ट्रयाक खुलेको २७ वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र

म्याग्दी । ट्रयाक खुलेको २७ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए।
एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए। विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो।
सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ। यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए। चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ। संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७/७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो।
ताजा अपडेट
-
रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
-
सुख्खा पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडकमा साना सवारीसाधन सुचारु
-
आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो
प्रतिक्रिया