लोकसेवाका यी प्रश्नको उत्तर कसरी दिने ? यस्तो छ सहसचिव दाहालको टिप्स

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव प्रकाश दाहालले लोकसेवाका ६ प्रश्नको उत्तर लेख्ने विधिबारे सुझाव पेस गर्नुभएको छ ।
१. प्रदेश र स्थानीय तहको राजस्व क्षेत्र चर्चा गर्नुहोस् ?
प्रदेश र स्थानीय तहको राजस्वको क्षेत्र लेख्दा संविधानको धारा ५९ र ६० तथा अनुसूचीमा रहेका प्रदेश र स्थानीय तहका अधिकारका सूचीहरूका आधारमा लेख्नु पर्छ । धारा ५९ मा आर्थिक अधिकारको प्रयोगका सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकारको क्षेत्रका विषयमा कानून बनाउन सक्ने र धारा ६० ले तिनीहरूका आर्थिक अधिकारका क्षेत्रभित्रका विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने व्यवस्था गरेका छन् । संविधानको अनुसूची ६ को खण्ड (४) मा प्रदेशको र अनुसूची ८ को खण्ड (४) मा स्थानीय तहको राजस्वका क्षेत्रहरू तोकिएको छ । अनुसूची ९ को खण्ड (६) मा संघ, प्रदेश र स्थानीय तहको राजस्वका साझा क्षेत्रहरू समेत तोकिएका छन् ।
२. स्थानीय तहको अनुदान भनेको के हो ? यसमा कस्ता–कस्ता अनुदान पर्छन ?
स्थानीय तहको अनुदान भनेको संघले वा प्रदेशले स्थानीय तहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेको मापदण्ड र सूत्रका आधारमा हस्तान्तरण गर्ने अनुदानलाई बुझिन्छ । यस्ता अनुदानहरूमा समानीकरण अनुदान, सःशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् ।
३. मौद्रिक नीति भनेको के हो ? यसले देशको अर्थतन्त्र कसरी सन्तुलित राख्न मदत गर्छ ?
मौद्रिक नीति भनेको बजारमा मुद्रा प्रवाहलाई सन्तुलित र नियन्त्रित तुल्याइ वित्तीय स्थायित्व, आर्थिक वृद्धि र सामाजिक न्याय कायम गर्न सरकारको मौद्रिक अधिकारी वा केन्द्रीय बैंकले जारी गर्ने नीति हो । यसले मुलतः बजारमा साख नियन्त्रण मुद्राको माग र आपूर्तिबीच सन्तुलन कायम गरी मुद्रा स्फीति, व्याजदर र विनिमयदरलाई स्थिर तुल्याएर अर्थतन्त्रलाई सन्तुलित र अनुशासित राख्न मद्दत गर्छ ।
४. वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोगबीच के फरक छ ?
वैदेशिक सहायता भनेको विकासशील मुलुकको आर्थिक, सामाजिक विकासका लागि सामान्यतया विकसित मुलुकहरूले द्विपक्षीय वा बहुपक्षीय दातृ निकायमार्फत अनुदान, ऋण वा प्राविधिक सहायताका रूपमा उपलब्ध गराउने वित्तीय, वस्तु वा सामग्री एवं प्रविधिको समष्टि हो । अन्तर्राष्टिय सहयोग भनेको दुई वा दुईभन्दा बढी मुलुकहरू साझा उद्देश्य प्राप्तिका लागि सँगसँगै मिलेर काम गर्ने प्रणाली हो । यसभित्र मुलुकहरूबीचको आर्थिक, राजनीतिक, वातावरणीय, सांस्कृतिक, भौगोलिक, रणनीतिक, व्यापारिकलगायतको कारणले हुने सबैखाले सहकार्य र साझेदारीका स्वरूपहरू पर्दछन् । त्यसैले अन्तर्राष्टिय सहयोग बृहत् हो भने वैदेशिक सहायता त्यसैको एउटा पक्ष हो । वैदेशिक सहायतालाई अन्तर्राष्टिय सहयोग भन्न सकिन्छ तर अन्तर्राट्रिय सहयोग वैदेशिक सहायता मात्र चाहिँ होइन ।
५.स्थानीय सेवा भनेको निजामती सेवा हो वा होइन ?
नेपालको संविधानले गरेको व्यवस्थाका आधारमा स्थानीय सेवा भनेको निजामती सेवा होइन । यो गाउँकार्यपालिका र नगरकार्यपालिकाले आ–आफ्नो प्रशासन सञ्चालन गर्न कानूनबमोजिम गठन गर्ने एक सरकारी सेवा हो ।
६. गरिबी भनेको के हो ? यो कति प्रकारको हुन्छ । नेपालमा गरिबी घट्न नसक्नुका कारणहरू के–के हुन । के गर्दा नेपालमा गरिबी निवारण हुुन सक्छ ?
गरिबी भनेको व्यक्तिको न्यूनतम जीवन निर्वाह गर्न आवश्यक पर्ने आम्दानीको अभावमा पछाडि परेको अवस्था हो । नेपालमा गरिबीलाई आम्दानीका अधारमा प्रतिदिन प्रति व्यक्ति न्यूनतम १.२५ अमेरिकी डलरभन्दा कम आय भएको अवस्था वा उपभोगका आधारमा प्रतिदिन प्रतिव्यक्ति २२२० क्यालोरी उपभोग गर्न सक्ने गरी आय आर्जन नभएको अवस्थाका रूपमा परिभाषित गर्ने गरिएको छ ।
आय गरिबी, सामाजिक वञ्चितीकरण तथा वहिष्करणका कारण हुने गरीवी र मानवीय गरिबी गरी तीन प्रकारको हुन्छ ।
नेपालमा गरिबी घट्न नसक्नुका प्रमुख कारण गरिबको सही पहिचान नहुनु, गरीबीका करणलाई नभई लक्षणलाई सम्बोधन गर्ने कार्यक्रम बन्नु, धेरै निकायमा छरिएर धेरै कार्यक्रमहरू सञ्चालन हुनु, कार्यक्रमहरू गरिबीको दिगो समाधान गर्ने भन्दा पनि अल्पकालीन समाधान गर्ने किसिमका हुनु, गरिबमुखी बजेट प्रणालीको अभाव हुनु, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम न्यून हुनु, कृषिको आधुनीकीकरण र बजारीकरण गर्न नसकिनु, उद्योग धन्दाको विस्तार र उत्पादन तथा उत्पादकत्व वृद्धिका प्रभावकारी कार्यक्रम नहुनु, सामाजिक सुरक्षाको दायरामा ठूलो संख्याको जनसंख्यालाई समेट्न नसक्नुजस्ता कारणहरू जिम्मेवार छन् । गरिबी कसरी घटाउन सकिन्छ भन्ने प्रश्नको उत्तरमा भने यिनै कारणलाई सम्बोधन गर्ने गरी सुझाव दिनु पर्छ ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासक र विषयविज्ञसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)
संयोजन : कञ्चन न्यौपाने
राजनैतिक तटस्थता र प्रतिवद्धताको प्रश्नमा विष्णुहरि बरालको सामाधान
अर्थिक नीति र व्यवस्थापन परीक्षणबारे सहसचिव टोकराज पाण्डेको जवाफ
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया