बालबालिकालाई आर्थिक अनुशासन सिकाउने सुत्रहरु

काठमाडाैं । एउटा भनाइ छ, “धनी सधैँ धनी बन्छ, गरिब सधैँ गरिब।” किन यस्तो हुन्छ भनेर कहिल्यै सोच्नुभयो ?
मुख्य कारण हो, वित्तीय सोच र व्यवहार। धनीले खर्चमा अनुशासन अपनाउँछ, आवश्यकतालाई प्राथमिकता दिन्छ र बचतलाई बानी बनाउँछ। तर गरिबले भने जे कमायो, त्यो खर्च गर्नमै तल्लिन हुन्छ। यही कारणले कम आम्दानी भएका व्यक्तिहरू सधैं आर्थिक समस्यामा पर्ने गर्छन्।
त्यसैले, बाल्यकालदेखि नै बालबालिकालाई वित्तीय साक्षरतामा तयार पार्नु अब अभिभावकहरूको मुख्य चुनौती बन्न पुगेको छ। अभिभावकको चाहना हुन्छ बच्चा राम्रो पढोस्, जीवनमा सफल होस्। त्यसको आधार राम्रो स्कूल मात्र होइन, वित्तीय सोच पनि हो।
बालबालिकालाई बचतको सिप दिनु भनेको भविष्यमा आर्थिक रूपमा सक्षम नागरिक तयार पार्नु हो। उनीहरूलाई फजुल खर्च नगर्ने, आवश्यक र विलासी वस्तु छुट्याउने, स्मार्ट बजेटिङ गर्ने जस्ता व्यवहार सानो उमेरमै सिकाउनु पर्छ, किनभने बानी संस्कार बन्छ।
अहिले धेरै अभिभावकहरूले आफ्ना लागि मात्र होइन, बच्चाका लागि पनि बचत गर्ने गरेका छन्। तर त्यो भन्दा बच्चालाई नै बचत गर्न उत्प्रेरित गर्नु अझ प्रभावकारी हुन्छ। चाडपर्व वा उपहारमा पाएको पैसा खुत्रुकेमा राख्न लगाउने, त्यसलाई बैंकमा जम्मा गराउने बानी विकास गर्दा उनीहरूमा आर्थिक अनुशासनको विकास हुन्छ।
बैंक तथा वित्तीय संस्थाहरूले बालबालिकाको लागि विभिन्न आकर्षक योजनाहरू ल्याएका छन्। यस्तो योजनाबाट बचत गर्दा नाफासँगै बच्चाले वित्तीय ज्ञान पनि आर्जन गर्छन्।
केही प्रमुख बैंकका बालबालिका लक्षित योजना हेरौं,
मुक्तिनाथ विकास बैंकले “भोलिको निम्ती, आजै सोचौं“ भन्ने नारासहित सुनौलो बाल बचत खाता सञ्चालनमा ल्याएको छ। अभिभावकले आफ्ना बच्चाको नाममा खाता खोलेर बालिग नहुँदासम्म नियमित रूपमा बचत गर्न सक्छन्।
सानिमा बैंकको सानिमा मुनासेभिङ खाता नाम दिइएको योजनाले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गरेको छ। ‘आजको बचत, भोलिको सुनिश्चित भविष्य’ भन्ने नारासँगै, बैंकले यस खातामा ३।०३ प्रतिशत ब्याज दिने व्यवस्था गरेको छ।
ग्लोबल आइएमई बैंकको ग्लोबल बालबालिका बचत योजनाले बालबालिकामा बचत गर्ने बानी बसाल्ने उद्देश्य राखेको छ। यस खातामा ३ प्रतिशत वार्षिक ब्याज प्रदान गरिन्छ र बालबालिकालाई विशेष छुटहरूको पनि सुविधा छ।
गरिमा विकास बैंकले दुईवटा योजना सञ्चालन गरेको छ, बाल बचत खाता र सुनौलो भविष्य बाल निक्षेप योजना। यी योजनामार्फत न्यूनतम १०० रुपैयाँमा खाता खोली सहज रूपमा बचत गर्न सकिन्छ।
प्रभु बैंकको खुत्रुके बचत खाता नाम दिइएको योजनामा बालबालिकालाई लक्षित गरिएको छ। न्यूनतम १,००० रुपैयाँमा यो खाता अनलाइनबाटै खोल्न सकिन्छ।
एनआईएमबी बैंकले केटाकेटी बचत खाता सञ्चालनमा ल्याएको छ, जसले बच्चाहरूलाई सानैदेखि पैसाको महत्व बुझ्न र भविष्यको लागि योजना बनाउन उत्प्रेरित गर्छ।
यस्तैगरी, एभरेष्ट बैंक, नबिल बैंकलगायत धेरै बैंकहरूले पनि बालबालिकालाई लक्षित गर्दै आकर्षक बचत योजनाहरू सञ्चालन गरेका छन्।
वित्तीय साक्षरता भनेको अब किताबको कुरा मात्र होइन, जीवन चलाउने सीप हो। बालबालिकालाई पैसा कमाउन भन्दा पनि त्यसलाई जिम्मेवारपूर्वक प्रयोग गर्न सिकाउनु साँचो अर्थमा अभिभावकको सफलता पनि हो ।
नेपालवाचको टेलिभिजन कार्यक्रम कुरा पैसाको नयाँ अंकमा यस पटक बालबालिकामा वित्तीय शिक्षाको आवश्यकता, बालबचतको महत्वलगायत बालबालिकाको वित्तीय साक्षरताका समग्र विषयमा छलफल गरिएको छ ।
प्रस्तोता एंव नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दहालले वित्तीय साक्षरता प्रशिक्षक प्रदीप भट्टराईसँग गरेको छलफलको पुरा भाग तलको भिडियोमा हेर्नसक्नुहुनेछ :
प्रतिक्रिया