NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

कर्मचारीतन्त्र सुधारको साधक कि बाधक ?

काठमाडौं । नेपालमा राजनीतिदेखि कर्मचारी र ‘वाचडग’ हरू सबै किन आलोचित छन् ? नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र पुरुष ढकालको सरल उत्तर छ । किनभने हाम्रो प्रणालीमै स्वार्थ भित्रिदैं गयो । जुन राजनीतिबाट सुरु भएर कर्मचारीतन्त्रसम्म आयो ।

कर्मचारीतन्त्रभित्र युनियनहरू नहुँदासम्म एक किसिमको नियन्त्रणको व्यवस्था थियो । तर प्रजातन्त्र, गणतन्त्रको नाममा अनेक भाइ संगठनहरू स्थापित भए । त्यस्ता भातृ संगठनले पनि स्वार्थ नहेरेर व्यवासायिक रूपमा काम गरेको भए यस्तो अवस्था आउदैनथ्यो । तर यथार्थमा उल्टो भयो ।

कुनै समय वहालवाला प्रधानमन्त्रीलाई ‘छातीमा रौं भए हामीलाई कारवाही गर्नुहोस्’ भनेर पनि कर्मचारीले नै भनेका थिए । त्यस्तो बेलामा प्रधानमन्त्री नै निरीह भएर पनि बस्नुपर्यो । ढकालको अनुभवमा अब यो अवस्था रहेन । त्यसको मूल कारण राजनीति नै भएको उनको निचोड छ ।

‘जेसुकै भनेपनि कर्मचारीतन्त्र नियममा बाँधिएको समूह हो । अवैधानिक काम हामीले गर्न सक्दैनौं, गर्दैनथ्यौं र अहिलेकाले पनि गर्नुहुँदैन,’ नेपालवाचको नियमित भिडियो प्रस्तुती प्रशासनका कुरामा उनले भने, ‘जसले करकाममा गर्नुभयो उहाँहरूले त्यसको परिणाम भोगिरहनुभएको छ । त्यसैले प्रक्रिया विधिको परिवेशमा कर्मचारीतन्त्र बाँधिएको छ र त्यसको आफ्नै सीमा छन् ।’

उनको बुझाइमा राजनीतिले नै कर्मचारीतन्त्रलाई सुधारको बाधक बनाइरहेको छ । पछिल्लो समय मेलम्ची खानेपानी, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणमा निर्णय गर्ने राजनीतिज्ञहरू भन्दा कर्मचारीहरु मुद्दाको भागीदार भएको उदाहरण पेश गर्दै उनले यस्तो बताए ।

यस्तो प्रवृत्ति बढ्दा तेजनाव कर्मचारीहरू भित्रिएपनि त्रासको माहोलका कारण काम नै गर्न नसक्ने किसिमको वातावरण सिर्जना भइरहेको ढकालको बुझाइ छ । ‘बरु काम नगरेपनि जागिर चाहीं अडिएको अडियै हुने भयो । काम गरेपछि त सिद्धियो,’ उनले भने । यसलाई निरन्तरता दिइरहने हो भने कर्मशील व्यक्तिहरू कम हुँदै जाने र अकर्मण्यता बढ्दै जाने उनको चेतावनी छ ।

त्यसो भए सुधारको उपाय के हो ? यसको पनि उनले सरल उत्तर दिए । सुशासन ऐनको सही कार्यान्वयन, नैतिक शिक्षाको अवलम्बन गरेमात्रै पनि धेरै सुधार आउने उनको विश्वास छ ।

प्रशासनका कुराको १३ औं श्रृंखलामा ढकालसँग लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले कर्मचारीतन्त्र सुशासनको साधक हो कि बाधक भन्ने विषयमा छलफल गरेका छन् । दुईबीचको संवाद तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।