पर्सामा हुरीको बितण्डा : एनसेल टावर ढल्यो, १०७ वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज । हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो ।
घरमा बसिरहेका बेला धारिलो जस्ताले लागेर घाइते भएपछि उनलाई बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलतर्फ लगिएको थियो । तर अस्पताल नपुग्दै बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले बताए ।
हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एक जना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् ।
उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् ।
हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया