NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

यति कुरा बुझेर सेयरमा लगानी गरे पछुताउनु पर्दैन

चलखेल र इन्साइडर ट्रेडिङ रोक्न नियामक निकायले चाल्नुपर्ने कदम

पुँजीबजारमा इन्डेक्सको निर्धारण माग र आपूर्तिमा आधारित हुन्छ । माग र आपूर्तिलाई चाहिँ वस्तु (सूचीकृत कम्पनीको पफमेन्स) ले निर्धारण गर्छ । कम्पनीले लगानीकर्तालाई विगतमा कुनै प्रतिफल दिएको छ कि छैन, अब दिन सक्ने सम्भावना के छ ? नाफा हुँदा बाँडिएको छ कि छैन ? विश्लेषण गर्नुपर्छ ।

कुनै पनि कम्पनीले राम्रो प्रतिफल दिन देशको अर्थतन्त्र चलायमान हुनुपर्छ । मुलुकको अर्थतन्त्र शिथिल हुने, कम्पनी मात्रै चल्ने हुँदैन ।

यसबाहेक ख्याल गर्नुपर्ने अर्को तत्व पनि छ, लगानीकर्ताको धारणा । मान्छेका दृष्टिकोण अलग–अलग हुने भएकाले बजारमा आउने एउटै सूचनामाथिको बुझाइ दुई किसिमको हुनसक्छ । बजारको मूल्य निर्धारण यिनै कुराहरूले हुन्छ ।

अहिले पनि बजारमा दीर्घकालीन लगानीकर्तालाई राम्रो प्रतिफल दिने बैंकहरूको मूल्य बढेको छैन तर प्रतिफल नदिने, वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरूको सेयर भने उच्च अंकले उकालो लागेको छ । यसबाट सुस्पष्ट हुन्छ कि बजारको मू्ल्य कम्पनीको वित्तीय अवस्थितिले नभई अन्य कुराले निर्धारण गरिरहेको छ 

अहिले नेप्से इन्डेक्समा ठूलो उतारचढाव देखिएको छ । केही दिनअघि यो तीन हजार बिन्दुमा पुगेकोमा अहिले घटेर २ हजार ८०० हाराहारीमा आएको छ । तीन वर्षअघि पनि बजार ३ हजार २०० को बिन्दुमा पुगेर झर्दै झर्दै १ हजार ८ सयको हाराहारीमा ओर्लेको थियो । तर अर्थतन्त्रको वृद्धिदरमा भने खासै अन्तर देखिँदैन । अहिले पनि नेपालको अर्थतन्त्रको वृद्धिदर दुईदेखि चार प्रतिशतको बीचमा मात्रै छ ।

नेपालको पुँजीबजार अर्थतन्त्र अप्ठ्यारो स्थितमा छँदा सबैभन्दा माथि पुगेको छ । तीन वर्षअघि मात्रै नेप्से तीन हजार बिन्दुमा पुगेको थियो । त्यसअघि बजार १ हजार ८०० बिन्दुमा पुग्दा भने नेपालमा नाकाबन्दी थियो ।

हाम्रो बजारको चरित्र आधारभूत रूपमा बैंकको ब्याजदरसँग सम्बन्धित छ । हामीले पुँजीबजारमा लगानी गर्ने भनेको बचतबाट हो भनेर सिकेका थियौं । तर बजारमा बचतभन्दा पनि कर्जाबाट लगानी बढी हुने गरेको छ । त्यही भएर नेपालको पुँजीबजार अर्थतन्त्रसँग टाइअप हुन सकेको छैन ।

पुँजीबजार अर्थतन्त्रको ऐना बन्न विभिन्न थरीका कम्पनी जोडिएको हुनुपर्छ । तर हाम्रोमा त्यस्तो छैन । नेप्सेमा सूचीकृत कम्पनीमध्ये ८० प्रतिशत त बैंक र फाइनान्स छन् । पछिल्लो समय जलविद्युत् लगायत कम्पनी पनि आएका छन् । तर यी कम्पनीले बैंक र फाइनान्सलाई कब्जा गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मात्रै केन्द्रित गरेर भन्दा पनि समग्र क्षेत्रलाई आधार बनाएर नीति बनाइरहेको हुन्छ । त्यसको प्रभाव बजारमा देखिनुपर्नेमा त्यस्तो पाइँदैन । जसको प्रमुख कारण कम्पनी नहेरीकन लगानी गर्नु हो ।

अहिले पनि बजारमा दीर्घकालीन लगानीकर्तालाई राम्रो प्रतिफल दिने बैंकहरूको मूल्य बढेको छैन तर प्रतिफल नदिने, वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरूको सेयर भने उच्च अंकले उकालो लागेको छ । यसबाट सुस्पष्ट हुन्छ कि बजारको मू्ल्य कम्पनीको वित्तीय अवस्थितिले नभई अन्य कुराले निर्धारण गरिरहेको छ ।

हाम्रो बजारको मूल्य निर्धारण हुने बाहिरी प्रमुख तत्व हल्ला हो । कसैले बजार ५/६ हजारसम्म पुग्छ भनेको हुन्छ त कसैले घट्ने विश्लेषण गरिरहेको सुनिन्छ । लगानीकर्ताहरूले पनि अन्य पक्ष विश्लेषण नगरी यस्तै बजारु हल्लाको भरमा लगानी गरिरहेका हुन्छन् ।

अहिले बजारमा कम्पनीहरूमा लगानी गर्ने भन्दा ट्रेडर धेरै छन् । विश्वचर्चित लगानीकर्ता वारेन बाफेटले लगानीसम्बन्धमा भनेका छन्, एक चोटि सेयर किनेपछि पाँच वर्षसम्म ढुक्कले सुत ।’ तर हामीकहाँ एकचोटि सेयर किनेपछि मिनेट मिनेटमा मेरो सेयर के भयो भनेर हेर्ने चलन छ । त्यसैले ट्रेडिङ गर्नेहरूलाई फण्डामेन्टल विश्लेषण हेर्नुभन्दा हल्ला नै उपयुक्त लाग्छ ।

म हल्लाको पछि लाग्दिनँ, म यति टार्गेट पुर्याउँछ अनि बाहिरन्छु भन्ने मानसिकता बनाउनेले बजारबाट गुमाउने सम्भावना कम, कमाउने सम्भावना बढी हुन्छ ।

विकसित मुलुक या हाम्रा छिमेकी मुलुकतिर हेर्यो भने मार्केटमा संस्थागत लगानीकर्ताहरू पनि उत्तिकै सक्रिय छन् । हामीकहाँ संस्थागत लगानीकर्ता त्यो तहमा छैनन् । बजारमा भएका ६३ लाख लगानीकर्ता सबै साधारण लगानीकर्ताहरू हुन् । त्यस कारण ती साना लगानीकर्तामा आत्तिने र मात्तिने स्वभाव बढी हुन्छ । बजार बढ्यो भने ती हौसिएर दौडिन्छन्, घट्यो भने आत्तिएर बेच्न थाल्छन् । यसले पुँजीबजारमा अस्थिरता ल्याएको देखिन्छ ।
त्यसो त, बजारमा सामान्य अस्थिरता हुनु पर्छ नै । तर कम्पनीको आधारभूत विश्लेषण नै नहेरी लगानीकर्ता हल्लाको भरमा दौडनु हुँदैन । यसले घाटासँग जम्काभेट हुने खतरा रहन्छ । अहिले कम्पनीहरूको सेयर मूल्य विश्लेषण गर्दा जुन कम्पनीको वित्तीय अवस्था त्यति बलियो छैन, त्यहीँ कम्पनीको सेयर मूल्य कहाँबाट कहाँ पुगेको छ । ती कम्पनीले अबको चार/पाँच वर्ष कुनै प्रतिफल दिन सक्ने अवस्था नरहे पनि राम्रा प्रतिफल दिने कम्पनीको भन्दा चार/पाँच गुणा मूल्य बढी छ । अब त्यहाँ कसैले कम्पनी हेरेर लगानी गरेको भनेर कसले विश्वास गर्छ ?

लगानी गर्दा जान्नैपर्ने कुरा

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा धेरै कुरा हुन्छन् । लगानीकर्ताले सबै हेर्नुपर्छ भन्ने छैन । सर्वसाधारण लगानीकर्ताले ती सबै बुझ्न गाह्रो पनि हुन सक्छ । यद्यपि, कम्पनीले नाफा कमाएको छ कि छैन, कमाएको नाफा बाँडेको छ कि छैन, कम्पनीको प्रतिसेयर आम्दानी के छ र कम्पनीको मूल्य आम्दानी अनुपात कस्तो भनेर बुझ्न अपरिहार्य हुन्छ ।

बजारलाई चलाउने भनेको मान्छेको लोभ र डरले हो । डर बढी भयो भने डुबाइ कम हुन्छ, तर अहिले मानिसहरूमा लोभ बढी देखिन्छ । सामाजिक सञ्जालले मान्छेको लोभलाई झन् बढाइदिएको छ । यस अर्थमा कि सामाजिक सञ्जालमा विभिन्न सूचनाहरू आइरहेका हुन्छन् । त्यहाँ कसैले यो सेयरको मूल्य यहाँसम्म पुग्छ, यो कम्पनी राम्रो छ/छैन, कतिबेला किन्ने कतिबेला बेच्ने सबै सूचना छाइरहेको हुन्छ । यसले मानिसमा थप लोभ पैदा हुन्छ र यही सूचनामा विश्वास गरेर लगानीको निर्णय गर्छन् । जसको कारण आज पाँच सय पुगेको सेयर हजार पुगेपछि बेच्ने भनेर कसैले त्यही किसिमको मनस्थिति बनाउँछन् । यो निश्चित छैन । त्यो सेयर हजार पुग्छ या झरेर एक सय । त्यसले गर्दा लगानीकर्ता डुब्ने सम्भावना बढी हुन्छ । पुँजीबजारमा ९० प्रतिशतले गुमाउँछन् बाँकी १० प्रतिशतले मात्रै कमाउने हो । हामी त्यो १० प्रतिशतभित्र छिर्नु पर्यो ।

म हल्लाको पछि लाग्दिनँ, म यति टार्गेट पुर्याउँछ अनि बाहिरन्छु भन्ने मानसिकता बनाउनेले बजारबाट गुमाउने सम्भावना कम, कमाउने सम्भावना बढी हुन्छ ।

कर्नरिङ, पम्प एण्ड डम्प, भित्री कारोबार

‘पम्प एण्ड डम्प’को अर्थ सेयरको मूल्यलाई बढाउँदै लैजानु हो । यस्तो काम केही अमूक व्यक्तिहरूले गरिरहेका हुन्छन् । सेयरबजारमा सधैं कारोबार गर्न सकिने सेयर (लिक्युड स्टक) किन्नुपर्छ भनेर हामीले सचेत गरिरहेका हुन्छौं । तर कतिपय अवस्थामा कसैकसैले कारोबार देखाउन सेयर किनबेच गरिरहेका हुन्छन् । ती व्यक्तिहरूले उक्त सेयरको टार्गेट सेट गरेको हुन्छ । उनीहरूले विस्तारै लक्षित टार्गेटसमम पु-याउँछन्, त्यसपछि विस्तारै आफ्नो सेयर बेच्छन् । लगानीकर्ताहरू नियमित कारोबार हुने सेयर भनेर झुक्किन्छन् र त्यसमै झुम्मिन्छन् अनि सेयर किन्छन् । तर त्यहाँ अमूक व्यक्तिले सेयरलाई आफ्नो हिसाबले चलाइरहेको हुन्छ भन्ने लगानीकर्तालाई ज्ञान हुँदैन ।

यसरी भित्री कारोबार, पम्प एण्ड डम्प, कर्नरिङ गर्नेलाई धितोपत्रसम्बन्धी कसुर लाग्छ । तर यस्तो अवस्थामा पनि बोर्डले कारबाही गर्न नसक्नु चिन्ताजनक कुरा हो

कर्नरिङ भनेको कुनै पनि कम्पनीको सेयरलाई उठाउँदै लगेर जम्मा गर्दै जानु हो । आफूले जम्मा गरेको सेयर होल्ड गर्दै जाने र कुनै समयमा जब बजारमा उक्त कम्पनीको सेयर छैन भन्ने भएपछि आफूले होल्ड गरेको सेयरमा आफ्नो मूल्यमा फाल्दै जाने हो ।

कर्नरिङ विशेष गरेर ‘लो क्याप’ कम्पनीमा बढी हुने गरेको छ । उदारहणको लागि लघुवित्त । लघुवित्तमा ५/६ करोड कम्पनीहरू गएका हुन्छन् । ६० प्रतिशत प्रमोटर, ४० प्रतिशत पब्लिक कम्पनी । त्यसमा पनि ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचल फण्ड । त्यही भएको हुँदा ती कम्पनीहरूमा फ्लोड सेट कम हुन्छ । बजारमा ३० अर्बको कारोबार भएको छ भने दुई/तीन करोडको कर्नरिङ हुनु केही पनि होइन । सेयरमा ती खेलाडीहरूले सेयरलाई जम्मा गरेर एउटा बिन्दुमा लगेर आफ्नो अनुकूलमा मूल्य निर्धारण गरेका हुन्छन् ।

यसरी भित्री कारोबार, पम्प एण्ड डम्प, कर्नरिङ गर्नेलाई धितोपत्रसम्बन्धी कसुर लाग्छ । तर यस्तो अवस्थामा पनि बोर्डले कारबाही गर्न नसक्नु चिन्ताजनक कुरा हो । पहिलो कुरा त, अहिलेको बजार प्रविधिमा आधारित छ । बजारमा के भइरहेको छ, कसले चलखेल गरिरहेको छ भन्ने कुरा पत्ता लगाउने प्रविधिको माध्यमबाटै हो । तर हामीकहाँ अझै पनि प्रविधिको अभ्यास भएको छैन । म आफैं धितोपत्र बोर्डमा बसेर आएँ । धितोपत्र बोर्डमा अनुसन्धानको लागि आफ्नै आइटी सिस्टम छैन । स्टक एक्सचेञ्जको छ तर अपडेटिङ छैन ।

विदेशमा त्यस्तो हुँदैन । बाहिर निरन्तर रूपमा बजारमा कुनै पनि कम्पनीको अवस्था के छ भनेर चार्टमा राखेर हेरिरहेको हुन्छ । ती कम्पनीहरूको मूल्य गतिविधि हेरिरहेको हुन्छ । यदि कम्पनीको मूल्यमा अस्वाभाविक वृद्धि भयो भने कम्पनीले मूल्यमा तलमाथि गरेको कुरा त्यहाँ देखिन्छ । प्राप्त रिपोर्ट सम्बन्धित डिपार्टमेन्टमा पठाइन्छ । सम्बन्धित डिपार्टमेन्टबाट कम्पनीलाई प्रश्न सोध्ने, अनुसन्धान गर्ने कार्य हुन्छ ।

हाम्रोमा त्यो भइरहेको छैन । त्यसमा पनि अहिले धितोपत्र बोर्ड नेतृत्वविहीन छ । जुन बेला नियामक निकायको उपस्थिति बजारमा देखिनुपर्ने हो, त्यही बेला बोर्ड चुपचाप छ । केही गर्न नसके पनि स्टक एक्सचेञ्जले आफ्नो वेबसाइटमा भए पनि विज्ञप्ति निकालेर लगानीकर्तालाई सुसूचित गर्नुपर्ने हो तर त्यो पनि हुन सकेको छैन ।

नियामक निकायले भनेको कुरा बढी विश्वसनीय हुने भएकाले लगानीकर्ताले विश्वास गर्छन् । लगानीकर्ताले नियामक निकायबाट पाएको सूचनलाई आधार मानेर लगानी गर्ने हो भने जोखिमबाट बच्न सकिन्छ । तसर्थ नियामक निकायलाई सचेतचाहिँ बनाउनै पर्छ ।

पुँजीबजारलाई अर्थतन्त्रको ऐना बनाउन विभिन्न क्षेत्रका मान्छेलाई सेयर बजारमा ल्याउनुपर्छ भनेर धितोपत्र बोर्डले बुक बिल्डिङको प्रक्रिया अगाडि बढाएको थियो । तर पहिलो गाँसमै ढुंगा भनेझैं सेयरको मूल्यमा चलखेल भयो भनेर धेरैले भने । सर्वसाधारण ठगिए भन्ने गुनासो आयो ।

सर्वसाधारण लगानीकर्ताले बजारबारे बुझेको छैन भने एकैचोटि दोस्रो बजार प्रवेश नगरेकै राम्रो । सुरुमै जोखिम लिनुभन्दा म्युचल फण्डमा लगानी गर्नु राम्रो हुन्छ

तर मलाई के लाग्छ भने एक त हामी एउटा तहबाट अर्को तहमा जाँदैछौं, त्यसैले त्यसलाई स्थापित हुन समय लाग्छ । पुँजीबजार सूचनाको बजार हो । त्यही सूचनामा आधारित भएर ऐन/नियमको परिधिभित्र बसेर निर्णयहरू गर्ने हो । यदि त्यो निर्णय गलत छ भने फाइनस रिर्पोट ठीक नभएको पनि हुन सक्छ । त्यो अवस्थामा आइकनकै प्रतिनिधित्व बोर्डमा भएको हुँदा आएकनसँग बसेर समस्याको समाधान निकाल्न सकिन्छ ।
नियामक निकायले गरेका गलत निर्णय गलत छन् र सच्याउनु पर्ने छ भने कहाँनिर हो, भन्नुपर्यो । गाली गरेर मात्रै हुँदैन, कारणसहित सुझाव आयो भने नियामक निकाय चनाखो हुन्छ । सजग गराउने ठाउँमा गराउनुपर्छ । नियामक निकाय सबै कुरामा पोख्त हुन्छन् भन्ने पनि छैन । उनीहरूलाई निरुत्साहित गर्ने भन्दा उत्साहित गराएर सुझाव, सल्लाह दिइयो भने सच्याउनतिर लाग्छन् ।

नियामक निकाय कमजोर हुनासाथ त्यसको असर तलदेखि माथिसम्मै पर्न जान्छ । त्यसले प्रत्यक्ष रूपमा अर्थतन्त्रलाई प्रभाव पर्छ ।

इन्डेक्स घट/बढ कसरी हुन्छ ?

हाम्रो अल सेयर इन्डेक्स हो । यसमा आधारभूत रूपमा नेप्सेमा सूचीकृत सबै कम्पनीहरू पुँजीकरण भएको हुन्छ । बजार पुँजीकरण भनेको नम्बर अफ आउटस्टानडिङ सेयर मल्टिप्लाई त्यसको सेयर मूल्यले गुणा गरेर निकाल्छौं ।

इन्डेक्स निकाल्दा डे सेयरलाई मानिएको हुन्छ । ०५० सालको जेठलाई डे सेयर मानिएको छ । त्यो सेयरको इन्डेक्स र आजको इन्डेक्स मल्टिप्लाई १०० गरेर इन्डेक्स निकाल्ने हो । यसमा कारोबार हुने/नहुने सबै सेयर जोडेर चलायमन भइरहेको हुन्छ ।

त्यसैले बैंकिङ क्षेत्रमा हेर्यौ भने ५१ प्रतिशत प्रमोटर सेयर छ । उक्त सेयर नेप्सेमा कारोबार नभए पनि इन्डेक्समा देखाउँछ । भन्नुको तात्पर्य कारोबार नभए पनि उक्त सेयर कसै न कसैको हो ।

म लगानीकर्ता हो भने मैले हेर्ने फ्लोट इन्डेक्स हो । त्यो भनेको मार्केटमा कारोबार हुने सेयर । त्यसले कुन कम्पनीको सेयर कतिमा चलिरहेको छ भन्ने देखाउँछ । वास्तविक रूपमा बजार कसरी चलायमन भइरहेको छ देखाउँछ ।

इन्डेक्स बढेका बेला पनि कुनै–कुनै कम्पनीको सेयर घट्न सक्छ र घटेको बेला बढेको हुन्छ ।

लगानीको निर्णय

सर्वसाधारण लगानीकर्ताले बजारबारे बुझेको छैन भने एकैचोटि दोस्रो बजार प्रवेश नगरेकै राम्रो । जोखिम लिनुभन्दा अघि म्युचल फण्डमा लगानी गर्न सकिन्छ । जहाँ न्यून जोखिम हुन्छ । तर दुर्भाग्य हाम्रो म्युचुअल फण्डको संरचना बैंक र बीमामा केन्द्रित छ । त्यही कारण बजार घटेपछि आन्दोलन सुरु हुन्छ यहाँ । नबुझीकन लगानी गरियो, प्रतिफल आएन भनेर आन्दोलन गरेर पनि क्षतिपूर्ति सरकारले दिने त होइन । बजार बढाउने घटाउने उहाँहरूकै हातमा छ । उहाँहरू सबै मिलेर किने त बजार बढिहाल्छ नि ।

त्यसैले आधारभूत कुरा बुझेर लगानी गर्नुपर्छ । जोखिम लिन तयारी भएपछि मात्रै दोस्रो बजार प्रवेश गर्नु उपयुक्त हुन्छ ।

(गिरी धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक हुन्)