तीन सय विभूषण रद्द गर्दै सरकार

घोषणा भएर पनि वितरण नभएका करिब तीन सय विभूषण सरकारले रद्द गर्ने भएको छ । त्यस्ता विभूषण रद्द गर्दा करिब दुई करोड रुपैयाँ बचत हुने गृह मन्त्रालयले जनाएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएका विभूषण लामो समयसम्म उनीहरूले लिएका छैनन् । विभूषण छनोट निष्पक्ष र पारदर्शी नहुँदा यसको ओज नै घटेपछि अस्वीकार गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसरी अस्वीकार गरिएका विभूषण रद्द गर्न लागिएको हो ।
एक वर्षभन्दा धेरै समय भएर पनि लिन नआएका विभूषण रद्द गर्ने विषयमा प्रक्रिया अघि बढेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । गृहले विभूषण नियमावली संशोधन गरी यसरी रद्द गरिएका विभूषण पुनः प्रयोग गर्ने प्रावधान राख्न लागेको छ ।
त्यस्ता विभूषणमा सुन प्रयोग हुने भएकाले राज्यको ठूलो लगानी छ । तीन सय विभूषण रद्द गरी त्यसलाई पुनः प्रयोग गर्दा करिब दुई करोड रुपैयाँ बचत हुने गृहको आकलन छ । गृहले विभूषण नियमावली संशोधनका लागि कानुन मन्त्रालयमा मस्यौदा पठाएको छ ।
एक वर्षसम्म पनि विभूषण लिन नआएमा रद्द हुने प्रावधान अहिले पनि छ । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । अर्काेतर्फ रद्द गरेपछि त्यस्ता विभूषण के गर्ने भन्ने प्रावधान छैन । नियमावली संशोधन गरी रद्द गरिएका विभूषणको सुनलगायतका सामग्री नयाँ बन्ने विभूषणमा प्रयोग गर्न लागिएको हो ।
हरेक वर्ष विवादित व्यक्तिहरूलाई समेत दिन थालिएपछि छनोटको निष्पक्षताप्रति प्रश्न उठाउँदै कतिपयले लिने गरेका छैनन् । त्यस्ता विभूषण गृह मन्त्रालयमै थन्किएका छन् । विभूषण नलिनेमा कलाकार तथा खेलाडीको संख्या ठूलो छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया