मतगणना नसकिँदै सरकार बनाउन कसरत सुरु

काठमाडौं । आमनिर्वाचनको परिणामले सत्ता गठबन्धन भत्किएला वा निरन्तर रहला भन्ने अड्कल भइरहेका बेला प्रमुख दुई राजनीतिक दल कांग्रेस र एमालेले आगामी सत्ता समीकरणका लागि पहल थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखिको संवादहीनता तोड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेर सहकार्य गर्न सकिने सन्देश दिएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राज्य सत्ताका पद बाँडफाँट गरेर सँगै अघि बढ्न सकिने भन्दै माओवादी अध्यक्ष दाहाललाई आश्वस्त पार्न खोजिरहेका छन् ।
प्रत्यक्ष १ सय ६५ र समानुपातिक १ सय १० गरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसद हुनुपर्छ । कांग्रेस र एमाले आपसमा मिल्दाबाहेक बहुमत पुर्याउन कम्तीमा तीन दलले सहकार्य गर्नुपर्ने अवस्था बन्दै छ । अहिलेसम्मको मतगणनाका आधारमा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बहुमतनजिक पुग्ने देखिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले यही गठबन्धनलाई निरन्तरता दिने र अपुग भए अन्य दलबाट जुटाउने तयारी गरेका छन् । तर गठबन्धनबाट अपेक्षित परिणाम हासिल गर्न नसकेका दलहरू खासगरी माओवादी र एकीकृत समाजवादीले के निर्णय लिन्छन् भन्ने टुंगो छैन । दुवै दलका केही नेताले कांग्रेससँगको गठबन्धन प्रभावकारी नभएको र वाम एकता आवश्यक रहेको बताउन थालिसकेका छन् ।
एमाले अध्यक्ष ओलीले बधाई दिने बहानामा माओवादी अध्यक्ष दाहालसँग आगामी सहकार्यको कुरा निकालेका छन् । लामो समयको संवादहीनता तोड्दै ओलीले बिहीबार फोन गरेका हुन् । ओली र दाहालबीच सम्बन्ध बिग्रिएकै कारण तत्कालीन नेकपा एकतापूर्वको अवस्थामा पुगेको थियो । तत्कालीन नेकपामा सिर्जित आन्तरिक विवादले नै एमालेलाई समेत विभाजन गरेको थियो । संघ र ४ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको एमाले सत्ताबाट बाहिरिएको थियो । आमनिर्वाचनले शक्ति मठारिदिएपछि एमाले र माओवादीले सहकार्य र एकताको कुरा गर्न थालेका छन् । माओवादी महासचिव देवप्रसाद गुरुङले बिहीबार नै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ‘मिलेर वाम एकताको पहल गरौं’ भनेर प्रस्ताव राखेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि वाम एकता हुन सक्ने बताएका छन् । अहिले उनीहरूले छलफलमा ल्याएको ‘वाम एकता’ ले मूर्तरूप लियो भने सत्ता समीकरण बेग्लै बन्न सक्छ ।
माओवादी अध्यक्ष दाहालले पाँचदलीय गठबन्धनको निरन्तरता वा विकल्पबारे मुख खोलिसकेका छैनन् । २०७४ को निर्वाचनमा एमालेसँग तालमेल गर्दा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीलाई यसपालि पाँचदलीय गठबन्धन गर्दा त्यसको आधा सिट जित्न हम्मे परेको छ ।
पाँच वर्षअघि समानुपातिकमा तेस्रो स्थानमा रहेको माओवादी यसपटक जारी गणनामा चौथो स्थानमा छ । माओवादीले भने आगामी सत्ता समीकरणमा आफ्नो दललाई एक्लो निर्णायक शक्ति बनाउने लक्ष्य राखेको थियो । कांग्रेस र एमालेलाई आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादीको सिट संख्याले मात्र नपुग्ने भएको छ ।
प्रधानमन्त्री देउवा भने माओवादी अध्यक्ष दाहाललाई मनाउने प्रयासमा छन् । देउवाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहितका पद एकमुष्ट भागबन्डा गरेरै सहकार्य गर्ने आशय व्यक्त गरेका छन् । दाहालले भने अन्तिम मतपरिणाम आएपछि मात्र सरकार गठनलगायतमा छलफल गर्ने जवाफ देउवालाई दिएका छन् । गठबन्धनलाई सरकार बनाउन केही सिट अपुग हुने अड्कल गरेर प्रधानमन्त्री देउवाले साना दलहरूसँग पनि सम्पर्क बढाउन थालेका छन् । बालुवाटार स्रोतका अनुसार उनले नागरिक उन्मुक्ति पार्टीका केही नेतासँग सम्पर्क बढाएका छन् । उनले केही स्वतन्त्र सांसदलाई पनि फकाएर संख्या पुर्याउने तयारी गरेका छन् । यी पहल कामयावी नभए राप्रपालाई सरकारमा ल्याउन पहल गर्ने स्रोतले जनाएको छ ।
दाहालले आफू प्रधानमन्त्री हुने अवस्थामा मात्र देउवासँग सहजै साझेदारी गर्न सक्ने अनुमान पनि हुन थालेको छ । माओवादीका एक नेताले आफूहरूको प्राथमिकता पाँचदलीय गठबन्धन नै हुने बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्री बाँडफाँटमा सहमति नभए माओवादी सत्ता बाहिर रहन सक्छ,’ उनले भने, ‘ओली र दाहालबीच संवाद भए पनि एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन ।’ माओवादीका अर्का एक नेता भने अहिले नै वामपन्थी सरकार बनाउने कसरत नहोला भन्न नसकिने बताउँछन् । माओवादी र एकीकृत समाजवादीको एउटा समूह पहिलेदेखि नै वामपन्थी ध्रुवीकरणको प्रयत्नमा थियो ।
यसपटक प्रतिनिधिसभामा नयाँ राजनीतिक शक्तिसमेत थपिएकाले माओवादीले सीमित विकल्पका बीच गठबन्धन छाड्ने सम्भावना कम रहेको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस सभापति देउवासँगकै सहकार्य सहज हुने भएकाले दाहालले गठबन्धनको विकल्प खोज्ने विश्वास कांग्रेस नेताहरूले गरेका छैनन् । गठबन्धनकै बहुमत पुग्ने र यही गठबन्धनबाट नयाँ सरकार बन्ने उनीहरूको दाबी छ । ‘सबै पार्टीभित्र नेताहरूका व्यक्तिगत टिप्पणी हुन्छन् । कांग्रेस नेतृत्व तहले मत ट्रान्सफरका लागि हुनेसम्म बल गरेको हो । तर आममतदाता सबै हामीले भन्दैमा मान्दैनन् । सहरी क्षेत्रमा हाम्रै समानुपातिक भोट निकै घटेको छ, यसलाई माओवादी नेतृत्वले नबुझेजस्तो लाग्दैन,’ कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘यसैका आधारमा गठबन्धन भत्किन्छ भन्ने कुरा मिथ्या हुन् । त्यस्तो कुरा माओवादी नेताहरू कसैले गर्नुभएको छैन ।’
उनले धेरै फराकिलो सिट नभए पनि गठबन्धन बहुमतमा आउने दाबी गरे । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको हो भन्ने प्रश्नमा नेता महतले भने, ‘यस विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी सुरु भएको होला । कुराकानी नै नहुने भन्ने हुन्न । प्रचण्ड र माधवजी दुवैसँग कुराकानी भएको हुन सक्छ । गठबन्धन दायाँ–बायाँ हुन्न ।’ उनले अहिलेकै गठबन्धनबाट ठूलो पार्टीको हैसियतमा कांग्रेसले नै आगामी सरकारको नेतृत्व लिने पनि बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया