NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

दोमनमा प्रचण्ड

काठमाडौं ।  एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई अहिले सबैभन्दा त्रास एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै छ ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि दाहालको मनोबल बढेको देखिन्छ तर उनी न कांग्रेससँग निकट हुन सकेका छन्, न एमालेबाट टाढा हुन सक्ने अवस्थामा छन् ।

एमालेलाई नचिढ्याई कांग्रेससँग समदूरी राख्न खोज्दा दाहाल ‘दुई डुंगामा खुट्टा’ राखेजस्तो हालतमा छन् । एमालेको त्रास र कांग्रेसको आसमा अघि बढ्नु दाहालका लागि सहज भने छैन । कांग्रेसले समर्थन गरेपछि दाहालले एउटै तीरले दुई सिकार गर्न खोजेका छन् । पहिलो, एमालेलाई ‘साइज’ मा राख्ने । दोस्रो, आफ्नो अनुकूल राष्ट्रपति बनाउने । एमालेको बलमा प्रधानमन्त्री भएका उनी कांग्रेसको बलमा ‘आफ्नो अनुकूल’ राष्ट्रपति चयन गर्ने रणनीतिमा छन् । तर, कांग्रेसले आफ्नै दलको नेतालाई राष्ट्रपतिमा अघि सारेको अवस्थामा दाहालले चाहेअनुसार हुने छैन । एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बनाउनुपर्ने दबाब दिइरहेका बेला दाहालले भने कांग्रेससित हात बढाएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले कांग्रेसले विश्वासको मत दिएपछि दाहालमा दोमन देखिनुको कारण बाह्य शक्तिको प्रभाव हुन सक्ने बताए । ‘प्रधानमन्त्रीजीले पूर्वप्रेमिकाजस्तै कांग्रेसतिर मन फर्काउनुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीमाथि भूराजनीतिक दबाब पनि हुनुपर्छ, त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेको हुन सक्छ ।’

कांग्रेसले सरकारलाई विश्वासको मत दिनु नयाँ गठबन्धनमा अविश्वास सिर्जना गर्ने रणनीति भएको उल्लेख गर्दै केसीले दाहालले ‘दुई डुंगामा खुट्टा राख्नु’ घातक हुने बताए । ‘कांग्रेसलाई समेत विश्वासमा लिएर सरकार चलाउँछु भन्नु जोखिम हुन्छ, यो दुई डुंगामा खुट्टा राखेजस्तो हो, यस्तो यात्रा जोखिमपूर्ण हुन्छ,’ उनले भने । एमालेसहित सत्ता गठबन्धन बनेको एक महिना नपुग्दै आशंकाको बीजारोपण भइसकेको थियो । नागरिकता पुनः प्राप्ति गर्न कानुनी प्रक्रिया नअपनाएको भन्दै सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि गठबन्धनभित्रको विवाद सार्वजनिक भइसकेको छ ।

के गृह विवाद दाहालका लागि पुरानो गठबन्धन (कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा) ब्युँताउने मौका हो ? एमालेका कतिपय नेताहरू दाहालले गठबन्धन भत्काउने मौका खोजिरहेको आशंका गरेका छन् । एमाले नेताहरूले गठबन्धनभित्रको विवाद समाधान गर्ने मुख्य जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहालको काँधमा रहेको बताइसकेका छन् । एमालेका नेताहरूले प्रधानमन्त्री दाहालले दोमन बनाएर हिँडेको आरोप लगाएका छन् । ‘प्रचण्डजीले आफू कुन बैसाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो भन्ने भुल्न थाल्नुभएको छ, पुस २६ मा कांग्रेसले विश्वासको मत दिएपछि उहाँ दोमनमा बस्नुभएको छ,’ ती नेताले भने ।

दाहालले गठबन्धनको विकल्प खोज्नु गैरराजनीतिक नैतिकता भन्दै एमालेभित्र प्रश्न उठेको छ तर एमाले नेताहरू खुलेर आलोचना गर्ने अवस्थामा छैनन् । दाहाललाई फकाएर राष्ट्रपति पद आफ्नो पक्षमा पार्ने रणनीतिमा अध्यक्ष ओली छन् । ओलीले आफूनिकट नेताहरूसँग भने दाहालको चर्को आलोचना गर्न थालिसकेका छन् । रवि लामिछानेको नागरिकताबारे पूर्णपाठ नआई गृह मन्त्रालय दिन नसकिने दाहालको भनाइप्रति पनि ओलीले ‘त्यो किन चाहियो ? कण्ठ गर्न ?’ भन्दै टिप्पणी गरिसकेका छन् । कान्तिपुरमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष