NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत १९ गते

लगानीमा वित्तीय विवरण र लेखा नोटकाे भूमिका

ध्रुव अधिकारी । कुनै पनि कम्पनीको आर्थिक गतिविधिले त्यसको वित्तीय  अवस्थालाई प्रतिविम्बित गर्छ । लगानीकर्ताले वित्तीय विवरणलाई जटिल ठाने पनि यो सोचिएजस्तो क्लिष्ट विषय होइन ।

कम्पनीको वित्तीय विवरणभित्रका केही फाइनान्सियल टर्मिनोलोजी आममानिसलाई बुझ्न कठिन हुनसक्छ । कतिपय सन्दर्भमा यस्ता टर्मिनोलोजीले अन्योलता सिर्जना गरिदिएको भए पनि वित्तीय  विवरण हेर्ने अभ्यास बढ्दै गएको छ ।

पछिल्लो पटक आँकडाहरूसँगै डिस्क्लोजर नोट्सहरू समेटेर वित्तीय  विवरण सार्वजनिक गर्न थालिएको छ । यसले फाइनान्सियल टर्मिनोलोजीसँगै आँकडाको व्याख्या गर्ने भएकाले वित्तीय विवरण प्रयोगकर्तालाई विषयवस्तु तथा आर्थिक गतिविधि बुझ्न सजिलो पारेको छ ।

अहिले वित्तीय  विवरण नम्बरहरूमा भन्दा नोट्सहरूमा केन्द्रित हुन थालेको छ । कम्पनी तथा सेयरका लगानीकर्ता मात्र नभएर सप्लायर्ससमेत यसैलाई अध्ययन गरेर उधारोमा सामान दिनेनदिने निर्णय लिन थालेका छन् ।

सेयर खरिद गर्नु भनेको एक हिसाबले साझेदार बन्नु हो । स्थापित भइरहेका व्यापारीसँग साझेदर बन्न जाँदा व्यवसायको भविष्यजस्ता विषयमा विश्लेषण गर्नु उपयुक्त हुन्छ । जस्तो टेलिकममा लगानी गर्दै हुनुहुन्छ भने भ्वाइसबाट डाटामा सिफ्ट हुँदै गएको यो उद्योगमा त्यसले पार्ने असरबारे जान्नु उपयुक्त हुन्छ । जुन कुरा वित्तीय विवरण र डिस्क्लोजरबाट मात्र बुझ्न सकिन्छ ।

यसबाहेक भविष्यमा क्यास फ्लो कति हुन्छ ? त्यसको आधारमा अहिलेको मूल्य उचित हो कि होइन ? यो जान्न पनि वित्तीय विवरण र डिस्क्लोजर हेर्नुपर्ने हुन्छ ।

पुँजीबजारका लगानीकर्तामा आधारभूत तथा प्राविधिक विश्लेषणको ज्ञान हुनुपर्छ । आधारभूत विश्लेषण भन्नाले कुनै पनि कम्पनीको वित्तीय अवस्था, त्यसको दृष्टिकोण, व्यापार लाइन, व्यवस्थापन पर्दछन् ।

प्राविधिक विश्लेषणमा प्राइस र भोलुमहरूलाई लिएर इन्डिकेटर्सहरू तयार गरिएका हुन्छन् । विभिन्न मिडियाको न्युज, आर्टिकल फलो गर्दा र त्यसको प्राविधिक विश्लेषणसम्बन्धी भिडियो हेर्दा म आफैंलाई पनि इन्डिकेटर्सहरू निकै ढिलो गरी सार्वजनिक गरेको महसुस हुन्छ ।

जस्तो स्मार्ट मनी, जसलाई सार्क/होइल्स पनि भनिन्छ, को पैसा बजारमा छिर्यो । कुनै विशेष कम्पनीमा त्यस्तो रकम प्रवेश गरेको अवस्थामा विस्तारै भोलुम बढ्दै गएको देखिन्छ । इन्डिकेटरलाई लिएर कारोबार गर्नेका लागि त त्यो सुहाउँदो नै होला । तर दीर्घकालीन सोच राखेर लगानी गर्नेका लागि प्राविधिकभन्दा आधारभूत विश्लेषण नै बढी उपयुक्त हुन्छ  ।

०००

प्राविधिक विश्लेषणमा नेतृत्व गर्ने, ‘सेयर किन है’ भनेर चेतवानी दिनेजस्ता इन्डिकेटर थोरै हुन्छन् । त्यसैले घटना भइसकेपछि मात्रै यो देखिन्छ । कहिलेकाहीँ बजारमा दुई/चार जनाको समूह मिलेर तपाईंलाई बेफकुफ बनाइहेको पनि हुन सक्छ । कारोबार गर्नुहुन्छ, कारोबारमा पोख्त हुनुहुन्छ, यतिसम्मको घाटा सहन्छु, यतिमा निस्किन्छु भन्ने आफ्नो सोच सेट गरिसकिएको छ भने केही फरक पर्दैन । यसबाट पनि लगानीको छोटोमिठो नाफा लिन सकिन्छ ।

पुँजीबजारमा विगतमा बैंक तथा वित्तीय  संस्थाका सेयर हाबी भए । यीमध्ये कुनै सेयरको मूल्य त धेरै माथि पुग्यो । तर अहिले यो अवस्था बदलिएको छ । आधारभूत अवस्था सुदृढ भएका संस्थाका सेयरले राज गरिरहेका छन् । यस्ता संस्थाको नाम लिनुपर्दा सुरुमै आउँछ, स्ट्याण्डर्ड चार्टड बैंक । यो त्यस्तो बैंक हो, जसले नियमभन्दा बाहिर गएर कहिल्यै कुनै काम गरेको छैन । त्यसैले यो बैंक नियम उलंघनको आरोपमा कारबाही परेको सायदै सुनिएको छ । अर्को हो, नबिल बैंक । नबिल व्यवस्थापन, प्रवर्द्धकलगायत सबै हिसाबले ठीक छ । तेस्रो, एभरेष्ट बैंक । यो बैंक पनि व्यवस्थापनको हिसाबले ठीक छ । यसमा सञ्चालक समितिले व्यवस्थापनलाई हस्तक्षेप गरेको सुनिँदैन । कम्पनीको व्यावसायिक अभ्यासहरू पनि नेपाल राष्ट्र बैंककै नियमअनुसार चलेको देखिन्छ । जोखिमयुक्त क्षेत्रमा गरिएको लगानी पनि कम छ । जस्तो : घरजग्गामा उसको लगानी कम छ । यी तीन वटा बैंकको सेयर लिनेले तत्काल गुमाए पनि कालान्तरमा राम्रै प्रतिफल दिनेछन् ।

आधारभूत विश्लेषण गर्दा पफर्म राम्रो छैन, नेटवर्थ, फाइदा पनि घटिरहेको छ ।  तर मार्केटमा यस्तै संस्था, जसले लाभांश दिने सम्भावना छैन, को सेयरमा सर्किट लागिरहेको देखिन्छ ।

वित्तीय विवरणमा हेर्नैपर्ने करा

वित्तीय  विवरणमा पुँजी, प्रमोटर पब्लिक इस्यु, आम्दानी गरेर जगेडा रहेको सम्पत्ति, दायित्व तथा सम्पतिबीचको तालमेल दर्शनीय हुन्छन् । लगानीकर्ताले यस्ता पक्षलाई राम्रोसँग नियाल्नु पर्छ ।

बैंकको मुख्य आम्दानी ब्याज हो । लगानीबाट आम्दानी हुने भए पनि यसको हिस्सा ज्यादै न्यून हुन्छ । ब्याज आम्दानी र मुख्य निक्षेपमा दिने ब्याज खर्च के छ ? यी दुईमा स्प्रेड कति छ ? गत वर्ष कति थियो ? भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छन् । कुनै बेला स्प्रेड खुला गरिएको भए पनि राष्ट बैंकले नीति तथा अर्थतन्त्रअनुसार स्प्रेड घटाउँदै लगेको छ ।

फस्ट बैंक, वित्तीय संस्थालगायत कम्पनीको हेर्ने कुरा कोर बिजनेस एक्टिभिटीबाट कमाइरहेको छ कि छैन भन्ने हो । मैले माथि नाम लिएका बैंक हेर्नुहुन्छ भने तिनले ब्याजबाहेक राम्रो आम्दानी गर्ने शुल्क तथा कमिसनबाट हो । त्यो चुनौतीविहीन व्यवसाय हो । मोबाइल बैंकिङलगायत सेवा उपभोग गरेबापत १००, २००, ५०० रूपैयाँ तिरिएको हुन्छ । एलसीको चार्ज, डकुमेन्टेनसबाट कमाइका साथमा सम्बन्ध पनि बनिरहेको हुन्छ । यस्ता आम्दानी बढी हुनु बैंक तथा वित्तीय संस्थाका लागि राम्रो कुरा हो ।

वित्तीय  विवरणमा हेर्न छुट्याउनै नहुने अन्य पक्षमा इपिएस, गैरसञ्चालन आम्दानी, गैरसञ्चालन खर्च पनि हुन् ।

वित्तीय  विवरणकै कुरा गरिरहँदा धितोपत्र बोर्डले अनुमोदन दिँदा कम्पनीको वित्तीय  विवरण एक किसिमले हेरेर दिएको हुन्छ । बोर्डबाट अप्रुभल भएर आएपछि र पब्लिकमा गइसकेपछि सार्वजनिक हुने रिर्पोट उल्लेखनीय रूपमा परिवर्तन हुन्छ । जसमा धेरैले चार्टड एकाउन्टलाई दोष दिइरहेको हुन्छ । यसमा बिजनेस प्रक्षेपण हुन्छ । व्यापार प्रक्षेपण यहाँको अभ्यासअनुसार कम्पनीले आफ्नो बनाउने हो । कम्पनीले बनाएका आधारहरू र प्रक्षेपणका आंकडाहरू, गणनाहरू, प्रस्तुतिहरू कानुनसम्मत छन् कि छैनन्, सिए, अडिटरलाई सर्टिफाई गराउने नियम छ ।

हाम्रोमा वित्तीय  विवरणमा हस्ताक्षर हेर्ने तर विचार नपढ्ने गरेको पाइन्छ । सर्टिफाई गर्नेको विचार पनि सँगसँगै हेर्नु उपयुक्त हुन्छ । लेखापरीक्षण  र समीक्षा गर्नेले दिएको रिपोर्ट एकसाथ अध्ययन नगरी त्यसमा संलग्नलाई दोष दिन वा गाली गर्न मिल्दैन । (धुव्र अधिकारी चाटर्ड एकाउन्टेन्ट हुन्)