NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १३ गते

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा खोला पुलको भौतिक प्रगति ६५ प्रतिशत भएको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ ।

करिब डेढ दशकदेखि अलपत्र रहेको सो पुल निर्माणका लागि विसं २०७९ पुस १७ गते देव एण्ड सायर–समता आशिष सन्दिप जेभीसँग पुनः सझौता भएको हो ।

इटहरी कार्यालयका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार पुल निर्माणकार्य तीव्र गतिमा भइरहेको छ । विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी रु २२ करोड, १२ लाख ३७ हजार ६६० मा निर्माण कम्पनीले पुल पुनः ठेक्का लिएको हो ।

उनले सडकको भौतिक प्रगति ६४ दशलमव १७ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत भइसकेको जानकारी दिए । पुलको फाउण्डेसन र सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको उनले बताए। पुलको सुपरस्ट्रक्चरको दुई वटा स्लाबको ढलान सम्पन्न भइसकेको र बाँकी रहेको एउटा स्लाबको डण्डीको कार्यसमेत भइरहेको जानकारी दिए ।

विगत १५ वर्षअघि निर्माणकार्य अलपत्र पारिएको पुलको झापातर्फ २५ मिटर र मोरङतर्फ ५० मिटर निर्माण गरेसँगै दुई सय ८० मिटरको पुल बन्ने सूचना अधिकारी राईले बताए । यसअघि विसंं २०६४/६५ मा कालिका–ओसिए जेभीले २०५ मिटर निर्माण गरेर अलपत्र अवस्थामा पुललाई छोडेको थियो ।

पूर्व–पश्चिम राममार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी पुग्न दक्षिण झापाका बासिन्दालाई सहज हुनेछ । हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ ।

कार्यालयका सूचना अधिकारी राईले भने, “निर्माण व्यवसायीले निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाइरहेका छन् । यही क्रममा काम हुने हो भने सम्झौता मिति भन्दा अवागै काम सकिन्छ ।”

हुलाकी राजमार्ग अन्तरगतका झापा खण्डका पुलमध्ये कनकाई नदीको पुल बन्न बाँकी रहेको छ । झापा खण्डका आठ पुलमध्ये छ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई वटा पुलको काम धमाधम भइरहेको उनको भनाइ छ ।

हाल वर्षायाम सुरु भएका कारण केही समय पुलको काम रोकिन सक्ने उनले बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ । सडक निर्माणको काम भने गतवर्ष सकिएको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष