टर्की भूकम्पको इपिसेन्टरमा नेपाली विद्यार्थी

काठमाडौं । टर्कीको गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेख होस्टलको भुइँतलामा सुतिरहेका थिए । सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएपछि दौडिएर बाहिर निस्किए, त्यतिखेर हिउँ परिरहेको थियो ।
‘पहिलो झड्कामा ३५–४० सेकेन्ड जोडले हल्लायो, त्यसपछि कुदेर बाहिर निस्कियौं । शरीरमा एकसरो मात्रै लुगा थियो,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘एकछिन हल्लाउन छाडेपछि हत्तपत्त कोठाभित्र छिरेर आपत्कालीन ब्याग निकालेँ । कतिपय साथी भित्र जानै पाएनन् ।’
यस विश्वविद्यालयको होस्टलमा ५ हजार विद्यार्थी बस्थे । बिदा भएकाले करिब चार हजार विद्यार्थी घर गएका थिए, सकिल भने त्यहीं थिए । उनीहरू बसेको होस्टलबाट १० किलोमिटर टाढा रहेको सहर गाजिन्यान्टेपलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पले विश्वविद्यालयका पर्खाल भत्किएका छन् । होस्टल भवन चर्किएको छ ।
‘अहिले मसहितका विद्यार्थीलाई नजिकैको म्युजियममा ल्याएर राखिएको छ । यो म्युजियम पूर्ण भूकम्पप्रतिरोधक हो,’ सकिलले भने, ‘बाहिर बस्ने अवस्था छैन । यहाँ वरिपरिका मान्छे पनि आएर बसेका छन् ।’ सोमबार दोस्रो पटक दिउँसो २ बजे पनि ७.५ म्याग्निच्युडको भूकम्प गएको उनले सुनाए । त्यतिखेर उनी म्युजियमभित्रै थिए । ‘बिहान नगरपालिकाले नास्ता ल्याएर दियो, खानाको पनि चिन्ता छैन,’ उनले भने, ‘म्युजियमभित्र बिजुली र इन्टरनेटको व्यवस्था छ । नेपालमा बुबाआमासँग नियमित सम्पर्क भइरहेको छ ।’
सकिल तीन वर्षदेखि इलेक्ट्रिकल इन्जिनियर पढिरहेका छन् । उनीसँग तीन नेपाली विद्यार्थी पनि सम्पर्कमा छन् । ‘पाल्पाकी मारिया शाह नर्सिङ पढ्छिन्, नेपालगन्जका नूर उच्च माविको पहिलो वर्षमा अध्ययनरत छन्, अर्का साथी पनि सम्पर्कमा छन्,’ उनले भने, ‘हामी एउटै सहरको अलगअलग सेल्टरमा छौं ।’ टर्कीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पर्कमा चार विद्यार्थीबाहेक तीन जना घरेलु महिला कामदार पनि सम्पर्कमा आएका छन् । उनीहरू सबै सकुशल छन् । ‘भूकम्पको इपिसेन्टरमा ठूलाठूला भवन भत्किएको खबर छ । धेरै मानिस हताहत भएका छन् । सयौंको संख्यामा घाइते छन्,’ सकिलले भने, ‘अहिलेसम्म नेपाली परेको खबर छैन ।’
एनआरएनए टर्कीका महासचिव विनोद श्रेष्ठले गाजियान्टेपमा घरेलु कामदारका रूपमा रहेकी कुसुम राईको टोलीसँग सम्पर्क गरेको बताए । ‘उनीहरू सेल्टरमा सुरक्षित छन् । तीन जना एकै ठाँउमा छन्,’ उनले भने । उनका अनुसार भूकम्पबाट प्रभावित क्षेत्र युरोपको ग्रिस छिर्ने नाकाको बाटोभन्दा फरक ठाउँ हो । दुबईबाट इरान हुँदै इस्तानबुलबाट युरोप छिर्न टर्कीलाई नेपालीले ट्रान्जिट देशका रूपमा प्रयोग गरिरहेका छन् । ‘ऐतिहासिक, पर्यटन र खेतीपातीको काम गर्ने हिसाबले साम्ले उर्फामा नेपाली हुन्छन् । यो चिसो मौसम भएकाले खेतीपाती र चिया बगानमा काम हुँदैन । होटल पनि बन्द हुन्छ । गाजियान्टेपमा भने घरेलु कामदार छन्,’ उनले भने, ‘यस्तो बेला भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीसँग सम्पर्क बढाउने प्रयासमा छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया