छन् ।

रोशन आफ्नो बिजनेस आइडियालाई अझ परिष्कृत बनाउन चाहन्थे । यसैक्रममा उनी नेपाल स्टार्टअप सम्मेलनमा सहभागी भएका थिए । त्यतिबेला आइडिया सेयर गर्ने क्रममा नबिलका एक कर्मचारीसँग उनको भेट भयो । ती कर्मचारीबाट नबिल एसएसईबारे थाहा पाएपछि आवेदन दिएको र छनोटमा पर्न पनि सफल भएको उनले सुनाए ।  उनले अहिले आफूलाई निकै परिस्कृत गरेका छन् । साथै उनले यो तालिमबाट उत्प्रेरणासमेत पाइरहेका छन् । उनी भन्छन्, ‘हामीले एउटा तरिकाले काम गरिरहको हुन्छौं, काम गरिरहको प्यार्टनमा कतिबेला एकोेहोरो भइरहेको हुन्छौँ थाहा नै हुँदैन, हामी हाम्रो बिजनेसले कतिको प्रभाव पार्न सक्छ भनेर विविध तरिकाले सोचेका हुँदैनौँ । त्यो पार्ट मैले यहाँ आएर सिक्ने मौका पाएँ । सिक्ने क्रममा आफूले गरेको काममा कहाँनिर गल्ती गरिरहेको छु, सुधार्नुपर्ने के छ भनेर थाहा पाइरहेको छु, धेरै जनाको अनुभव सुन्न पाएका छौँ, त्यसले झन् उत्प्रेरणा बढाएको छ ।’

अहिले स्टार्टअप इन्टरप्रेनरसीप कल्चर नेपालमा बढ्दै गइरहेको छ । त्यसैले यस्ता कार्यक्रमको आवश्यकता अझ बढी रहेको उनी औल्याउँछन् । यस्ता कार्यक्रम सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि सञ्चालन गर्नुपर्ने उनको सुझाव तछ । भन्छन्, ‘नबिलले जुन तरिकाले यो कार्यक्रम गरिरहेको छ, यसले केही गर्न चाहने युवाहरूलाई धेरै मद्दत पुगेको छ । यस्ता प्लेटफर्महरू धेरै भयो भने अन्यत्र पनि फैलन सक्छ ।’

त्यस्तै, श्रीना प्रधान पनि यो फेलोसिपकी अर्की सहभागी हुन्  । उनी कोचमी नेपाल प्राइभेट लिमिटेडमा आबद्ध छिन् । कोचमीले स्कुल कलेजहरुलाई सप्ट स्किल ट्रेनिङ (कम्युनिकेशन, लिडरसीप, पब्लिक स्पिकिङ ट्रेनिङ्) दिँदै आइरहेको छ । साथै विभिन्न कर्पोरेट हाउसहरुलाई पनि यस्तो खालका ट्रेनिङहरु प्रदान गर्दै आइरहेको उनले बताइन् । यसका साथै कोचमीले म्यानेजर  स्तरकालाई कोचिङसमेत दिने गरेको छ ।

अरू फेलोहरूले जस्तै आफूले पनि यसबाट धेरै कुरा सिक्ने मौका पाएको उनी बताउँछिन् । ‘म मार्केटिङ गरिरहेको  भए पनि अकाउन्ट किपिङ, बुक किपिङबारे याद गरेको थिइनँ । यो कार्यक्रमले मलाई यसको महत्त्वबारे प्रष्ट पारिदिएको छ,’ उनले भनिन् ।

उनले ग्रुपमा सिक्दा एक अर्काको समस्या बुझ्ने र आफू कतिको फाइदामा छौँ, कहाँनिर सुधार गर्नुपर्ने छ, त्यसको महसुुस गर्ने अवसर पाएको बताउँछिन् । एकअर्कासँग मिलेर कसरी काम गर्ने भन्ने ज्ञान पनि उनले यसबाट सिकेकी छन् । कानुनी प्रक्रिया, रजिस्टेसन, माइन्युटजस्ता कुरा उनलाई बिरानो थियो, वर्षौं लाग्ने यी सबै कुरा यिनले तालिमबाट सिकेकी छन् । यो अवसरका लागि नबिल एसएसईलाई उनले धन्यवाद दिइन् ।

कुनै काम गर्दा शीघ्र उपलब्धिको अपेक्षा नगरेर धैर्य गर्नुपर्ने उनको बुझाइ छ । नेपाली बजारमा इमोसनल फ्याक्टरले तानेकाले नेपालमा उद्यम गर्न झन् बढी अवसर देख्छिन् उनी ।

के हो नबिल एसएसई फेलोसिप कार्यक्रम?

