NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

अब जुन जिल्लामा चेक बाउन्स त्यहीँबाट अनुसन्धान

काठमाडौं । चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दा अनुसन्धानमा महान्यायाधिवक्ता कार्यालयले नयाँ सर्कुलर जारी गरेको छ । जसअनुसार अब चेक बाउन्स गराएको शाखा रहेको जिल्लाबाट मात्र अनुसन्धान हुने भएको छ ।

यसअघि खातावालाको बैंक खाता भएको शाखा रहेको जिल्लाबाट समेत अनुसन्धान हुने गरेको थियो । चेक दिनुभन्दा चेक बाउन्स हुनु अपराध भएकाले बाउन्स भएको शाखा रहेको जिल्लाबाट अनुसन्धान हुन थालेको हो ।

जसअनुसार एउटा जिल्लाबाट भएका अनुसन्धान हालै बाउन्स गराएको जिल्लामा अनुसन्धान प्रतिवेदन पठाउन थालिएको छ । महान्यायाधिवक्ता कार्यालयको सर्कुलरअनुसार अब जाहेरी दर्ता र अनुसन्धान सम्बन्धित जिल्लाबाटै हुने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारी बताउँछन् ।

विगतमा चेक बाउन्सका मुद्दा उच्च अदालतले हेर्नेमा केही महिनायता जिल्ला अदालतले हेर्न थालेका छन् । जसअनुसार अपराधको वारदत तय गर्न चेक बाउन्स गराएको शाखाका आधारमा प्रहरीले अनुसन्धान गर्न थालेको हो । यसले पीडितलाई भने सहज हुने प्रहरी अधिकारी बताउँछन् ।

पीडितले आफूअनुकूल जिल्लामा चेक बाउन्स गराउन सक्छन् । उपत्यकाबाहिरको शाखाको चेक भए पनि उपत्यकाका जिल्लामा बाउन्स गराए उपत्यकामै अनुसन्धान हुनेछ । यसले उपत्यकाका प्रहरी कार्यालयमा भने चेक बाउन्सका उजुरीको चाप अझै बढ्ने सम्भावना छ ।

केही वर्षयता प्रहरीमा सर्वाधिक पर्ने उजुरीमा चेक बाउन्स पनि छ । काठमाडौं उपत्यकामा मात्र दैनिक ५० भन्दा धेरै चेक बाउन्ससम्बन्धी उजुरी प्रहरीमा पुग्ने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।