NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २२ गते

कहाँ पुग्यो पशु कल्याण ऐनको मस्यौदा ?

काठमाडौं । पशु कल्याण ऐन बन्नाका लागि सैद्धान्तिक सहमति जुटेको दुई वर्ष बितिसक्दा पनि ऐनको मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन ।

ऐन नआउँदा हालसम्म पशु कल्याण निर्देशिका २०७३ मार्फत नै काम भइरहेको छ । विधेयककै रुपमा तर्जुमा गरिएको यो निर्देशिका तत्कालिन अवस्थामा ऐनको रुपमा पारित हुन समय लाग्ने भएपछि निर्देशिकाको रुपमा कार्यान्वयनमा ल्याइयो । तर त्यतिबेलादेखि नै प्रक्रियामा रहेको ऐन अहिलेसम्म आउन सकेको छैन ।

ऐन नआउँदा सोही निर्देशिकाकै भर पर्नुपर्ने अवस्था छ । निर्देशिकामा कानुनमाजस्तो दण्डात्मक व्यवस्था नहुने भएकाले यसका अधकांश प्रावधानहरु कार्यान्वयनमासमेत छैनन् । जसकारण चाँडो भन्दा चाँडो ऐन आउनुपर्ने भनेर पशु अधिकारकर्मीहरुले माग गर्दै आएका छन् ।

पशु कल्याणका लागि पाँचवटा प्रावधानहरु स्पष्ट तोकिएका छन् । जस्तै, भोक प्यास र कुपोषण हुन नदिने, डर त्रास र तनाव हुन नदिने, भौतिक तथा शित, तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सुनिश्चित गर्ने । तर यी काम कसैले नगरेको अवस्थमा के सजाय हुने भन्ने विषयमा कानुनी व्यवस्था छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु स्वास्थ्य महाशाखा प्रमुख डा.सम्झना काफ्लेका अनुसार कानुन निर्माणका लागि सैद्धान्तिक सहमति दुई वर्षअघि नै जुटेको छ । ‘यसका विविध प्रक्रियाहरु हुन्छन् । कानुन त्यस्सै बन्दैन,’ नेपालवाचको टेलिभिजन प्रस्तुती पोलिसी डायलगमा उनले भनिन्, ‘त्यसको सैद्धान्तिक सहमति हामीले प्राप्त गरिसकेका छौं । यसको कार्यान्वयन गर्ने पक्ष र अन्य सरोकारवालाहरुसँग यो विषयमा घनिभूत छलफल गरेरमात्रै यसको प्रक्रिया अघि बढ्छ । हामी त्यो चरणमा छौं ।’

विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई आफ्नो मापदण्डमा राखेको छ । यसभित्रका आधारभूत मापदण्ड पालना नगरेमा व्यापारदेखि धेरै विषयमा असर पर्ने देखिन्छ । विश्वमै अहिले ‘वान हेल्थ’ को अवधारणा विकास भइसकेको छ । पशु अधिकारकर्मी तथा एनिमल नेपालका कार्यक्रम निर्देशक डा.अतिश यादवका अनुसार यस्तो अवस्थामा पशु कल्याणमैत्री पशुापालन नगरेमा त्यो पशुका लागिमात्रै नभएर व्यक्तिका लागि पनि पीडादायी हुनेवाला छ । ‘पशु कल्याणका लागि सामान्य मापदण्ड पनि अपनाउन सकिएन भने सबैले भोग्नुपर्छ,’ उनले भने।

डा. काफ्लेले मुलुकको व्यवहारिक पक्षलाई ध्यानमा राखेर विश्व पशु स्वास्थ्य संघठनका मापदण्डहरूको पालना भइरहेको छ ।

हेरौं छलफलको पूरो भिडियो