नल संवत्सर सुरु

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि नल नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ५०औँ संवत्सर हो । शुक्रबारसम्म ४९औँ राक्षस नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदामा ४८औँ आनन्द संवत्सर नभेटेकाले शुक्रबारसम्म ४९औँ राक्षस संवत्ससरको उच्चारण गरिएको थियो ।
चैत्र शुक्ल प्रतिपदाका दिन जुन संवत्सरले भेट्यो त्यही नाम वर्षभर उल्लेख गरिन्छ ।
यो वर्ष नल नाम गरेको संवत्सर रहेकाले मध्य वृष्टि भई अन्न उत्पादन पनि मध्यम नै हुनेछ । राज्यको नीतिका कारण चोर डाँकुहरू केही हदसम्म भयभीत हुने सूर्य पञ्चाङ्गले संवत्सर फलमा उल्लेख गरेको छ । धार्मिक कर्ममा सङ्कल्प गर्दा आजैदेखि नल नामको संवत्सरको उच्चारण गरिन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँसीसम्म जारी रहन्छ ।
ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टि गरी सत्य युगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासको आधारमा चैत्रशुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर सुरु हुन्छ ।
विक्रमादित्यका नामबाट चलेको विक्रम सम्वत्मा सौरमासका आधारमा वैशाख महिनादेखि वर्ष सुरु हुन्छ । आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीन कालदेखि सुरु गरिएको हो । कोरोना जस्ता रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा सुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ ।
सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गरेका छन् । यस बेला न चिसो न जाडोको अवस्था हुने भएकाले प्राकृतिक रुपमा पनि वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।
प्रतिक्रिया