NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते

गगन थापाको ‘भाइबहिनी अभियान’मा के छ ?

काठमाडौं । कांग्रेस युवा नेता गगन थापाले कोरोना भाइरस (कोभिड–१९)बाट विद्यार्थीहरुको पढाई प्रभावित भएपछि सहयोगका लागि ‘भाइबहिनी अभियान’ ल्याएका छन् । सोमबार भाइटिकाको दिनबाट थापाले यो अभियानको सुरुवात गरेका हुन् । सामाजिक संजाल र फेसबुक र ट्वीटरमार्फत थापाले आफ्नो दोस्रो अभियान कोरोनाबाट प्रभावित रहेका भाईबहिनीहरुलाई सिकाइमा मद्दत गर्नु रहेको जानकारी गराएका छन् । ‘हामीले संविधानमा शिक्षा मौलिक हक हो भनेर लेखेका छौं अर्थात् नेपालका हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्नु उनीहरुको हक हो भनेका छौं । यसलाई उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो । राज्यले संविधानमा लेखेको यो जिम्मेवारी निर्वाह गर्न सक्ने बनाउनका निम्ति सांसदको रुपमा गर्ने कामहरु छँदैछ’ थापाले भनेका छन्, ‘तर, यतिले मात्र पुग्दैन । नीतिनियम बनाएर, स्रोत साधन विनियोजन गरेर अपेक्षित परिणामका लागि प्रयत्न गर्ने एउटा कुरा भयो । तर यो बीचमा प्रत्येकले आफ्नो ठाउँबाट सानो सानो काम गरेर भए पनि संविधानमा लेखिएको यो कुरालाई प्राप्त गर्न सक्ने दिशातर्फ काम गर्ने हो भने यसलाई मद्धत पुर्याउँछ भन्ने हो ।’ यस अघि पनि आफूले यस्तो कार्यक्रम गरेको भन्दै थापाले कोरोनाबाट प्रभावितहरुको शिक्षामा थोरै भए पनि सहयोग पुगोस् भनेर अभियान सुरु गरेको जानकारी दिएका छन् । ‘केही वर्ष अघि भाई बहिनी अभियान सुरु गरेको थिएँ । भाइटिकाको दिन यो अभियानको पुनः प्रारम्भ गरेको छु । कोरोना महामारीबाट हामी प्रभावित भएका छौं । विद्यालय पनि प्रभावित छ । विद्यालय बन्द छ । वैकल्पिक माध्यबाट सिक्ने र सिकाउने प्रयास भएको छ तर जति भने पनि पर्याप्त भएका छैनन्’ थापा भन्छन्, ‘काठमाडौं–४ जुन मेरो निर्वाचन क्षेत्र हो । यो क्षेत्रका मतदाताका छोराछोरी जो घरमैं छन् । पढिरहेका छन् । तर अहिले घरमैं बसिरहेका छन् । उनीहरुको पढाईमा केही मद्दत होस् भनेर यो अभियान सुरु गरेको हुँ । अलि पछाडि यो अभियानलाई फराकिलो बनाउने छु ।’ सामाजिक संजाल र अरु माध्यमबाट शैक्षिक सामग्री उपलब्ध गराउने, पठनपाठनमा अप्ठ्यारो भएकालाई सहयोग गर्ने, विद्यालयको पढाई, सिकाईलाई मद्दत पुग्ने गरी शिक्षक र अभिभावकलाई जोडेर काम गर्ने थापाले बताएका छन् । आफ्नो अभियानबाट पढिरहेका अरु विद्यार्थीहरु पनि लाभान्वित हुने थापाको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष