NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

धनीलाई गरिब बनाएर कुनै पनि देश सम्पन्न हुँदैन

काठमाडाैं । तीन दशक लामो समय बैंकिङ क्षेत्रमा सक्रिय अनिल केशरी शाह हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  प्रशिक्षण विभाग प्रमुखको जिम्वेवारीमा छन् । ३१ वर्ष बैंकिङ क्षेत्रमा समय बिताएका शाहले १७ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्वेरीमा रहेर नेतृत्व समाले ।

सन् १९९१ देखि तत्कालीन ग्रिनलेज अहिलेको स्ट्याण्डर्ड चार्टर्डमा करिअर शुरु गरेका शाहले त्यहाँ १३ वर्ष काम गरे । त्यहाँ कार्यरत रहँदा उनी त्यहाँको ‘सेकेण्डम्यान’ सम्म बने । त्यसपछि उनी नविल बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरे ।

नबिल बैंकपछि उनले मेगा बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी समाले । पछि पुनः नविल बैंकमै फर्केर एक कार्यकाल सीइओ भएर बिताए ।

शाह सेलीब्रेटी बैंकरका साथै युवाहरुमाझ मोटिभेस्नल स्पीकरका रुपमा पनि चिनिन्छन् । उनी नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष, टिच फर नेपालका सल्लाहकार, अल नेपाल फुटबल एशोसिएसनका राष्ट्रिय सल्लाहकारसमेत हुन् ।

उनी आफू धनी बन्न चाहने तर अरु धनी भएको हेर्न नसक्ने खालका प्रवित्ति नेपालीहरुमा भएको बताउँछन् । ‘मैले आजसम्म एउटा पनि नेपाली भेटेको छैन, जसले म धनी हुन चाहाँदिन भन्ने । अधिकंश नेपाली धनी बन्न चाहन्छन् तर  धनीलाई चोर भन्छन् ।  आफू धनी हुन चाहने अनि भएको धनीलाई चोर भनेर के आफै चोर हुन चाहने हो ?’ उनले प्रश्न गरे । नेपालीहरुको यस्तो सोच परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।

आज मात्रै नभएर हरेक युगमा पैसा त्यतिकै महत्वपूर्ण छ । शाह पैसा कमाउने धेरै माध्यम देख्छन् । उनी आफैले पनि जागिर सुरु गर्दा तीन हजार पाँच सय तलबबाट सुरु गरेको सम्झिन्छन् । त्यसो त उनले जागिर खानैपर्ने त्यो पनि यति थोरै तलबमा कुनै बाध्यता थिएन । कारण उनी सम्पन्न परिवारबाट आएका व्यक्ति हुन् । उनका हजुरबुवा भिरकोटका राजा हुन् । उनले चाहेको भए त्यो भन्दा धेरै तलबमा जागिर पाउथे, या आफै लगानी गरेर बैंक नै सञ्चालन गर्न सक्थे । तर उनले त्यसो गरेनन् । एक साधारण व्यक्ति भएर इमान्दारितापूर्वक काम गरेर अहिले करौंडौ रुपैयाँ कमाउने व्यक्ति बन्न सफल भएका छन् ।

शाहसँगै पढ्ने साथीहरुको अवस्था फरक थियो, उनीहरु त्यही भिरकोट, कालिकोट, जाजरकोटबाट आएर एउटै कोठामा तीन/चार जना बसेर केरोसिन स्टोभमा पकाएर शंकरदेव, मिनभवनमा बिबिए, एमबिए गरे । सँगै जागिर पनि खाए । उनले भने, ‘हामीले तीस/एकतीस वर्ष जागिर खाँदै जाँदा उहाँहरुकै पनि एउटा घर छ,बच्चारु राम्रै स्कुल/कलेजमा पढेका छन्, बुवाआमाको स्वास्थ्य उपचार राम्रैसँग भइरहेको छ, एउटा साधन छ ।’

उनको अनुभवमा बैंकिङ क्षेत्र अरु क्षेत्रभन्दा बढी सुरक्षित छ । उनी भन्छन्, ‘मेरा साथीहरुसँगै त्यही गाउँबाट आएर पढेको मान्छे जो म्यानुफयाक्चरिङ, पर्यटन उद्योग या अरु कुनै उद्योगमा गए । आज पनि उहाँहरुको स्थिति खासै राम्रो छैन ।  सबै उद्योगलाई वित्तिय क्षेत्रजस्तै बनाउने हो भने जो नेपाली यो क्षेत्रभित्र प्रवेश गर्छ केही नभएको भएपनि तीस वर्ष काम गरेपछि आफ्नो परिवारलाई सुरक्षित राख्न सक्छ ।’

अर्को आफू के बन्न चाहने हो त्यसमा निश्चित हुनुपर्ने उनको धारणा छ । अरुको नक्कल गर्नेभन्दा पनि आफू कसरी अघि बढ्ने हो त्यो सोच्नुपर्ने उनले बताए । ‘अनिल शाहले वर्षमा करोड कमाउँदो रहेछ, यति बोनस खाँदो रहेछ, यो त्यो भन्नुपर्दा मैले त्यो भन्दा कसरी कमाउने भनेर विचार गर्नुपर्यो,’ उनले भने ।

शाह धनीबाट इर्षालु हुनुभन्दा केही सिक्नुपर्ने बताउँछन् । नेपाललाई विकास गर्ने हो भने धनीलाई गरिब बनाएर नभई गरिबलाई  धनी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने विचार राख्छन् । उनले भने ‘नेपालालाइै धनी बनाउने हो भने, धनीलाई गरिब बनाएर कुनै पनि देश धनी हुँदैन ।’

नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारिएको टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिशोडमा उनै शाहसँग बैंकर्स एशोसिएनका पूर्वअध्यक्ष भुवन दहालले  कुराकानी गरेका छन् ।