चिनियाँ पाहुनासामु ‘संसदीय झगडा’

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली चान्सुको सम्मानमा सभामुख अग्निप्रसाद सापकोटाले सोमबार आयोजना गरेको रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएनन् । कारण बताइयो– बेलायती महारानीको निधनमा राष्ट्रले शोक मनाइरहेको बेला हर्षोल्लास अशोभनीय हुन्छ भन्ने उनको धारणा ,
तर के यो भद्र बहिस्कारको कारण यति मात्र हो त ? ‘एउटा यो हो,’ राष्ट्रियसभा उच्च स्रोतले भन्यो, ‘तर यो मात्र पनि होइन ।’ चिनियाँ पाहुनाको भ्रमणका क्रममा सभामुखबाट राष्ट्रियसभा अध्यक्षमाथि भएको व्यवहारसमेत यसमा झल्किएको छ ।’
अध्यक्ष तिमिल्सिनाका अनुसार, समकक्षी लीको भ्रमणबारे सभामुखले राष्ट्रियसभा अध्यक्षलाई औपचारिक जानकारीसमेत गराएका थिएनन् । अन्तिम घडीमा टेलिफोनबाट अवगत गराएका थिए । त्यति मात्र होइन, सभामुखसँग संसद् भवनमा र राष्ट्रियसभा अध्यक्षका लागि होटलमा भेटघाट राखिएको थियो । ती अधिकारीका अनुसार, अध्यक्ष तिमिल्सिनाले यसबारे परराष्ट्र मन्त्रालयलाई प्रोटोकल नमिलेको र आफू होटलमा गएर नभेट्ने जानकारी गराए । ‘र, परराष्ट्रले अध्यक्ष तिमिल्सिनासँग पनि संसद् भवनमै मंगलबार बिहान ९ः१५ मा लीसँग भेटघाट गनेृ प्रबन्ध मिलाएको हो,’ उनले भने ।
दुई सभामुखबीच सोमबार भएको समझदारीपत्रमा संघीय संसदका तर्फबाट भनिएकामा पनि अध्यक्ष तिमिल्सिनाको आपत्ति छ ।
‘समझदारीपत्रबारे अध्यक्षलाई थाहा नै छैन । संघीय संसद् भनेको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको संयुक्त रूप हो,’ ती अधिकारीले भने, ‘सभामुखले गरेको सम्झौता कसरी संघीय संसदको हुन्छ ?’
त्यसअघि अध्यक्ष तिमिल्सिनाले बेलायती बडामहारानीको शोकमा देश भएका बेला रात्रिभोज नराखेर भोलिपल्ट राख्न सरकारमार्फत सुझाव दिएका थिए । तर सुनुवाइ भएन, अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
प्रतिक्रिया