NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

जसपा र लोसपाले गुमाए अघिल्लो पटक जितेका स्थानीय तह

‘मधेसका शक्ति’ भनिएका जसपा (तत्कालीन संघीय समाजवादी फोरम) र लोसपा (तत्कालीन राष्ट्रिय पार्टी नेपाल) ले ०७४ मा जितेका स्थानीय तहको नेतृत्व पनि यसपटक गुमाइरहेका छन् । मंगलबार मध्यरातिसम्म नतिजा आएका मधेसका २० स्थानीय तहमध्ये जसपाले तीन स्थानमा मात्रै जित हात पारेको छ । लोसपाले त अहिलेसम्म खातासमेत खोल्न सकेको छैन । बाँकी १७ स्थानीय तहमध्ये कांग्रेसले आठ, एमालेले ६ र माओवादीले तीन स्थानमा प्रमुख जितेको छ ।

०७४ मा संघीय समाजवादी फोरमले जितेका सप्तरीको तिरहुत गाउँपालिका र धनुषाको लक्ष्मीनियाँ गाउँपालिका यसपटक कांग्रेसले लगेको छ । त्यस्तै, यसअघि राष्ट्रिय जनता पार्टीको नेतृत्व रहेका सर्लाहीका कौडेना गाउँपालिका र ब्रह्मपुरी गाउँपालिका पनि कांग्रेसले जितेको छ ।

त्यस्तै, एमालेले जितेका ६ मध्ये तीन स्थानीय तहमा पनि अघिल्लोपटक मधेसी दलहरूको नेतृत्व थियो । ०७४ मा संघीय समाजवादी फोरमले जितेका सिराहाका भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा राष्ट्रिय जनता पार्टीले जितेको बाराको परवानीपुर गाउँपालिकामा यसपटक एमालेले झन्डा गाडेको छ । ०७४ मा राष्ट्रिय जनता पार्टीले जितेको सर्लाहीको बलरा नगरपालिका यसपटक माओवादीको पोल्टामा गएको छ ।

यसबाहेक कांग्रेसले सप्तरीको सप्तकोसी नगरपालिका र अग्निसाइर कृष्णसवरन गाउँपालिका, धनुषाको धनौजी गाउँपालिका तथा सर्लाहीका हरिपुर नगरपालिका र धनकौल गाउँपालिका पनि जितेको छ । तीमध्ये दुईवटा ०७४ को निर्वाचनमा एमालेले जितेको थियो ।

०७४ मा कांग्रेसले जितेका धनुषाको औरही गाउँपालिका र सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका तथा माओवादीले जितेको धनुषाका विदेह नगरपालिकामा पनि यसपटक एमालेले जित निकालेको छ । त्यस्तै, ०७४ मा कांग्रेसले नेतृत्व गरेका सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको दुर्गाभगवती गाउँपालिकामा यसपटक माओवादीले जितेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।