देउवाले सीमा विवादको विषय उठाए, मोदी बोलेनन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छलफलमा सीमा विवाद समाधानको पहल गर्न आग्रह गरेका छन् । तर, भारतले ठोस जवाफ दिएन ।
द्विपक्षीय छलफलपछिको संयुक्त पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्री देउवाले सीमा समस्या हल गर्न आग्रह गरेको बताए । त्यहाँ पनि भारतीय प्रधानमन्त्री मोदी सीमा समस्याबारे केही नबोलेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीका रूपमा देउवा पहिलो औपचारिक भारत भ्रमणमा छन् । उनले भारतीय समकक्षी मोदीसँग शनिबार हैदराबाद हाउसमा भेटवार्ता गरेका थिए । विद्यमान द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत वार्ता र संवादबाट सीमा समस्या समाधान हुनुपर्नेमा जोड दिएको बताएका छन् ।
‘हामीले सीमाका विषयमा कुराकानी गरेका छौँ । कूटनीतिक छलफल र संवादबाट समस्या समाधान गर्न अनुरोध गरेँ,’ संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाको भनाइ थियो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि सीमा समस्या समाधान छलफल भएको उल्लेख छ । शनिबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई प्रधानमन्त्रीहरूले सीमाका विषयमा कुराकानी गर्नुभएको छ । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई स्थापित द्विपक्षीय संयन्त्रहरूबाट सीमाका विषय समाधान गर्न आग्रह गर्नुभएको छ ।’
नेपालले जारी गरेको १७ बुँदे विज्ञप्तिको १०औँ बुँदामा सीमा समस्याबारे छलफल भएको उल्लेख छ ।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले द्विपक्षीय संवादमा जोड दिए । तर, सीमाबारे केही बोलेनन्, कालापानी, लिपुलेक र लिम्पियाधुराको त नाम समेत उच्चारण गरेनन् । भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जारी गरेको १३ बुँदे विज्ञप्तिमा पनि सीमा समस्याबारे छलफल भएको उल्लेख छैन ।
मोदीले भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग नहोस् भन्नेतर्फ आफूहरू सचेत रहेको तथा त्यस सम्बन्धमा आफूहरूले छलफल गरेको बताए । भारतले नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीतिको मुख्य स्तम्भ भएको बताएको छ । तर, संवेदनशील सीमा मुद्दाको विवाद निरुपणलाई लिएर भारतीय प्रधानमन्त्री मोदीले मौन बसे ।
प्रतिक्रिया