NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कांग्रेस नेताले गराएको विभत्स हत्यामा बयान फेर्न करोडौंको अफर

रौतहट फरहदवा (हाल राजपुर– २) स्थित सेख इद्रिसको गोठमा २७ चैत ०६४ को साँझ बम बनाइँदै थियो । भोलिपल्ट अर्थात् २८ चैतका दिन मुलुकभर संविधानसभाको चुनाव थियो । मतदान केन्द्रवरपर विस्फोट गराएर मतदाता भगाउने र बुथ कब्जा गर्ने योजनाअनुसार बनिरहेको बम दुर्घटनावश अघिल्लो साँझ गोठमै विस्फोट भयो ।  बमका योजनाकार थिए कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलम र उनका भाइ महताब । उनीहरूले बम बनाउन भारतको बिहारबाट कलिगढ झिकाएका थिए । कालिगढलाई साथ दिन बोलाइएका थिए स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर । भारतमा साइन्स पढिरहेका पिन्टु र दुबईमा काम गर्ने ओसी केही समयअघि मात्र गाउँ फर्किएका थिए ।  तर, दुर्घटनावश अघिल्लो साँझ नै बम विस्फोट हुँदा गोठको छानो नै क्षतविक्षत भयो, बम बनाउने कलिगढ ठाउँको–ठाउँ ढले । नजिकै रहेका पिन्टु र ओसीलाई पनि बमको छर्राले लाग्यो । उनीहरू उपचार र उद्धारको पर्खाइमा थिए । तर, उपचार गर्दा घटना सार्वजनिक हुन्छ भन्ने डरले अफ्ताब र महताबले झन् डरलाग्दो योजना बनाए । अफ्ताबका सोहयोगीले बेहोस हुने इन्जेक्सन दिएपछि पिन्टु र ओसीलाई ट्र्याक्टरमा हालेर राति नै इँटाभट्टामा लगियो । अन्य मृतकसहित दुवै युवालाई पनि जिउँदै भट्टामा हालिएको प्रत्यक्षदर्शी तथा पीडित परिवारका सदस्यहरूले मौखिक तथा लिखित रूपमा उजुरी दिएका थिए । ‘त्यति मात्र होइन, युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूको उजुरीमै उल्लेख छ ।  मोहम्मद अफ्ताब आलम तर, आफ्ना सहयोगी युवाहरूलाई जिउँदै भट्टामा हालेर खरानी बनाएपछि पनि १३ वर्षसम्म कानुनको पहुँचबाट जोगिँदै आएका मोहम्मद अफ्ताब आलम गत वर्ष मात्र पक्राउ परेका थिए । १३ वर्षको कानुनी लडाइँमा त्रिलोकका बाबु श्रीनारायण, ओसीको आमा रोक्सना खातुन र ओसीका ससुरा समसुल मियाँले गाउँ राजपुर, जिल्ला सदमुकाम गौर, तत्कालीन क्षेत्रीय सदरमुकाम हेटौँडा र सर्वोच्च अदालत काठमाडौंसम्म दर्जनौँपटक यात्रा गरेका छन् । यसबीचमा श्रीनारायण र समसुल मियाँले दर्जनौँ धम्की पाएका छन् । रोक्सनालाई त गोली हानेर हत्या गरिएको छ ।  १३ वर्षको लडाइँ औपचारिक रूपमा न्यायिक प्रक्रियामा प्रवेश गरेको एक वर्ष भएको छ । र, रौतहट जिल्ला अदालतमा मुद्दाको औपचारिक बहस १८ मंसिरबाट सुरु भएको छ । तर, १३ वर्षसम्म न्यायको संघर्षमा रहेको ओसी अख्तरको परिवारले भने ऐनबखतमा बयान बदलेको छ । न्यायका लागि प्रहरी, समाज र सरकारलाई गुहार्दै आएकी अमना खातुनले नै बयान बदलेकी छिन् । ‘मेरा श्रीमान् ओसी अख्तर अहिले सम्पर्कमा छैनन्, तर बमकाण्डमा उनको मृत्यु भएको होइन । खासमा बमकाण्ड नै भएको होइन,’ उनले अदालतमा भनेकी छिन् । छोरीको बयानलाई बाबु समसुल मियाँले पनि सदर गरेका छन् । जब कि ज्वाइँ ओसीसहित घाइतेलाई बोरामा हालेर इँटाभट्टामा हालिएको आफूले प्रत्यक्ष देखेको भन्दै उनले विभिन्न अड्डा–अदालतमा न्यायका लागि गुहार गरेका थिए ।  तर, समसुलले अदालतमा भनेका छन्, ‘ओसी मेरा ज्वाइँ हुन् । विस्फोट भएको समय उनी सर्लाहीको लालबन्दीतिरथिए । किनमेलका लागि जाँदा मैले उनलाई उतै देखेको थिएँ ।’ बाबु–छोरी दुवैले यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले जबरजस्ती कागज गर्न लगाएको र त्यो कागजमा के लेखिएको छ भन्ने आपूmलाई थाहा नभएको बताएका छन् । ओसी अख्तरको मृत्यु भएको भन्ने अहिलेसम्म आपूmलाई जानकारी नभएको पनि उनीहरूको भनाइ छ । सरकारी कार्यालयमा रहेको अभिलेख र स्थानीय पञ्जिकाधिकारीले जारी गरेको अभिलेखअनुसार ओसीको मृत्यु २७ चैत ०६४ मा नै भएको हो । आफ्ना श्रीमान्को मृत्यु भएको भन्दै अमनाले दिएको सूचनाअनुसार स्थानीय यमुना गाउँपालिका–४ ले ओसीको मृत्युदर्ता प्रमाणपत्र जारी गरेको हो । प्रमाणपत्रमा ओसीको मृत्यु फरहदवामा नै भएको उल्लेख छ । तर, अमनाले अहिले अदालतमा बयान दिँदै श्रीमान्को मृत्युदर्ताको प्रमाणपत्र आपूmले नबनाएको दाबी गरेकी छिन् । मृत्युदर्ताको प्रमाणपत्र सासूले बनाएकोले त्यस विषयमा आपूmलाई जानकारी नभएको उनको भनाइ छ । तर, मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको सूचना दिने व्यक्तिमा अमनाकै नाम छ । त्यति मात्र होइन, यो प्रमाणपत्र १६ पुस ०७४ मा मात्र जारी भएको छ । जब कि उनकी सासूको हत्या १० माघ ०६७ मा नै भइसकेको थियो ।  ओसीको मृत्युदर्ताको प्रमाणपत्र लिन अमनालाई उनकै बुबा समसुलले सघाएका थिए । पञ्जिकाधिकारी कार्यालयमा छोरीलाई लिएर समसुल आफैँ गएका थिए । तर, अमना र उनका बुबा समसुलले अहिले ओसीको मृत्यु नभएको जिकिर गर्दै अदालतमा बयान दिएका छन् । जब कि छोराका लागि न्यायको लडाइँ लड्दै आएकी आमा रोक्सनाको पनि हत्या भएको छ ।  ‘अमना र समसुलले प्रहरी, सरकारी वलिक कार्यालय र मिडियामा पहिले जुन बयान दिएका थिए, त्यसको ठीकविपरीत अदालतमा बयान दिएका छन् । बाबु–छोरीले ओसी अहिले पनि वैदेशिक रोजगारीमा रहेको बयान दिएका छन्,’ पीडित परिवारका तर्फबाट मुद्दा लड्दै आएका अधिवक्ता पुष्पराज पौडेलले नयाँ पत्रिकासँग भने, ‘संवेदनशील घडीमा आएर उनीहरूले किन बयान फेरे ? रहस्यको विषय छ ।’  यस्तो जघन्य अपराधपछि सांसद बनेका मोहम्मद अफ्ताब आलम ०६७ मा मन्त्री नै भएका थिए । उनी ०७४ को निर्वाचनमा पनि फेरि निर्वाचित भएका थिए । अहिले फौजदारी अभियोग लागेपछि मात्र उनी निलम्बित भएका छन् ।  आलम नख्खु जेलमा रहे पनि पैसा र प्रभावको भरमा उनको आतंक जिल्लामा अहिले पनि उस्तै छ । आतंक र प्रलोभनकै भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए ।  ‘अहिले पनि प्रलोभन र आतंकका भरमा उनले पीडित परिवारलाई बयान फेर्न लगाएको स्पष्ट छ,’ प्रहरी स्रोतको भनाइ छ । उता समसुलले छोरी अमनालाई केही महिनादेखि आफ्नै घरमै राख्दै आएका छन् । बाहिरका कसैसँग पनि भेट गर्न दिएका छैनन् । उनीहरूले आफ्नै पक्षमा मुद्दा लड्दै आएका अधिवक्ताहरूलाई पनि असहयोग गर्न थालेका छन् ।  उता ओसीसँगै मारिएका त्रिलोकको परिवार भने आफ्नो छोराको हत्या भएको बयानमा अडिग छ । त्रिलोककै घरमा पुगेको नयाँ पत्रिका टिमसँग ८० वर्षीया आमा कमलाले भनिन्, ‘हामीलाई पनि अनेक लोभ लिएर आए । मुद्दा कमजोर बनाउन हामीलाई एक करोड रुपैयाँसम्मको प्रलोभन दिए, तर हामी डगमगाएनौँ । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।