पुराना ल्यापटप भित्राएर नयाँ मूल्यमा बिक्री

काठमाडौं । विदेशमा धेरै पटक प्रयोग गरेर थन्काइएका वा थोत्रा ल्यापटप तथा डेस्कटप कम्प्युटर नेपाल भित्र्याएर यहाँको बजारमा नयाँकै मूल्यमा बिक्री गरिएको भेटिएको छ । बिग्रिएका वा प्रयोगपछि पुनः नवीकरण गरिएका रिफर्बिस्ड (उपकरण नवीकरण गरिएका) डिभाइसलाई प्रिमियमका रूपमा उच्च मूल्यमा बेच्ने गरिएको पाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको ल्यापटप तयार गर्न प्रयोग गरिने मुख्य पार्टपुर्जा, ल्यापटप तथा डेस्कटपसहित ५ सय ५० थानको प्राविधिक जाँचपछि यस्तो खुलासा भएको हो ।
नियन्त्रणमा लिइएका सबै ल्यापटपसहितका बेर बोल्ड्स जफत गर्ने अन्तिम तयारी गरिएको विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले जनाए । भन्सारले सनसाइन इलेक्ट्रोनिक र एसआरपीसी टेक्नोलोजी प्रालि, ललितपुर तथा कौशिका इन्टरनेसनल काठमाडौंले दुबईबाट आयात गरेका ल्यापटपको गुणस्तरमा शंका लागेपछि नियन्त्रणमा लिएर प्राविधिक छानबिन गरेको थियो ।
पाँच महिनाअघि नियन्त्रणमा लिइएको सामानको गुणस्तर जाँचका लागि समिति गठन गरिएको भन्सार प्रशासक पोखरेलले बताए । अनुसन्धानको निष्कर्षअनुसार अन्तर्राष्ट्रिय बजारमा नाम चलेको एसपी र डेल कम्पनीका पुराना ल्यापटपलाई नयाँ प्याकिङ र मूल्यमा आयात गरेर बिक्री गरिँदै आएको खुलेको छ ।
नेपाली बजारमा आई–३, आई–५, आई–७ मोडेलका एचपी र डेल ल्यापटप चल्तीमा छन् । यी ल्यापटप मोडलअनुसार ४० हजारदेखि तीन लाख रुपैयाँसम्म बजारमा बिक्री हुने गरेका छन् । विदेशबाट सेकेन्ड–ह्यान्डमा किनिएको ल्यापटपलाई नेपाली उपभोक्ताले भने नयाँकै मोल तिर्नु परिरहेको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागको समेत प्राविधिक जाँच पूरा भएपछि यी ल्यापटप पुराना भएको थप पुष्टि भएको हो । प्राविधिक रूपमा भएको जाँचपछि बजारमा यस्ता ल्यापटप किनेर उपभोक्ता ठगिँदै आएको प्रमाणित भएको भन्सारका अधिकारीहरूले जनाए । काठमाडौं नयाँ सडकका एक ल्यापटप विक्रेताका अनुसार नेपालका ग्राहकले सस्तो खोज्ने चलन भएकाले त्यस्ता सामान आयात हुने गरेको प्रस्ट्याए । ‘यस्ता सामान आयात भइरहेका छन् । यो रोकिँदैन । किनकि यसरी नै चल्दै आएको छ,’ ती विक्रेताले भने ।
बयानका क्रममा आयातकर्ताले नै नेपाली बजारमा धेरै ल्यापटप तथा डेस्कटप यसरी नै भित्रिने गरेको खुलासासमेत गरेको अनुसन्धानमा संलग्न भन्सार अधिकारी बताउँछन् । आयातकर्ताकै भनाइमा विदेशमा प्रयोगविहीन भएर फ्याँक्ने अवस्थाका ल्यापटपलाई पार्टपुर्जा हेरफेर, म्यानुफ्याक्चर र ग्यारेन्टी मिति परिवर्तन गरेर नयाँ प्याकेजिङसहित ब्रान्डेड मूल्यमा बिक्री गरिँदै आएको छ । रिफर्बिसिङ अन्य देशमा निकै प्रचलनमा रहे पनि त्यस्ता डिभाइसको मूल्य नयाँसरह लिनु गलत हो । भन्सार प्रशासक पोखरेलले सामानको कुल मूल्य भने मूल्यांकन भइरहेको बताए ।
अनुसन्धान अधिकारीहरूका अनुसार बजारमा रिफर्बिस्ड डेस्कटपभन्दा ल्यापटप धेरै संख्यामा बिक्री हुँदै आएको पुष्टि भएको छ । यस घटनापछि ल्यापटप र डेस्कटप पाँच महिनादेखि विमानस्थल भन्सारबाट आयात भएको छैन । त्यसैले पनि विगतमा सेकेन्ड ह्यान्ड ल्यापटप तथा डेस्कटप कम्प्युटर सहज रूपमा भित्रिएर उपभोक्ताको हातमा पर्ने गरेको अधिकारीहरूको अनुमान छ । अहिले बजारमा ल्यापटप अभाव नभएकाले त्यस्ता आयातकर्ताले कुनै न कुनै नाकाबाट आयात गरिरहेको हुन सक्ने भन्सार अधिकारीहरूको अनुमान छ । ‘बजारमा जति ल्यापटप छन्, सबै ब्रान्डेड होइनन्,’ ती व्यवसायीले भने, ‘अहिले पनि कुनै न कुनै नाकाबाट यस्ता ल्यापटप भित्रिरहेका छन् ।’
यस घटनाले बजारमा इलेक्ट्रोनिक सामानको पनि अनुगमन गर्नुपर्ने देखिएको भन्सार प्रमुख प्रशासक पोखरेल बताउँछन् । ‘भन्सारले पनि नांगो आँखाले सबै ठम्याउन नसक्ने भएकाले उपभोक्ता हितको काम गर्ने निकायले बजारमै अनुगमन गर्नुपर्छ,’ उनले भने । त्यस्ता मालवस्तुको अनुगमन गर्न सकिने भए पनि दक्ष जनशक्तिको अभाव रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया