केही आवाजहरू सुन्नेवित्तिकै किन चिडचिडापन हुन्छ ?

एजेन्सी । तपाईंले मेट्रो, बस वा अटोमा यात्रा गर्दा धेरै पटक हेडफोन लगाएका मानिसहरू देख्नुभएको होला। पक्कै पनि यसमा कुनै नौलो कुरा छैन ।
तर के त्यसो गर्नु कसैको बाध्यता हुन सक्छ ? २८ वर्षीया मार्गोट नोएलका लागि हेडफोन लगाउनु बाध्यता हो र उनले आफ्नो सुरक्षाका लागि यो गर्छिन् ।
मार्गोट नोएललाई मिसोफोनिया छ । सरल भाषामा बुझ्ने हो भने यो एक डिसअर्डर हो । जसमा सामान्य आवाजले पनि व्यक्लिाई रिस उठ्छ ।
यस्तो अवस्थाबाट पिडित व्यक्ति अचानक रिसाउने तथा डराउने गर्छन् । मिसोफोनिया भएका व्यक्तिमा यस्तो ध्यवनीले मस्तिष्कसँग जोडिएको इन्द्रियलाई निकै सक्रिय बनाउँछ ।
मिसोफोनिया डिसअर्डरबाट ग्रसित व्यक्तिलाई आफ्नो वरपर भएका व्यक्तिले श्वास फेर्दा, खाना चपाउँदा वा कुनै वस्तुको आवाज निकाल्दा समेत रिस उठ्छ ।
मिसोफोनिया के हो ?
मिसोफोनिया स्नायु प्रणालीको एक डिसअर्डर हो । जुन व्यक्तिको रिस, चिन्ता र घृणासंग सम्बन्धित छ । बोलिचालीको भाषामा यसलाई ध्वनि वा कुनै आवाजप्रतिको घृणा भन्न सकिन्छ ।
मिसोफोनिया भएका व्यक्तिलाई केही आवाजहरू र तिनीहरूसँग सम्बन्धित चीजहरूले उनीहरूको सहनशीलतामा ह्रास ल्याउँछ । जसले गर्दा व्यक्तिलाई अत्यधिक रिस उठ्ने र नर्भस हुने समस्या देखिन्छ ।
यस्तो अवस्थामा व्यक्तिको मस्तिष्कको अलार्म प्रणाली मानिने अमिडगडालाई जगाउँछ । अमिग्डालाले खतराको संकेत दिनेवित्तिकै एड्रेनल ग्रन्थी र कोर्टिसोल हर्मोनले प्रतिक्रिया दिन थाल्छन् । यो डिसअर्डर मस्तिष्क वा मनोविकृतिसँग सम्बन्धित हुनसक्ने अनुसन्धानकर्ताहरू बताउँछन् ।
किंग्स कलेज लन्डन र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनमा यो डिसअर्डर बेलायतका १८.४ प्रतिशत व्यक्तिमा देखिएको पत्ता लगाएका छन् ।
यसको मतलब लगभग पाँच मध्ये एक जनामा यो समस्या देखिन्छ । यो समस्याबाट पीडित व्यक्तिहरू कसैले चपाएको, घुरेको आवाजहरूबाट चाँडै ट्रिगर हुन्छन्।
कतिपयमा यस्तो समस्या भएका मानिसहरूले एक्लो महसुस गर्ने गरेको भ्रम पनि छ । तर लेखक डा. सिलिया भिटोराटो भन्छिन्, ‘मिसोफोनिया भएका मानिसहरू प्रायः एक्लो महसुस गर्छन्, तर वास्तविकतामा त्यस्तो हुँदैन ।’
मिसोफोनियाले परेको प्रभाव
केन्टकी ओलाना टन्सले ह्यान्ककलाई ८ वर्षको उमेरदेखि मिसोफोनियाको लक्षण देखिएको हो। उनी भन्छिन्, ‘मलाई खाएको आवाज, श्वास फरेको आवास वा कागजबाट निस्केको ध्वनीले ट्रिगर गर्छ ।’
‘यी आवाजहरू सुन्ने बित्तिकै म तिनीहरूलाई तुरुन्तै रोक्न चाहन्छु वा त्यहाँबाट टाढा जान चाहन्छु। म लामो समयदेखि सिनेबाट टाढिएँ। मैले तीन महिनामै जागिर छोडेँ । तर बिस्तारै मैले यसलाई कसरी सामना गर्ने भनेर बुझें र मैले इयरफोन लगाउन थाले,ं’ ओलाना भन्छिन्।’
के भन्छन् विज्ञ ?
विज्ञहरूका अनुसार मिसोफोनियाले मानिसहरूसँगको अन्तरक्रिया र सम्बन्धमा गहिरो प्रभाव पार्छ।
लक्षण देखिएका बालबालिकामा विद्यालयमा पढ्दा बानी प्रभावित हुने र विद्यालय जान हिच्किचाउने गरेको पाइएको छ । यस्तो अवस्थामा अर्को व्यक्तिसँग समय बिताउनु चुनौतीपूर्ण हुन्छ ।
उनीहरू अन्य व्यक्तिबाट आउने यी आवाजहरू सहन सक्दैनन्। जब तिनीहरूले यो कुरा दोस्रो व्यक्तिलाई बताउँछन उनीहरु यो समस्याबाट पूर्ण अनविज्ञ हुन्छन् र समस्या बुझ्न सक्दैनन्।
यस्तो अवस्थामा यो समस्यासँग लडिरहेका व्यक्तिको अर्को व्यक्तिसँग मनमुटाव वा झगडा पनि हुन सक्छ। अमेरिकामा मिसोफोनिया थीम पोडकास्टका होस्ट अदिल अहमदलाई पनि यस्तै समस्या छ ।
‘कहिलेकाहीं हामी यस्तो बिन्दुमा पुग्छौं जहाँ हामी आफ्नै आमाबाबुबाट टाढा हुन्छौं किनभने उनीहरूले थाहा पाउँदैनन् कि उनीहरूले जानेर वा नजानेर आवाज निकाल्दा हामीलाई समस्या हुन्छ,’ उनीले बीबीसीसँग भनेका छन्।
अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता डा जेन ग्रेगरीका अनुसार यो रोगबाट पीडित अधिकांश मानिसमा ‘ फाइट या फ्लाइट ’ को व्यवहार देखिन्छ । यस्तो अवस्थामा समस्यासँग कि जुध्ने कि टाढिने व्यवहार देखिन्छ ।
न्युक्यासल युनिभर्सिटीका डाक्टर सुखबिन्दर कुमारले बीबीसीसँगकाे कुराकानीमा भनेका छन्, ‘मिसोफोनियाका बिरामीहरूले यस्तो आवाज सुन्दा अचानक सक्रिय हुन्छन्। उनीहरू रिसाउन थाल्छन्। यी आवाजहरू सामान्य देखिने भए पनि मिसोफोनियाका बिरामीलाई यस्तो ध्यवनीले धेरै सक्रिय बनाउँछ। ’
मिसोफोनियाको लक्षण
यसको मुख्य लक्षण आवाजप्रतिको सहनशीलता कम हुनु र त्यससम्बनधी नकारात्मक प्रतिक्रिया आउनु हो ।
अर्को व्यक्तिले खाना खाइरहेको आवाज, सास फर्ने र चपाउने आवाजले तुरुन्तै मिसोफोनियाबाट पीडित व्यक्तिमा ट्रिगर गर्ने लक्षण यसमा देखिन्छ । यस्ता साना–साना आवाज मिसोफोनिया रोगीका लागि असहनीय हुन्छन् र उनीहरू तुरुन्तै त्यो ठाउँबाट टाढा जान चाहन्छन्।
कुनै आवाजबाट ‘ट्रिगर’ भएको अवस्थामा उनीहरूले आफ्नो कान बन्द गर्छन् । यस्ता आवाजका कारण मिसोफोनिया भएका व्यक्तिमा रिस र क्रोध आउँछ ।
अदिल अहमद बीबीसिसँग भन्छन्, ‘कसैले चपाएको आवाज होस् वा सास फेरेको आवाज होस्, म सहन सक्दिनँ। मलाई रिस उठ्छ म त्यहाँबाट भाग्न चाहन्छ ।’ उनी थप्छन्, ‘जब कसैले हाम्रो समस्या बुझ्छ, यसले हाम्रो तनाव कम गर्छ।’
के मिसोफोनियालाई ठिक पार्न सकिन्छ ?
अनुसन्धानकर्ताले अहिलेसम्म यसरी मस्तिष्कलाई ट्रिगर गर्ने आवाजलाई रोक्न कुनै वैज्ञानिक समाधान निकालेका छैनन् ।
यद्यपि शोधकर्ताहरूले मनोवैज्ञानिक उपचार संज्ञानात्मक व्यवहार थेरापी (सिबीटी) मार्फत मिसोफोनिया निको पार्ने प्रयास गरेका छन् । जसमा अनुसन्धान गरिएका ९० जना बिरामीमीमध्ये ४२ प्रतिशततको लक्षणमा सुधार देखिएको थियो ।
प्रतिक्रिया