रवि लामिछानेले के भने संसदीय छानविन समितिमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग संसदीय बिशेष समितिले सोधपुछ गरेको छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालक हुँदा विभिन्न सहकारीको रकम दुरुपयोग गरेको आरोप उनीमाथि छ ।
सूर्य थापा नेतृत्वका बिशेष समितिले शुक्रबार उनीसँग लामो सोधपुछ गरेको हो । सोधपुछका क्रममा लामिछानले सहकारीबाट कम्पनीमा पैसा आएकोबारे आफुलाई जानकारी नभएको बताएका छन् । आफुले कम्पनीमा समाचार र प्रशासनिक काम मात्र हेर्ने भएकाले आर्थिक विषयमा जानकारी नभएको उनको प्रष्टीकरण छ ।
लामिछाने पनि ग्यालेक्सी टेलिभिजन चलाउने गोर्खा मिडियामा शेयरधनी तथा सञ्चालक थिए । त्यही समयमा कम्पनीमा विभिन्न सहकारीबाट करिब एक अर्ब कर्जा प्रवाह भएको थियो । लामिछानेको नाममा समेत कर्जा गएको प्रहरीका अनुसन्धानले देखाएका छन् । तर, उनले फर्म भने भरेर भने कर्जा लिएका छैनन् ।
आफ्नो व्यक्तिगत ब्रान्डका आधारमा सित्तमै शेयर लिएको र पछि पैसा नलिइकन गिरेन्द्रबाबु राईलाई नै शेयर दिएर बिदा भएको उनले बताएका छन् ।
सहकारी ठगीमा लामिछानेको समेत संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसद अवरोध गरी संसदीय छानविन समिति माग गरेको थियो । सोही आधारमा एमाले सांसद थापाको संयोजकत्वमा सो समिति बनाएको हो । समितिले छानविनलाई अन्तिम चरणमा पुर्याएको छ । शुक्रबार नै ग्यालेक्सी टिभीका पूर्वप्रबन्धक तथा पूर्वडिआइजी छविलाल जोशीसँग पनि सोधपुछ गरेको छ ।
उनीहरुको हकमा थप अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई सिफारिस गर्ने सम्भावना छ ।
प्रतिक्रिया