नबिल एसएसई फेलोसिप कार्यक्रम नबिल बैंकको सिएसआरअन्तर्गतको कार्यक्रम हो । नबिल बैंकका अनुसार यो कार्यक्रम सामाजिक उद्यमशीलता प्रर्वद्धन गर्नको लागि सञ्चालनमा ल्याएको हो । नबिलले यो कार्यक्रम दुई ब्याच सञ्चालन गरिसकेको छ । यसबाट ३६ जना उद्यमीहरूले लाभ लिइसकेको बैंकले जनाएको छ ।

यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालित छ । उद्यमशीलताको सोच र आइडिया हुँदाहुँदै पनि अलमलिरहका १८ वर्षभन्दा माथिका युवाहरूलाई मार्गदर्शन गर्न बैंकले यो कार्यक्रम सञ्चालन गरेको हो । फेलोसिपअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्स रहेका छन् । फेलोसिपअन्तर्गत ६ महिनाको तालिम हुन्छ । यसका लागि बैंकले विज्ञापन आह्वान गर्छ । जसमा उद्यमशीलताको हुटहुटी भएकाले आवेदन दिन सक्छन् । आवेदनहरुको प्रारम्भिक छनौट हुँदै फाइनल अन्तर्वार्ताबाट तालिमका लागि सहभागी छनोट गरिन्छ ।

यसमा प्रत्येक महिनाको ३ दिन आवासीय तालिम हुन्छ । जसलाई लर्निङ ब्लक भनिन्छ । छनोट भएका २० जना फेलोहरू तीन दिन त्रिभुवन विश्वविद्यालयमै बसेर लर्निङ ब्लकमा सहभागी हुन्छन् । तीन दिनको अवधिमा विद्यार्थीलाई सम्बन्धित विषयमा व्यावहारिक अनुभव लिइसकेका विज्ञबाट कर, बजारीकरण, व्यवसाय ब्रान्डिङ, संस्था दर्ता, त्यसका कानूनी प्रक्रिया, प्राविधिक ज्ञानलगायत सिकाइन्छ । उक्त तालिममा एकअर्काको अनुभवहरू सेयरिङ गर्नुका सथै उद्यमीलाई चाहिने महत्त्वपूर्ण पक्षहरू कभर गरिन्छ । तीन दिनबाहेकको बाँकी समय विद्यार्थीले सिकेका ज्ञानलाई आफ्नो उद्यममा अप्लाई गरिने बैंकले जनाएको छ । यसबाहेक एक वर्षसम्म उद्यमीलाई एक जना मेन्टरको व्यवस्था गरिन्छ । बैंकले तालिम अवधिभर कुनै प्राविधिक सहायता आवश्यक परेको खण्डमा सोसमेत उपलब्ध गराउँछ ।

अर्को छ, सर्टिफिकेट कोर्स । यो तीन महिनाको हुन्छ । यो सातै प्रदेशमा सञ्चालन हुँदै आएको छ । यो तालिममा उद्यममा लागिसकेका जुनसुकै व्यक्तिहरूलाई आवश्यक ज्ञान प्रदान गरिन्छ । एउटा ब्याचमा २५ जना सहभागी हुन पाउँछन् ।हालसम्म फेलोसिप र सर्टिफिकेट दुवै कार्यक्रम गरेर नबिल एसएसईबाट ३३५ जना विद्यार्थीले लाभ लिएको बैंकको भनाइ छ ।

कार्यक्रमको उद्देश्य

नबिल बैंकका अनुसार सामाजिक उद्यमशीलता प्रवर्धन गर्ने हेतुले यो कार्यक्रम सञ्चालन गरिएको हो । नेपालकै स्रोतसाधन प्रयोग गरेर स्थानीय स्तरमा रोजगारी सिर्जना गराउने योजनासहित यो कार्यक्रम सुरु गरेको बैंकले जनाएको छ । व्यवसाय गर्न चाहने, व्यवसाय गरिसकेका र तरिका जानेर पनि अलमलिरहेका युवाहरूको लागि लक्षित कार्यक्रम हो यो । त्यस्तै, उद्यमी बन्नको लागि आवश्यक पर्ने आर्थिक सहयोगको माध्यम बन्ने अर्को उद्देश्य पनि यसको छ । सँगै यस कार्यक्रमले र दिगो विकासको लक्ष्य पनि लिएको छ ।