कार्यवाहक वडाध्यक्षको लोभलाग्दो कृषिकर्म, माछापालन र तरकारी खेतीबाट मनग्य आम्दानी

हेटौंडा । चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३३ हजार ९४० ले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को लामो छ । वार्षिक आँकडा केलाउँदै जाने हो भने कुनै वर्ष केही हजारको सङ्ख्यामा तलमाथि भए पनि रोजगारीका लागि पलायन हुनेको सङ्ख्यामा खासै कमी आएको छैन । यद्यपि, स्वदेशमै केही गरेर आर्थिकस्तर सुधार्न सकिन्छ भन्ने विश्वास पनि जाग्न थालेको छ । स्वदेशमै श्रम गरे, राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखिन थालेका छन् ।
मकवानपुरका कृष्णबहादुर मोक्तान यस्तै एक उदाहरण हुन् ।
वैदेशिक रोजगारीमा जान निस्केका थाहा नगरपालिका–५ खोलाघारीका कृष्णबहादुर मोक्तान अहिले माछापालनबाट लखपति बनेका छन् । उनले ट्राउट माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका हुन् ।
माछापालनसँगै किबी र तरकारीखेतीमा व्यस्त भएर उनले वार्षिक लाखौं आम्दानी गर्दै आइरहेका छन् ।
विसं २०७७ देखि रू ६० लाख लगानीमा दुई रोपनी क्षेत्रफलमा ट्राउट माछापालनका लागि नौ खण्डको पोखरी निर्माण (रेसवे) गरेर उनले व्यावसायिक माछापालन सुरू गरेका हुन् । युनिक कृषि फार्म दर्ता गरेर उनले पाँच हजार रेन्बो ट्राउट र स्थानीयस्तरमा पाइने सात हजार असला माछापालन गर्दै आइरहेका छन् ।
कुनै समय काठमाडौंमा रहेर सवारी चालकका रूपमा काम गर्ने मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा थिए । मेडिकल गर्ने क्रममा उनमा जन्डिस देखिएपछि उक्त योजनाले मूर्तरूप लिन सकेन । त्यसपछि रोजगारीका लागि विदेशिने मनसाथ बदलेर उनी आफ्नै गाउँमा केही गर्ने हेतुले अघि बढे । “काठमाडौँमा सवारी चलाउँथेँ, नुवाकोटका एक जना दाइ र म सँगै काम गर्थ्यौं, उहाँकै सल्लाहमा आफ्नै गाउँ फर्केर कृषि कर्ममा लागेँ । काभ्रेमा माछापालनका लागि प्राविधिक ज्ञान लिएँ”, मोक्तानले भने ।
वि.सं. ०७४ को स्थानीय तहको चुनावमा वडा सदस्य जितेका मोक्तान पुनः वडा सदस्यमा चुनिए । हाल उनी कार्यवाहक वडाध्यक्ष छन् । वडाको जिम्मेवारीसँगै कृषि कर्मलाई सँगसँगै अगाडि बढाइरहेका छन् ।
यहाँको कर्मभूमि सामुदायिक वनबाट निस्केको मूलको पानी काठमाडौंको गोदावरीमा जाँच गर्दा ट्राउट माछापालनका लागि उपयुक्त भएकाले माछापालन सुरू गरिएको मोक्तानको भनाइ छ ।
आफैंसँग भएको केही रकम र सहकारीबाट ऋण गरेर ट्राउट माछापालन सुरू गरेका उनले रू एक हजार पाँच सय प्रतिकेजीका दरले यहाँको माछा बिक्री गर्दै आएका छन् ।
वार्षिक एक हजार सात सय किलो माछा उत्पादन गरी बिक्री गर्दै आएका मोक्तानले रू. २५ लाख बराबरको कारोबार गर्दै आएको बताए ।
सबै खर्च कटाएर वार्षिक १२ लाख बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।
यहाँ उत्पादन भएको माछा हेटौंडा, काठमाडौं र स्थानीयस्तर दामन, पालुङ र सिमभन्ज्याङमा खपत हुने गरेको छ ।
“बजारको समस्या छैन, उत्पादन गर्न सके बिक्री हुन्छ, प्रायः फार्ममै माछा लिन आउनुहुन्छ, माग भए बजार पनि पठाउँछौं” मोक्तानले भने । उनले सञ्चालन गरेको ट्राउट माछापालन र किबीखेतीको काममा तीन जनाले रोजगारी पाएका छन् ।
किसान मोक्तानले माछापोखरीबाट बगेको पानीलाई घट्ट चलाउन पनि प्रयोग गरेका छन् । भविष्यमा रिसोर्ट बनाएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहेका उनले स्थानीयस्तरमै उत्पादन भएको मकै, कोदो, फापर, माछा, सिस्नु र खोले सागको परिकार खुवाउने योजनाका साथ काम गरेका हुन् ।
यस्तै, उनले बाँझो र खेर गइरहेको आठ रोपनी जग्गामा हेवाड जातको किबी फल रोपेका छन् । तरकारीखेतीका लागि एक सय मिटरको पाँचवटा टनेल पनि निर्माण गरिएको छ ।
त्यस्तै २० रोपनी जग्गामा काउली, बन्दा, गाँजर मुला, आलुलगायत तरकारीखेती गर्दै वार्षिक रू ७ लाख बढी आम्दानी गर्दै आएका छन् ।
पछिल्लो समय मोक्तानले दामनमा रहेको बागवानीबाट एक सय २० बोट किबीको बिरूवा ल्याएर रोपेका छन् ।
गत वर्ष ३० किलो बढी किबी बिक्री गरेकोमा आगामी वर्षबाट पूर्ण रूपमा उत्पादन लिन सक्ने उनको विश्वास छ । उनीजस्तै मकवानपुरका उत्तरी क्षेत्रका किसान रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित भएका छन् । यहाँका किसानले आर्थिक उपार्जनका लागि माछापालनसँगै नगदेबाली लगाएर मनग्य आम्दानी गर्दै आएका छन् ।
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया