NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्‍याइए तीन नेपाली

क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्‍याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्‍याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् ।

काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन पुर्‍याएको पीडित युवाहरूले अनलाइनमार्फत नयाँ पत्रिकालाई बताए । विक मनमैजु थ्री स्टार होटेलका सञ्चालक हुन् । विकलाई १० लाख र करिब पाँच लाख भारतीय तथा स्थानीय एजेन्टलाई भुक्तानी गरेको पीडितहरूको भनाइ छ ।

क्रोएसिया लैजाने भन्दै उनीहरूलाई प्रतिनिधिसभा निर्वाचनको भोलिपल्ट काठमाडौंबाट हिँडाइएको थियो । काठमाडौंबाट सडकमार्ग हुँदै मुम्बई पुर्‍याइएका उनीहरूलाई १० दिन त्यहाँ राखेर १६ डिसेम्बरमा माल्दोभा (युक्रेनको छिमेकी मुलुक) उडाइयो । माल्दोभाको ट्रान्जिट भिसा पाएको र त्यहाँ झरेपछि ट्याक्सी चढेर दुई घन्टामा युक्रेन पुगेको पीडितहरूले बताए । उनीहरूका अनुसार विकले युद्धको समस्या देखाएर युक्रेनबाट कोएसिया प्रवेश गराउने आश्वासन दिएर पठाएका थिए ।

अवैध प्रवेश भन्दै २३ जनवरीमा स्थानीय आर्मीले उनीहरूलाई पक्राउ गर्‍यो । विद्यार्थी भिसाको सबै कागजपत्र हुँदाहुँदै पनि आर्मीले पक्राउ गरेर ‘युरोप फरार भएको’ केसमा कारबाही गरेको उनीहरूले बताए । आर्मीले उनीहरूको रेसिडेन्ट पर्मिटसमेत खारेज गरिदिएको छ । त्यति मात्र होइन युक्रेनको अदालतले ३० दिनभित्र मुलुक छाड्न आदेश दिएकोमा अल्टिमेटमको समय सकिइसकेको छ । अब प्रहरीले पक्राउ गरे जेल जानुपर्ने त्रास रहेको युवाहरूले बताए ।

‘अदालतले युक्रेन छाड्न दिएको ३० दिनको समय पनि घर्किसक्यो । नछाडे जेल हाल्ने चेतावनी पनि दिएको थियो । तर, यो देश छाड्न अन्तर्राष्ट्रिय उडान पनि रद्द छ, सीमा जोडिएका अन्य मुलुकले प्रवेशाज्ञा पनि दिँदैनन्,’ अलपत्र एक युवाले भने, ‘कुनै पनि दिन प्रहरीले समात्ने र जेल हाल्ने जोखिम उच्च छ । हाम्रो उद्धार गरियोस् ।’ माल्दोभाले १९ जनवरीदेखि युक्रेनमा रहेका कुनै पनि साउथ एसियन मुलुकका नागरिकलाई प्रवेशाज्ञा दिएको छैन । हाल उनीहरू युक्रेनको पनि जोखिमपूर्ण सहर किभमा छन् । त्यहाँ कुनै पनि समयमा रुसले आक्रमण गर्ने त्रास छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष