NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २७ गते

बैंकको ब्याजदर कसरी निर्धारण हुन्छ ?

काठमाडाैं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जाको ब्याजदर निरन्तर घट्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१ असारको तथ्यांकअनुसार निक्षेपको औसत ब्याजदर ५.७७ प्रतिशत रहेको छ, जबकि २०८० असारमा ७.८६ प्रतिशत थियो । निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि घटिरहेको छ । २०८१ असारमा कर्जाको औसत ब्याजदर एकल अंकमा झरेर ९.९३ प्रतिशत पुगेको थियो जबकि एक वर्ष अघि २०८०  असारमा १२.३० प्रतिशत थियो ।

राष्ट्र बैंकले प्रकाशित पछिल्लो तथ्यांकअनुसार साउनमा निक्षेपको औसत ब्याजदर ५.६६ प्रतिशतमा झरेको छ भने साउनमा कर्जाको औसत ब्याजदर थप घटेर ९.६८ प्रतिशतमा झरेको छ ।  भदौ, असोज तथा कार्तिकमा पनि बैंकहरुले प्रकाशित गरेको निक्षेप तथा कर्जाको ब्याजदर थप घटेको देखिन्छ।

कर्जा र निक्षेपको ब्याजदर माग र आपूर्तिले निर्धारण गर्दछ । अहिले बैंकिङ क्षेत्रमा प्रशस्त तरलता रहेको अवस्था छ। तरलता प्रशस्त हुँदा स्वभाविक रुपमा निक्षेप तथा कर्जाको ब्याजदर घट्छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा। डिल्लीराम पोखरेल अहिलेको अवस्थामा आपूर्ति पक्ष बलियो हुनु तर त्यसको तुलनामा कर्जाको माग अत्यन्त कमजोर हुँदा ब्याजदर घट्दै गएको बताउँछन् ।

बैंक तथा वित्तिय संस्थाको जुन तरिकाले ब्याजदर घट्दै गएको छ, त्यो अनुसार बैंकबाट प्रवाह हुने कर्जाको दर विगतको तुलनामा निकै नै कम छ । आर्थिक वर्ष ०८०र०८१ को असार मसान्तसम्मको तथ्यांकअनुसार ५१ खर्ब ६७ अर्ब १७ करोड कर्जा प्रवाह भएको देखिन्छ ।

विगत केही समयअघिदेखि देशको आर्थिक गतिविधिमा सुस्तता छाउँदा व्यापार व्यवसाय राम्रोसँग चल्न सकेको छैन । व्यापार व्यवसाय ठप्प हुँदा कर्जाको माग कम हुन जान्छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार मूलुकको दुई महत्वपूर्ण क्षेत्र उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक छ । साथै जिडिपीको ठूलो भार ओगट्ने होलसेल तथा रिटेल क्षेत्रको आर्थिक वृद्धिदर समेत न्युन छ ।

समग्र कर्जा प्रवाहमा सुस्तता आएपनि सेयर कर्जामा भने वृद्धि देखिएको छ । २०८१ को असार मसान्तसम्ममा कुल ९० अर्ब ९ करोड मार्जिन प्रकृतिको शेयर कर्जा प्रवाह भएको छ  त्यसअघिको आवको मसान्तमा ७६ अर्ब ५३ करोड कर्जा प्रवाह भएको थियो ।

नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका कारण आर्थिक गतिविधि पनि चलायमन हुन्छ । वस्तु तथा सेवाको खरिदबिक्री बढेसँगै कर्जाको माग पनि बढ्न सक्छ  । यसले ब्याजदरमा केही प्रेसर पर्न सक्छ ।

नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको नियमित टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा हामीले ब्याजर यसको प्रभाव, ब्याजदर र कर्जाको सम्बन्ध, सेयर कर्जालगायत विषयमा केन्द्रित रहेर कुरा गर्न खोजेका छौं  । यी विषयहरूमा केन्द्रित रहेर नेपाल बैंकर्स संघका पूर्व कार्यकारी निर्देशक भुवन दहालले मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलसँग गरेको कुराकानीको पूरा भिडियो :