खाजा र औषधिबिनै चुनावमा सुरक्षाकर्मी

काठमाडौं । देशभर एकसाथ हुन लागेको स्थानीय तह निर्वाचनमा सैनिक, प्रहरी, सशस्त्र र म्यादी गरी पौने ३ लाख सुरक्षाकर्मी खटिँदै छन् । तर, अर्थले बजेट निकासा नदिएकाले आर्थिक अभावबीच नै सुरक्षाकर्मीलाई गन्तव्यमा पठाउनुपर्ने अवस्था आएको गुनासो सुरक्षा अधिकारीहरूको छ, स्वयं गृहमन्त्री बालकृष्ण खाँणले ताकेता गर्दा पनि बजेट निकासा नभएको गुनासो औपचारिक बैठकमै गरेका छन् ।
निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी र सशस्त्रका करिब १ लाख ७० हजार र म्यादी १ लाख सुरक्षाकर्मी तयारी अवस्थामा छन् । केही ठाउँमा त परिचालन भइसकेका छन् । तर उनीहरूका लागि स्थानीय भत्ता, खाजा खर्च, बिमा खर्च, औषधि खरिद, सञ्चार महसुल, कर्मचारी तालिम खर्च, कार्यालयका लागि घर भाडा, सवारीसाधन खरिद, फर्निचरलगायतका शीर्षकमा अर्थले बजेट दिएको छैन । यसभन्दा अघिका निर्वाचनमा यस्ता सबै शीर्षकमा बजेट निकासा हुँदै आएको थियो ।
अर्थबाट बजेट नआएपछि प्रहरी प्रधान कार्यालयले खाजा र विशेष भत्ताबिनै करिब ६५ हजार सुरक्षाकर्मीलाई निर्वाचनमा परिचालन गर्दै छ । यसअघिका निर्वाचनमा केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा खटिने सुरक्षाकर्मीको संख्या निश्चित गरेपछि विगतका निर्वाचनमा उनीहरूले दैनिक खाजा र विशेष भत्ता, औषधि उपचार खर्चलगायतका सुविधा पाउँथे । सुरक्षाकर्मीका लागि एक साताको खाजा खर्च दैनिक २ सय ५० रुपैयाँ र सोही अंकमा विशेष भत्ताबापत रकम व्यवस्था हुन्थ्यो । अर्थबाट निकासा हुने बजेट गृहबाट संगठन हुँदै सुरक्षाकर्मीको व्यक्तिगत खातामा पैसा जान्थ्यो ।
यसपालिका निर्वाचनका लागि प्रहरीले सवारी खरिद, सञ्चार उपकरण, विशेष भत्ता, घर भाडा, बिजुली, पानी, खाजा खर्चलगायतमा ९ अर्ब २९ करोडभन्दा बढी बजेट मागेको १ अर्ब ३२ करोड मात्र निकासा भएको छ । तर अर्थले सवारी खरिद, खाजा खर्च, विशेष भत्तालगायत शीर्षकको बजेट कटौती गरेर मागको करिब १४ प्रतिशत मात्रै रकम निकासा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुरक्षाकर्मीका लागि चुनावमा खाजा र भत्ताको रकम आइनसकेको बताए । ‘यो विषयमा पहल भएको हो तर रकम आइसकेको छैन,’ उनले भने ।
निर्वाचन सुरक्षाकै लागि सशस्त्र प्रहरीले ३२ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने गरी अर्थसँग ३ अर्ब ५८ करोड रुपैयाँ बजेट मागेको थियो । तर, ४४ करोड ५५ लाख रुपैयाँ मात्रै निकासा भएको छ । यो रकम मागेको बजेटमा करिब साढे १२ प्रतिशत मात्रै हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया