NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १७ गते

कर्मचारी प्रशासनका ४ प्रसंग–छत्र, जंगेको उपद्रो र बुढो सिपाही

सापूर्व चौथो शताब्दीदेखि नेपालको इतिहासका खण्डहरू भेटिन्छन् । राजकाजका काम कर्मचारीबाट गर्ने प्रचलन पुरानै भए पनि लिच्छवी र मल्लकालमा कर्मचारी प्रणालीको खास विकास भएको पाइँदैन । पृथ्वीनारायण शाहको एकीकरणपश्चात भने याे केही व्यवस्थित भएकाे पाइन्छ ।  

नेपालको कर्मचारीतन्त्रको आफ्नै विशिष्ट इतिहास छ । लामो कालखण्ड भएको नेपाली कर्मचारीतन्त्रका सबल र दुर्बल दुवै पाटा सरोबरी छन् । नेपालको कर्मचारीतन्त्रका कतिपय घटना यस्ता छन्, जुन सुन्दा पनि निकै रोचक र घतपूर्ण लाग्छन् । त्यसमध्येका केही प्रसंग उपयोगी हुने ठानेर हामीले यो श्रृंखलामा प्रस्तुत गरेका छौं :

एकछत्र राज

तपाईं–हामीमध्ये धेरैले बरोबर सुन्दै आएको शब्दावली हो, एकछत्र राज । कसैले कुनै कुरामा बोलवाला कायम गरेको स्थितिमा टिप्पणी गर्नुपर्दा प्रायः यो पदावली प्रयोग गर्ने गरिन्छ । नेपालको आधिकारिक शब्दकोषमा यसलाई ‘एकतन्त्र, एउटै व्यक्तिको प्रभुता वा अधिकारभित्र रहेको, एउटै शासकबाट शासित (राज्य आदि)’ भनी अथ्र्याइएको छ ।

पृथ्वीनारायण शाहको पालादेखि आएको यो शब्दावली विकासको रोचक कथा कर्मचारी प्रशासनसँग जोडिन्छ । नेपाल एकीकरण सुरुवातताका अहिलेजस्तो कर्मचारी प्रशासनमा सबैको पहुँच नभएर सीमित जातजातिको बोलवाला थियो । जागिरमा निश्चित थरीले मात्र अवसर पाउँथे । त्यस्ता भाग्यमानीमा ६ थरी पाँडे, पन्त, अर्याल, खनाल, राना र बोहोरा मुख्य थिए । यी ६ थरीलाई उतिबेला ‘छत्र’ भनिन्थ्यो । प्रशासन यिनै ६ थर भएका व्यक्तिले मिलिजुली चलाउँथे । गोरखा राज्य विस्तार गर्दा पृथ्वीनारायण शाहलाई मुख्य रूपमा सहयोग गर्ने यही ६ थरी थिए ।

यिनलाई गोरखा राज्यमा विशेष सहुलियत र सुविधा थियो । राज्य हातमा पार्न विशेष सहयोग गरेकाले पृथ्वीनारायण शाहका बाबु द्रव्य शाहले ‘यी ६ थरीलाई जघन्य अपराध गरे पनि मृत्युदण्ड नदिनू’ भन्ने उपदेश दिएका थिए । द्रव्य शाहको यो उपदेशको प्रसंगबारे इतिहासमा लेखिएको छ– यी ६ थरीलाई जघन्य अपराध गरे पनि नमार्नू । बरू युद्धमा पठाउनु, आफैं मर्छन् ।’

जंगबहादुरले कैयन् कर्मचारी तथा राजनीतिज्ञको पजनी गर्दा भीमसेन थापाकै नाम आएन, प्रधानमन्त्री पद नै खोसियो । केही दिनपछि थापालाई काममा त बोलाइयो तर त्यसको संकेत सुखद् थिएन ।

तत्कालीन राजामहाराजाका प्रिय छत्रहरू यति शक्तिशाली थिए कि राजकाजमा कुनै समस्या आएमा छलफलमा बस्थे र निर्णय लिन्थे । जुन निर्णय राजाका लागि समेत मान्य हुन्थ्यो ।

नेपालको प्रशासनको प्रस्थान अर्थात् सुरुवात बिन्दु यसैलाई मानिन्छ । तर ‘छत्रराज’ लामो समय चलेन, प्रतापसिंह राजा बनेपछि गल्र्यामगुर्लुम ढल्यो । यसको एउटा छुट्टै अनि रोचक सन्दर्भ छ ।

राजा प्रतापसिंहका भित्रिनी थिइन्, मैजुरानी । उनले विस्तारै प्रशासनमा चासो मात्र राखिनन्, प्रभाव नै जमाइन् । उनी निकै निडर र कठोर थिइन् । आफ्नो कदममा अवरोध गर्ने जोकोहीमाथि उनी निःसंकोच निशाना दागी हाल्थिन् । उनले आफ्ना काका र भाइलाई समेत जेलको हावा खुवाइदिएकी थिइन् ।

मैजुरानी आउनु अगाडि नेपालको प्रशासन भर्खर स्थापना भएको थियो । उनको कार्यशैलीले जग मात्र बस्न लागेको प्रशासन भताभुंग भयो । ६ थरीको वर्चस्व ढलेर नयाँ परिदृश्य देखाप–यो ।

०००

प्रधानमन्त्रीमाथिकै त्यो पजनी

भनिरहनु परोइन, जंगबहादुर राणा चलाख थिए । रक्तपातूर्ण कोत र भण्डारखाल पर्व घटाएर जहानिया शासन व्यवस्था थोपर्न सफल जंगबहादुर राजनीति र कर्मचारी प्रशासन आफ्नो मुठ्ठीभित्र बसोस् भन्ने चाहन्थे ।

राजनीति र कर्मचारी आफ्नो इच्छाविपरीत हिँडेको महसुस जब हुन्थ्यो, जंगबहादुर निर्मम हस्तक्षेप गर्न पुगिहाल्थे । कर्मचारीको पजनी उनको शासनकालमा सामान्य थियो ।

राणाका भाइभारदारलाई चाहिँ छानीरोजी अवसर दिइन्थ्यो । कर्मचारीलाई रिस गर्ने काठमाडौंबासीले गाईजात्रापछि कर्मचारी तह लगाउन राणाले मच्चाउने यो ताण्डवको नाम नै ‘कर्मचारीजात्रा’ दिएका थिए ।

जंगबहादुरको शासनकालका प्रधानमन्त्रीमध्ये एक थिए, भीमसेन थापा । आफ्नो शासन सत्तालाई अप्ठ्यारो महसुस हुनेबित्तिकै कर्मचारी र प्रधानमन्त्री मन्त्रीमाथि जाइलाग्ने बानी परेका जंगबहादुरले उनै थापाको पजनी गरे । जंगबहादुरले कैयन् कर्मचारी तथा राजनीतिज्ञको पजनी गर्दा भीमसेन थापाकै नाम आएन, प्रधानमन्त्री पद नै खोसियो । केही दिनपछि थापालाई काममा त बोलाइयो तर त्यसको संकेत सुखद् थिएन ।

छत्र र मैजुरानीको प्रभाव सकिएपछि प्रशासनमा राणा शासनको दबदबा देखियो । यसमा चाकरी र पजनी प्रणाली निकै मौलायो । जंगबहादुरसम्म ठीकै चलेको प्रशासन उनीपछिको उत्तराधिकारीमा पुग्दा बिग्रिँदै बिग्रिँदै गयो र देवशमशेरसम्म आइपुग्दा पाँडेपजनीसम्म पुग्यो । आफ्नो सत्तामा जसबाट खतरा उत्पन्न हुन्थे, त्यसलाई पजनीको हतियार चलाएर समाप्त पार्ने र नजिककालाई अवसर दिन थालियो । फलफूल ल्याएर चाकरी–चाप्लुसी गर्नेलाई अवसर दिन थालियो । विवेक प्रयोग गर्नेभन्दा शासक खुसी पार्ने संयन्त्रका रूपमा प्रशासन दुरूपयोग हुन थाल्यो । उनीहरू मुगल सम्राट र जापानको प्रशासनको कपी गरे । जसले कर्मचारीलाई राजाको सेवकमा मात्र सीमित गरिदियो । व्युरोक्रेसीको भिजन हुँदैन भन्ने आरोप पुष्टि गर्ने आधार राणा शासनको पछिल्लो कालखण्डले कायम गरेको हो ।

०००

गाईजात्रापछि कर्मचारीजात्रा

नेवारी समुदायमा गाईजात्राको आफ्नो छुट्टै धार्मिक एवं सांस्कृतिक महत्त्व छ । दिवंगत आफन्तको सम्झनामा मनाइने यो पर्व भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।

नागरिकको उत्तरदायित्व बहन गर्न नभएर राजाको सेवकका रूपमा कर्मचारीलाई उपयोग गर्ने राणाहरूले हरेक गाईजात्रापछि र दशैंअघि कर्मचारीको पजनी गर्थे । कसैको जिम्मेवारी खोसिन्थ्यो त कसैलाई जागिरबाटै हटाइन्थ्यो । राणाका भाइभारदारलाई चाहिँ छानीरोजी अवसर दिइन्थ्यो । कर्मचारीलाई रिस गर्ने काठमाडौंबासीले गाईजात्रापछि कर्मचारी तह लगाउन राणाले मच्चाउने यो ताण्डवको नाम नै ‘कर्मचारीजात्रा’ दिएका थिए ।

०००

ठिटो जर्नेल, बुढो सिपाही

अनेक निम्छरो र नाजुक मोड छिचोलेर अघि बढेको कर्मचारी प्रशासनलाई २००७ सालको परिवर्तनपछि आधुनिक प्रशासनमा रूपान्तरण गर्ने प्रयास भयो । राणाकालीन अफिस क्रमशः खारेज भए । जिल्लाका केही कायम भए पनि केन्द्रका अधिकांश हटे । नयाँ राजनीतिक परिस्थित सिर्जनापछि १० वटा मन्त्रालय स्थापना गरियो । त्यसलाई सचिवलगायत कर्मचारी चाहिन्थ्यो । तर कसरी ल्याउने भन्ने अन्योल देखियो । त्यसपछि राणा र कांग्रेसबीच सहमति बन्यो, आधा आधा भाग लगाउने ।

सहमतिअनुसार सचिवलगायत कर्मचारी आधाआधा भर्ती हुने भए । राणाहरूलाई त सजिलो थियो, किनभने तिनका मान्छे थिए । सेनाबाट जर्नेललाई ल्याएर सचिव बनाए । तर भर्खरै उदाएको कांग्रेससँग मान्छे थिएनन् । उसले यो खडेरी टोड्न युवा प्रोफेसरलगायतलाई टिप्दै सचिव बनायो । भवनाथ उपाध्याय, कुलनाथ लोहनी, योगप्रसाद उपाध्याय कांग्रेसकै रोजाइमा परेर सचिव बनेका हुन् । यसले बुढा कर्मचारी जुनियर र भर्खरका उपल्लाे तहमा पुगे । त्यसपछि त एउटा उखान नै चल्यो- ठिटो जर्नेल, बुढो सिपाही !

(कर्मचारी प्रशासनको विविध पाटा र पक्षबारे विशद बहस गर्ने हेतुले सञ्चालित ‘प्रशासनका कुरा’ कार्यक्रमलाई सन्दर्भ सामग्रीका रूपमा लिएर तयार पारिएको सामग्री । नेपाल सरकारका पूर्वसचिव उमेशप्रसाद मैनाली, शारदाप्रसाद त्रिताल, डा. राजन खनालले सञ्चालन गर्ने यो कार्यक्रम हरेक शनिबार नेपालवाच डटकमको अफिसियल युट्युबमार्फत प्रसारण हुन्छ ।)