किन खस्किँदै छ निजामती कर्मचारीको इमान र निष्ठा ?
काठमाडौं । सरकारका निकायबाट हुने सेवा प्रवाहमा सबैभन्दा बढी आउने जनगुनासो हो, कर्मचारीको व्यवहार । उनीहरूले सेवाग्राहीलाई गर्ने व्यवहारले सिंगाे कर्मचारीतन्त्रभित्रको संस्कृतिमाथि नै प्रश्न खडा गरेको छ ।
कर्मचारीहरूको संस्कार विगतमा पनि यस्तै थियो ? या बनाइयो ? हामीले ०६९ सालको अन्तरिम चुनाव मन्त्रिपरिषद्मा संघीय मामिला, स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका पूर्व प्रशासक विद्याधर मल्लिकसँग यी विषयमाथि केन्द्रित रहेर छलफल गरेका छाैं । मल्लिक सार्वजनिक प्रशासन वृत्तमा एक कुशल प्रशासकका रूपमा परिचित हुनुहुन्छ ।
कर्मचारीतन्त्रको संस्कृतिले सेवा प्रवाह मात्रै नभएर जनताको धारणा पनि निर्धारण गर्छ । कर्मचारीले गर्ने व्यवहार, बोल्ने भाषाले कर्मचारीतन्त्रप्रतिको धारणा बन्छ र यो धारणा सामान्यतः राम्रो छैन ।
कर्मचारीतन्त्रलाई बलियो बनाउन ट्रेड युनियनहरुको ठूलो भूमिका हुने भए पनि अवस्था भने उल्टो भएको बताउँछन् मल्लिक । कर्मचारी संस्थाले कसरी बढी उत्पादन गर्छ र आफ्नो साख बचाउन सक्छ भनेर डो–याउनेतिर गएको भए आजसम्म धेरै सुधार भइसक्ने उनको भनाइ छ । दुर्भाग्यवश, युनियनहरू भोट बैंकमा मात्रै सीमित रहेको भन्दै उनले यसकाे सुढृढीकरणमा धेरै उपाय लुकेको बताए ।
अर्कोतर्फ कर्मचारीतन्त्रलाई जनताप्रति उत्तरदायी बनाउन सूचना प्रविधिको विकासमा जोडसँगै ‘डेलिभरी’ प्रति कानुनमार्फत नै उत्तरदायी बनाउनुपर्ने उनको सुझाव छ । सरकारी जागिरलाई मेवाजस्तै लिने प्रवृत्तिलाई चिर्नका लागि पनि ‘डेलिभरी’ दिए/नदिएको विषयलाई निजी क्षेत्रले जस्तै मापन गर्नुपर्ने उनको सुझाव छ । कर्मचारीमा जागिरबारे भएको ‘सेन्स अफ सेक्युरिटी’ ले ‘बढी गरे सरुवा त हो !’ भन्ने मानसिकतालाई भत्काउनैपर्ने उनको आशय थियो ।
लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीका भनाइमा नेताहरुले आफ्नो दृष्टिकोण सुधार्ने र राजनीति सुध्रिने हो भने यो संस्कृतिमा कायापलट हुन समय लाग्दैन । नेताहरूको प्राथमिकतामा भद्रगोल कर्मचारी सरुवा मात्रै पर्ने र स्थायित्व कायम गर्न यसले अवराेध गरेकाे उनको आरोप छ ।
मैनालीले बिचौलियाहरू पनि कर्मचारीतन्त्रको संस्कृति सुधारको बाधक रहेकाे औंल्याए । ‘जब हामी अनलाइनमा जान्छौं, बिचौलियाको कुनै अर्थै भएन,’ उनले भने, ‘सेवा लिने र सेवा दिनेबीच सिधैं सम्पर्क हुने भएपछि त बिचौलियाको काम हुने भएन ।’
प्रविधिको सुरक्षा सुनिश्चित हुन नसक्नु पनि अर्को समस्या भएको उनले बताए । पछिल्लो समय टिप्पणी उठाएको भरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मुद्दा खेप्नुपर्ने परिस्थितिले कर्मचारीहरू थप काम गर्न डराउने अवस्था आएको उनले सुनाए ।
(यो सामाग्री प्रशासनका कुराको ११ औं श्रृंखलाबाट तयार पारिएको हो । कार्यक्रमको पूरा भाग तलको लिंकमा हेर्न सक्नुहुनेछ ।)
प्रतिक्रिया