‘पर्खाल नाघेर छिमेकी पसे’

कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनयता बढाएको सक्रियाप्रति एमाले अध्यक्ष केपी ओली सशंकित बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने भूमिका खेलेर पाँचदलीय गठबन्धन भत्काउन सफल ओली सरकारले विश्वासको मत लिनुपूर्व कांग्रेस र भारतप्रति आक्रामक देखिएका छन् । सरकारलाई विश्वासको मत पुग्न नदिने खेलमा कांग्रेस र भारत लागेको ओलीको प्रस्टै संकेत छ ।
कांग्रेस सभापति देउवाले अचानक बढाएको सक्रियता, कांग्रेसकै प्रवक्ताको अभिव्यक्ति र सरकारलाई विश्वासको मत दिने–नदिने विषयमा त्यसैदिन निर्णय लिने कांग्रेस संसदीय दलको बैठकको निर्णयपछि ओली तर्सिएका हुन् । कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री दिन आनकानी गरेपछि एमालेसहितका दलहरूसँगको समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री भएका थिए । प्रचण्ड नेतृत्वको सरकारले २६ पुसमा संसद्मा विश्वासको मत लिने कार्यसूची तय भइसकेको छ ।
शनिबार राजधानीमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस विश्वासको मत लिनबाट असफल बनाउन लागिरहेको आरोप लगाए । एमाले सांसदहरूको अभिमुखीकरण कार्यक्रममा ओलीले सत्तारूढ दलका नेतालाई प्रधानमन्त्रीको लोभ र विभिन्न प्रलोभन देखाएर कांग्रेसले सरकारलाई विश्वासको मतमा असफल बनाउने प्रयास गरिरहेको ओलीको दाबी छ । तर, प्रयास सफल नहुने ओलीको भनाइ थियो ।
‘देउवाजीले ‘वि विल कमब्याक’ भन्नुभएको छ । त्यसको संकेत उहाँहरूले २६ पुसमा सरकार ढाल्छौँ र आउँछौँ भन्नुभएको हो । विभिन्न दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा गरिरहनुभएको छ,’ ओलीले भने, ‘संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा अरू विकल्पमा जाँदैन । ७६ (३) अनुसारको प्रक्रियामा त ठूलो दलको नेता प्रधानमन्त्री हुन्छ । अहिलेको राजनीतिमा संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । अब उहाँहरूको पाँच वर्षको धन्दा सरकारको विरोध र ढाल्नमा रहनेछ ।’
२० पुसमा पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले देउवाको भनाइ उद्धृत गर्दै भनेको विषयमाथि ओलीले टिप्पणी गरेका थिए । ‘हामी विश्वासमा गठबन्धन अगाडि जान्छ भनेर त्यसमै केन्द्रित भयौँ । सधैँ हामीले आकलन गरेजस्तो हुँदैन । त्यस्तैखाले परिस्थिति आयो, तर यसबाट हामी विचलित हुने कुरा छैन । ‘वि विल कमब्याक’ । हामी फेरि ‘स्ट्रोङ’ भएर अगाडि बढ्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै महतले भनेका थिए ।
ओलीको टिप्पणीपछि कांग्रेस प्रवक्ता महतले कांग्रेस चाँडै सत्तामा फर्कने दोहोर्याएका छन् । ‘वि विल कमब्याक भन्नुको अर्थ आज नै आँउछौँ भन्ने होइन । ढिलोचाँडो हामी सत्तामा त आउँछौँ नै । समयसीमा नै त अहिले भन्न सक्ने विषय होइन, त्यो हाम्रो सक्रियतामा पनि भर पर्छ,’ महतले शनिबार नयाँ पत्रिकासँग भने, ‘सरकारले विश्वासकोे मत पाउने–नपाउने त राष्ट्रपतिलाई बहुमतको हस्ताक्षर बुझाएका पार्टीमा भर पर्छ । त्यसमा हाम्रो कुनै भूमिका रहनेछैन, हामीले कुनै खेल खेलेका छैनौँ ।’
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया